फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'क' को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
मेक्सिकोको ग्वाडालाजारास्थित रंगशालामा जारी यस खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दक्षिण कोरियाले दुई गोल गरेर २-१ को अग्रता लिएको हो। खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले गोल गर्न सकेनन् र पहिलो हाफ शून्य-शून्यको बराबरीमा सकियो।
तर, दोस्रो हाफमा खेलले नयाँ मोड लियो। खेलको ५९ औं मिनेटमा चेक रिपब्लिकका रक्षापङ्क्तिका खेलाडी भ्लादिमिर कुफालले प्रहार गरेको लामो थ्रो-इन सिधै कोरियाली पेनाल्टी क्षेत्रमा पुगेको थियो। कोरियाली रक्षापङ्क्तिले बल बाहिर फाल्न संघर्ष गरिरहेका बेला चेक खेलाडी लादिस्लाभ क्रेइचीले उत्कृष्ट हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए।
चेक रिपब्लिकको यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ६७ औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इन-बियोमले आफ्ना सहकर्मी ली काङ-इनको उत्कृष्ट पासलाई नियन्त्रणमा लिए। उनले विपक्षी टोलीका दुई रक्षापङ्क्तिका खेलाडी र चेक गोलरक्षकलाई छक्काउँदै प्रहार गरेको मधुरो प्रहार गोलमा परिणत भएपछि दक्षिण कोरिया खेलमा १-१ को बराबरीमा फर्कियो।
दक्षिण कोरियाका लागि दोस्रो गोल वैकल्पिक खेलाडी ओ ह्यान-ग्युले खेलको ७९ औं मिनेटमा गरेका हुन्। खेलको ७७ औं मिनेटमा चेक गणतन्त्रका टोमास सुचेकले हेडमार्फत गोल गरे पनि रेफ्रीले त्यसलाई 'अफसाइड' घोषित गरिदिएका थिए।
त्यसको लगत्तै ७९ औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इन-बियोमले डिबक्स अगाडिबाट मिलाइदिएको उत्कृष्ट पासलाई ओ ह्यान-ग्युले बायाँ खुट्टाले प्रहार गर्दै गोलमा परिणत गरे र टोलीलाई २-१ को अग्रता दिलाएका हुन्। अहिले चेक रिपब्लिक खेलमा फर्कने प्रयास गरिरहेको छ। एजेन्सी
प्रकाशित: २९ जेष्ठ २०८३ ०९:२६ शुक्रबार



-600x400.jpg)

