२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

जुम्लाका १०८ मतदान केन्द्रमा सात महिला अधिकृतसहित कर्मचारी परिचालन

जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी मतदान केन्द्रमा खटाइएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने ६ सय ५४ जना कर्मचारीमध्ये ६ सय ४८ जनालाई आइतबार मतदान केन्द्रमा खटाइएको हो।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तका अनुसार जिल्लामा रहेका १ सय १० वटा मतदान केन्द्रमध्ये १ सय ८ वटा केन्द्रमा कर्मचारी खटाइसकिएको छ। ती मतदान केन्द्रका लागि १ सय ८ जना मतदान अधिकृत, १ सय ८ जना सहायक मतदान अधिकृत, १ सय ८ जना सहयोगी तथा ३ सय २४ जना अन्य कर्मचारी खटाइएको उनले जानकारी दिए।

उनका अनुसार निर्वाचन प्रक्रियामा निष्पक्षता, समानुपातिकता र पारदर्शिता कायम गर्न कर्मचारी खटन–पटन विशेष मापदण्डका आधारमा गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रका लागि भने ६ जना कर्मचारी खटिन बाँकी रहेको छ।

यस पटक मतदान केन्द्रमा १ सय १८ जना अर्थात् १८ दशमलव २० प्रतिशत महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत पन्तका अनुसार मतदान केन्द्रमा ७ जना मतदान अधिकृत, २६ जना सहायक मतदान अधिकृत तथा कार्यालय सहयोगीसहित अन्य ८५ जना महिला कर्मचारी गरी जम्मा १ सय १८ जना महिला कर्मचारी खटिएका छन्।

लैंगिक समावेशितालाई थप मजबुत बनाउँदै जिल्लाको एउटा मतदान केन्द्र चन्दननाथ माध्यमिक विद्यालयमा रहेको केन्द्रमा यस पटक पूर्ण रूपमा महिला कर्मचारीको टोली खटाइएको छ। सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार उक्त केन्द्रमा मतदान अधिकृतका रूपमा सुर्खेत–जुम्ला उच्च अदालतकी शाखा अधिकृत शुसिला पाण्डे तथा सहयोग मतदान अधिकृतका रूपमा डिभिजन वन कार्यालयकी बिस्मिता अर्यालको नेतृत्वमा महिला कर्मचारीको टोली खटाइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय कर्मचारीलाई आफ्नै मतदान केन्द्रभन्दा टाढा खटाइएको छ। यसो गर्दा स्थानीय प्रभाव, चिनजान र सम्भावित दबाब न्यूनीकरण हुने अपेक्षा गरिएको छ। कर्मचारीलाई दुर्गम क्षेत्र र दूरी (किलोमिटर) का आधारमा सेवा सुविधा उपलब्ध गराइने जनाइएको छ, जसले खटन–पटनलाई न्यायोचित बनाउने कार्यालयको भनाइ छ।

यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार कर्मचारी खटन–पटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले १ हजार ४ सय ९९ जना कर्मचारी छनोट गरी पठाएको थियो, जसमध्ये ६ सय ५४ जना कर्मचारी निर्वाचन कार्यमा खटाइने छन्।

प्रकाशित: ३ फाल्गुन २०८२ १९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App