सुनसरीको इटहरी उपमहानगरपालिकाका नागरिकले नौ वर्षअघि बाढीले पुर्याएको क्षति बिर्सेका छैनन्। हरेक बर्खामा बुढीखोला नदी तटीय क्षेत्रका बासिन्दा त्राहिमाम हुन्छन्। त्यसमा पनि इटहरी वडा नं. ३ को सुन्दरबस्ती, वडा नं ४ को गैरीगाउँ र वडा नं १० का थुप्रै सुकुम्बासी बसोबास गर्छन्।
बाढीले इटहरीका बासिन्दा हरेक वर्ष पीडित हुँदै आएका छन्, जसमा सबैभन्दा बढी पीडित हुने सुकुम्बासी नै पर्छन्। यसरी पीडित भएका बासिन्दा स्थानीय, प्रदेश र संघीय सरकारबाट केही होला भन्ने आशामा छन्। अहिलेसम्म दीर्घकालीन योजना कसैले पनि ल्याउन नसकेको इटहरीवासी बताउँछन्। यसपटक प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार सरकार रहेकाले पनि आफूहरू आशावादी बनेको उनीहरूको सुनाउँछन्।
इटहरी क्षेत्रबाट मात्र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसद रहेकाले पनि आशा पलाएको इटहरी–४ का तिलक साहले बताए। ‘वर्तमान सरकारसँग आशा छ तर अहिलेसम्म देखिने गरी खासै कामचाहिँ भएको छैन। फेरि हाम्रो माग पनि ठुलो छैन। हाल बसिरहेकै स्थानमा बस्ने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने मात्र हो।’ साहले गरिबदुःखीका लागि करमा सहुलियत दिन पनि सरकारसँग माग गरे। इटहरी सामान्य पानी पर्दा पनि डुबानमा पर्छ। २०७४ सालमा आएको बाढीका कारण नौ जनाको मृत्यु भएको थियो। २०७८ सालमा आएको बाढीले चार जनाको मृत्यु भएको थियो। बाढीले थुप्रै बालीनाली र भौतिक पूर्वाधारमा क्षति पुर्याएको थियो।
इटहरी–५ को जनता बस्तीमा पनि सुकुम्बासी संख्या ठुलो छ। अन्य वडामा पनि अव्यवस्थित रूपमा सुकुम्बासी बसोबास गर्दै आएका छन्। काठमाडौंमा जस्तो डोजर आतंक नफैलाई सहज ढंगले आफूहरूलाई व्यवस्थित गर्नुपर्ने अर्का सुकुम्बासी ज्ञानबहादुर विष्ट बताउँछन्।
धरान उपमहानगरपालिकाका २० वटै वडामा १८ हजार हाराहारी परिवार सुकुम्बासी छन्। धरान–५ मा भूमिहीन तथा दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी सबैभन्दा धेरै छन्। त्यसपछि वडा नं. १, ४, ११, १२, १५, १६, १७ र १८ मा पनि कतै धेरै कतै थोरै यस्ता परिवार छन्। १८ वर्षअघि सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा पीडित बनेका परिवारलाई अहिलेसम्म सरकारले क्षतिपूर्ति रकम निकासा गरेको छैन। बाढीपीडितलाई ‘प्याकेज’मा एक अर्ब ६० करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सरकारले गरेको थियो। त्यसरी राहत पाउनुपर्नेहरूले अझै अझै थुप्रै रकम प्राप्त गर्न सकेका छैनन्।
२०६५ भदौ २ मा सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर तत्कालीन हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविस डुब्दा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए। सप्तकोसी बाढीपीडित सुकुम्बासीका लागि पनि हरिपुरमा २९ बिघा जग्गा खरिद गरेर केही परिवारका लागि बसोबास व्यवस्था मिलाएको थियो। सरकारले एक हजार चार सय २२ परिवार सुकुम्बासीका लागि प्रतिपरिवार २५ हजार रुपैयाँसम्मका दुई कट्ठा जग्गा खरिद गरिराख्ने निर्णय गरेको भए पनि अहिलेसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन। त्यसैले बेलाबेलामा सप्तकोसी बाढीपीडित सुकुम्बासीले आन्दोलन चर्काउने गरेका छन्। त्यस क्षेत्रका सुकुम्बासीले पनि आफूहरूलाई व्यवस्थित गर्न माग गरेका छन्। २०६५ सालमा सप्तकोसीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोेमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो।
क्षतिपूर्ति र मुआब्जाको माग राखेर २०२२ सालयता बराह क्षेत्र क्षेत्रका नागरिकले बेलाबखत आन्दोलन चर्काउँदै आएका छन्। उनीहरूले पनि अहिलेको सरकारले कोसीपीडितका निम्ति ठोस योजना ल्याउनुपर्नेमा जोड दिए। २०२२ सालयता सप्तकोसीले तत्कालीन तीन गाविसका तीन हजार नौ सय परिवार पीडित भएको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार आठ हजार ६ सय बिघा खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको छ। यो तथ्यांक पूर्वप्रशासक रामप्रसाद खतिवडाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले पनि तयार गरेको थियो।
मधेसी टाइगर्सबाट विस्थापित पनि आशावादी
२०६४ सालमा भूमिगत सशस्त्र गतिविधि गर्ने समूह मधेसी मुक्ति टाइगर्सको ज्यादतीबाट विस्थापित समूह पनि अहिलेको सरकारसँग आशावादी छ। सुनसरीको हरिपुरबाट विस्थापित भई वराह क्षेत्र–३ मा ऐलानी जग्गामा बसोबास गर्दै आएको समूह अहिलेको सरकारले पुनस्र्थापना वा केही वैकल्पिक व्यवस्था गर्नेमा आशावादी छ। विस्थापित भएकाहरूलाई केही वर्षअघि सिँचाइ आयोजनाले हटाए पनि अहिले उनीहरू त्यहीं बस्दै आएका छन्। उनीहरू कि पुरानै ठाउँमा फर्किने वा नयाँ स्थायी बसोबासको व्यवस्था गरिदिन बालेन नेतृत्वको सरकारसमक्ष माग गरेका छन्। ‘आशैआशमा जीवन जाने भयो,’ विस्थापित कुलबहादुर माझीले भने, ‘हाम्रो पक्षमा सरकारले केही गर्छ कि भन्ने आशा छ।’
२०६४ कात्तिकमा हरिहरपुरका ५८ परिवार एकै दिन घर छाडेर हिँडेका थिए। त्यतिबेला एकैपटक विस्थापित भएका अहिले बराह क्षेत्र–३ मा १२ परिवार बस्दै आए पनि अरू भने बराह क्षेत्रकै चतरा, कोही मोरङका उर्लाबारी र लक्ष्मीमार्ग र झापाका विभिन्न स्थानमा छन्। मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले स्थानीयलाई पीडा दिनुका साथै २०६४ साउन १४ गते राति टेकबहादुर कुवँरलाईं गोली हानी हत्या गरेका थिए। मधेसी टाइगर्सको निसानामा बलराम गिरी पनि परेका थिए। टेकबहादुरलाई हत्या गरेको १३ दिनपछि परिवारकै सदस्यले बलरामलाई भगाएर अन्यत्रै राखेकाले उनी बाँच्न सफल भएका थिए।
प्रकाशित: २२ असार २०८३ १२:०२ सोमबार





