वर्षौंदेखि खेती गरिरहेका किसान भन्छन् -माटोको उत्पादकत्व पहिलेजस्तो छैन, उत्पादन क्षमता निरन्तर घटिरहेको छ। माटोमा प्रांगारिक पदार्थको घट्दो प्रयोग, एकल बालीको सघन उत्पादन र बालीको आवश्यकता विचार नगरी रासायनिक मलको बढ्दो प्रयोगका कारण माटोको उर्वरा शक्ति घटिरहेको त छ नै, अझ अतिरिक्त अन्य विषादीको प्रयोगले माटोको अवस्था झन् बिग्रिएको छ। मधेसका किसानहरू त झन् झार मार्ने विषादी र जोत्ने मेसिनको प्रयोगले माटो अझै खराब हुँदै गएको बताउँछन्।
माटो जीवनको आधार हो, जीवित जगत्का लागि सृष्टिदेखि प्राण धान्न चाहिने ऊर्जाको स्रोत माटो हो र जीवनको अन्त्यपछि बन्ने पनि माटो नै हो तर दुःखद खबर त के भने जीवनको यस्तो महत्त्वपूर्ण आधार अहिले अधिकांश ठाउँमा दुरावस्थामा छ।
मानव सभ्यतासँगै सभ्यताको आधार पनि सुदृढ हुँदै जानुपर्ने हो। मानव घुमन्ते जीवनबाट स्थिर खेती प्रणालीमा आएपछि अधिकांश वर्षहरू जमिन र माटोको अवस्था सुधारमा लगायो तर पछिल्लो समय अवस्था फरक छ। पुर्खाले सदियौं लगाएर बनाएको माटो पछिल्ला केही वर्षमा कल्पनै गर्न नसकिने गरी बिग्रेको छ। जीवनको आधार किन यसरी बिगारियो?
यसको सतहमा देखिने कारण धेरै भए पनि अन्तरनिहित कारण भनेको एउटै हो -उत्पादन तथा उपभोग प्रणालीमा आएको परिवर्तन र यस क्रममा भएको माटोको वस्तुकरण। उत्पादन तथा उपभोग प्रणालीमा आएको परिवर्तन र जमिनको वस्तुकरणले कसरी माटो बिग्रियो भनेर विश्लेषण गर्न पहिले माटो र यसको अवस्था बुझ्न आवश्यक छ।
माटो स्थलमण्डल, जलमण्डल, वायुमण्डल र जीवमण्डलको लामो समयको अन्तरक्रियाबाट निर्मित पृथ्वीको सतहमा पाइने गतिशील र जीवित पदार्थ हो। आदर्श माटोमा खनिजको मात्रा ४५, हावा २५, पानी २५ र जैविक पदार्थको मात्रा ५ प्रतिशत हुनुपर्छ।
यथार्थमा अहिलेको खेती गर्ने तरिका र यसले गर्दा हुने सतहको माटो बगेर जाने कारणले जैविक पदार्थको मात्रा निरन्तरण घटिरहेको छ भने माटोको रासायनिक तथा भौतिक अवस्था चिन्ताजनक बन्दै छ। पछिल्लो अध्ययनअनुसार नेपालको ५४ प्रतिशत माटो अम्लीय र ३३ प्रतिशत क्षारीय भएको अवस्था छ। जैविक पदार्थको मात्रा १.९२ प्रतिशत मात्र छ। अझ तराईको अवस्था भने अझै खराब छ।
माटो भौतिक, रासायनिक र जैविक प्रक्रियाबाट निरन्तर रूपान्तरण हुने सजिव वस्तु हो। भन्दा विश्वास नलाग्न सक्छ, एक मुट्ठी सामान्य र स्वस्थ माटोमा पृथ्वीमा रहेका मानिसको संख्याभन्दा बढी प्राणी हुन्छन्, करिब १० हजार प्रकारका सूक्ष्म जीव र जोड्यो भने सयौं माइल लामो पुग्ने ढुसी। यस्तो जैविक हिसाबले वैभवयुक्त माटो मानव समाजमा आएको आधुनिकीकरणसँगै संकटग्रस्त छ र अहिलेकै गतिविधि निरन्तर रहे कुनै दिन माटोका कारणले मानव जाति नै संकटमा नपर्ला भन्न सकिन्न।
माटोको जीवित, गतिशील र प्राकृतिक रूपमा सुधार हुँदै जाने प्रक्रिया जमिनको उपयोग विशुद्ध खानका लागि पारिवारिक खेतीका रूपमा रहँदासम्म ठिकठाक चल्यो। जब यो जीवित पदार्थको वस्तुकरण भयो र उत्पादनका तौरतरिका पारिवारिक खाद्य सुरक्षाबाट नाफाका लागि गरिने खेती प्रणालीमा रूपान्तरण भयो अनि भूमि तथा माटोको दुर्दशा सुरु भयो।
इतिहास फर्केर हेर्दा थाहा लाग्छ, विश्वका कैयौं सभ्यताहरू माटोको हैसियत बिगारेका कारणले संकटमा परेका छन्। उदाहरणका लागि माया, होहोकाम, मेसोपोटामिया, ग्रिस र रोमको सभ्यताको पतन केवल युद्ध, रोग वा राजनीतिक समस्याका कारण मात्र भएको होइन। मुख्य कारण त माटोको दुरुपयोग थियो। माटोको चरम दुरुपयोग र अवनतिका कारण उर्भर भूमि मरुभूमिमा परिवर्तन भएर कैयौं सभ्यताहरू संकटमा परे र भविष्यमा पर्न सक्छन्।
जुन समाजले आफ्नो माटोको संरक्षण गर्न सक्दैन, त्यो समाजको खेती, खाद्य प्रणाली, अर्थतन्त्र, जीविका र अन्ततः सभ्यता नै खस्किन सक्छ।
यसर्थ, स्वस्थ र समृद्ध माटो, दिगो र उत्पादनशील खाद्य प्रणाली र स्वस्थ मानव जीवन मात्र होइन, पूराका पूरा मानव सभ्यताको आधार हो। अनि यो केवल प्राकृतिक उत्पादन होइन, सामाजिक उत्पादन पनि हो। अझ अहिलेको समयमा बढी सामाजिक उत्पादन र समाजको भौतिक अभिव्यक्ति भएको छ।
विशेष गरी मानव आवादीमा रहेको भूमि र यसको माटो त मानव क्रियाको ऐतिहासिक परिणाम भन्नुपर्ने हुन्छ। यसको निर्माण र विनिर्माण पूर्णतः समाजको उत्पादन हुन पुगेको छ।
जब माटोको निरन्तर हुने प्राकृतिक निर्माण प्रक्रियामा मानव हस्तक्षेप हुन्छ तब माटोको सामाजिक उत्पादन सुरु हुन्छ। भनिन्छ - माटोको आफ्नै इतिहास हुदैन। जब मानवको संलग्नता हुन्छ, माटो ऐतिहासिक बन्छ। अर्थात् माटो आजजस्तो रूपमा उपलब्ध छ, यो आफ्नै कारण मात्र होइन, समाजको लगानी र परिवर्तनको उपज हो। अब सहज रूपमा बुझ्न सकिने भयो - माटो जुन रूपमा संकट ग्रस्त छ, त्यो मानव अर्थात् समाजको संलग्नताका कारण भएको हो। सुधार पनि उपभोग र उत्पादनमा सामाजिक प्रक्रियाबाट सम्भव छ।
अर्को सत्य के पनि हो भने मानव संलग्नताका कारण माटोको हैसियत सधैं खराब थिएन। मानव खेतीपातीमा आएदेखि हजारौं पुस्ता आफ्नो तागत तथा समय माटो र भूमिको हैसियत सुधार गरेर खेतीयोग्य बनाउनमा लगायो। जैविक प्रक्रियाको माध्यमबाट उत्पादन नहुने भूमिको समेत माटो सुधार गरेर खेतीयोग्य बनायो। यो प्रक्रियामा जुन स्तरमा माटोबाट उत्पादन लियो। त्यही स्तरमा माटोमा जैविक पदार्थको लगानी र संरक्षण गरियो। जुन समुदायले माटोलाई निर्जीव रूपमा व्यवहार गरेर दोहन मात्र गर्यो, त्यो भूमिको मरुभूमीकरणका साथ समाजको पनि पतन सुरु भयो।
माटोलाई खेती उत्पादनको महत्त्वपूर्ण स्रोतका रूपमा यसको हैसियत सुधार गर्दै वा कम्तीमा हैसियत नबिगारीकन खेती गर्ने हो भने यसलाई बैंकिङ सिद्धान्तका रूपमा लिनुपर्छ। जसरी बैंकबाट निरन्तर रकम झिकिरहन नगद जम्मा गरिरहनुपर्छ, त्यसरी नै खेती गर्दा जुन परिणाममा उत्पादन लिने हो, त्यही हिसाबले जैविक पदार्थ हाल्ने र माटो बग्नबाट बचाउनुपर्छ।
लगानी नगरीकन माटोलाई एकोहोरो सेवा प्रदायकका रूपमा व्यवहार गर्दा अहिले गाउँ सहरको माटो खराब भएको हो। निर्वाहमुखी खेती प्रणाली अपनाउने समयसम्म खेती एकीकृत प्रणालीमा गरिन्थ्यो। खेतबारीबाट लिएको उत्पादन मानव र पशुले प्रयोग गरेपछि जैविक पदार्थ घुमीफिरी उत्पादन स्थलको माटोमा पुग्थ्यो। उत्पादन स्थलमा वनजंगलबाट जैविक पदार्थ लगेर मिसाइन्थ्यो भने विविधीकृत बहुबाली प्रणालीमा खेती हुन्थ्यो, तब त माटोमा जैविक प्रक्रियासँगै जैविक पदार्थ रहन्थ्यो, माटो जीवित रहन्थ्यो।
औद्योगिकीकरणपछि कृषि उत्पादनमा बजार मोडेल सुरु भएर उत्पादनस्थल र उपभोक्ताबिचको दुरी लामो हुन थाल्यो। एक त माटोको उर्वराशक्ति जोगाउन लाग्ने जनशक्ति टाढाका सहरमा थुप्रिए। अर्को उत्पादन एकोहोरो बजार पठाउने र सट्टामा हानिकारक प्लास्टिक र उत्पादन बढाउने नाममा रासायनिक पदार्थ हाल्ने क्रम बढ्यो। एक पटक विचार गरौं त, सयौं ट्रकले दिनहुँ ल्याउने उत्पादनले खपत गरेको प्रांगारिक पदार्थको सट्टामा काठमाडौं के फिर्ता पठाउँछ?
फसल मात्र होइन, बजारलाई आवश्यक पर्ने पशुजन्य उत्पादन पनि खेतबारीबाट टाढा बजारको आसपास हुन्छ। त्यसका लागि नलपरालसमेत बजार पुग्छ तर उत्पादन स्थलमा गोबर अन्य सहउत्पादन खेतबारीमा फर्कंदैन। त्यस्तै बालीको फसल लिने बेला मेसिनको प्रयोगले अर्को खराब अभ्यास सुरु भएको छ। खेती स्थलमा रहने बालीको अवशेष पनि जलाउने खराब अभ्यास सुरु भएको छ।
माटोले एकतर्फी सेवा प्रदायकका रूपमा जैविक पदार्थ बाहिर पठाउनका लागि गाउँमा रहेका सीमित जनशक्तिले काम गरेर पुग्दैन। खाद्य प्रणालीको बजार मोडेल लागु हुँदा बाली उत्पादन स्थलमा काम गर्ने पशुको समेत अभाव हुन्छ, तब कृषि कर्ममा मेसिन प्रयोग हुन्छ। मेसिनको प्रयोगले माटोको भौतिक संरचना बिगार्छ।
अर्को तर्फ जैविक पदार्थ नहुँदाको शोधभर्ना रासानिक मल र कामदारको अभावमा मेसिनको अतिरिक्त झार मार्ने विषादी र बाली संरक्षणमा किटनाशकको प्रयोग गरिन्छ। यस अभ्यासले माटोको रासायनिक र भौतिक दशा बिगार्छ।
यसरी प्रकृति र पुर्खाले वर्षौं लगाएर निर्माण गरेको जैविक र उत्पादनशील माटो बजार केन्द्रित उत्पादक र उपभोक्ताको व्यवहारले सामाजिक पुनर्उत्पादन भएको छ। छोटो समयमै माटोमा रसायन र अन्य नकुहिने पदार्थ थोपरेर अजैविक माटो उत्पादन भएको छ। सूक्ष्म जीवको वृद्धि र क्रियाकलाप सीमित भएको छ।
माटो र भूमिलाई एकोहोरो सेवा प्रदायकका रूपमा प्रयोग गर्ने नवउदारवादी उत्पादन प्रणालीले माटोको अवस्था झनै खत्तम बनाएको छ। उर्वर भूमि कृषि उत्पादनमा प्रयोग नै गर्न नमिल्ने गरी अनेक खालका उद्योग र भौतिक संरचना बनाइको छ। कति भूमिमा उर्वराशक्ति कहिल्यै फर्काउन नसकिने गरी रसायन र निर्माण सामग्री प्रयोग भएका छन् तर माटोको स्वास्थ्य सुधार गर्न कुनै ध्यान दिइएको छैन। यसले सतहमुनि पानी छिर्न मात्र अवरोध गरेको छैन, लाखाैं वर्षदेखि माटोमा हुँदै आएको जैविक प्रक्रियासमेत अवरुद्ध गरेको छ।
यसकारण यस पटकको माटो दिवसका लागि चयन गरिएको नारा ‘स्वस्थ माटो, स्वस्थ सहर’ अर्थपूर्ण छ। यस नाराले सहरको माटो स्वस्थ राखेर मात्र स्वस्थ सहर बन्ने परिकल्पना गर्दैन। बरु नवउदारवादी अर्थ व्यवस्थाले अलग्याएको गाउँको माटो र सहरका उपभोक्ताबिचको सम्बन्ध सुधार गर्ने कुरासमेत कल्पना गर्छ। सहरको स्वस्थ जीवन तब मात्र सम्भव हुन्छ, जबसम्म दूरदराजको उत्पादन क्षेत्रले स्वस्थ उत्पादन पठाउँछ।
स्वस्थ उत्पादन दिन स्वस्थ र जैविकयुक्त माटो चाहिन्छ। निरन्तर गुणस्तरीय उत्पादन लिन माटोलाई एकोहोरो सेवा प्रदायक होइन, बैंकिङ सिद्धान्त अनुसारको सन्तुलन कायम गर्न जति परिणाम उत्पादन लिइन्छ, त्यसको शोधभर्ना हुने गरी जैविक पदार्थ फिर्ता गर्नुपर्छ। यसका लागि उपभोक्ता अनुशासित हुनुपर्छ। अनुशासित उपाभोक्ताले कम्तीमा आफ्ना लागि चाहिने खाद्यान्य जैविक तरिकाबाट आफैं उत्पादन गर्छन्।
उत्पादन गर्न सम्भव नभए जैविक उत्पादनका लाग्ने लागत तिर्न तयार हुन्छन् अर्थात् जैविक तरिकाबाट उत्पादन भएका खाद्यान्नको उत्पादनलागत बढी पर्छ तर पनि विषादीयुक्त खाद्य वस्तु रोज्दैनन्। जैविक विधिबाट उत्पादन भएका खाद्यान्नलाई बढी मूल्य तिर्न तयार भए उत्पादकले लागत बढी भए पनि प्रांगारिक उत्पादन सामग्री प्रयोग गरेर उत्पादन गर्न प्रेरित हुन्छन्। अन्ततः उत्पादन प्रणाली र समग्र खाद्य प्रणाली सुधारिन्छ।
अझ महत्त्वपूर्ण त उपभोग स्थलमा निस्कने प्रांगारिक फोहोर पदार्थ डम्पिङ साइडमा पुर्याउनु र ढलमा बगाउनुको सट्टा पुनः प्रयोग गर्नका लागि रिसाइकल गर्ने र उत्पादन स्थल पुर्याउने व्यवस्था हुनुपर्छ। यसका साथै प्रांगारिक मल लगायतका जैविक उत्पादन सामग्रीको सहज आपूर्तिको व्यवस्था हुनुपर्छ। फ्याक्ट्रीमा उत्पादन भएका र रसायन प्रयोग भएका खाना खाने उपभोक्ताले न माटो न खाद्य प्रणाली नै सुधार गर्न मद्दत गर्छ।
प्रकाशित: १२ पुस २०८२ ०८:१६ शनिबार





