हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रसँग सदरमुकामको सम्पर्क पूर्णरुपमा टुटेको छ। बाक्लो हिमपातले अहिले कागबेनीबाट माथि जाने अवस्था नरहेको स्थानीय प्रशासनले बताएको छ। मुक्तिनाथ क्षेत्रसम्मको आउजाउ समेत सकसपूर्ण बनेको प्रशासनको भनाई छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ क्षेत्रमा बाक्लो हिउँ जमेको छ। घरको छानोमा करिब २ फिटसम्म हिउँ जमेको उनले बताए। ‘घाम लागेको भएपनि आउजाउ सहज छैन। हिउँ पग्लिन पाएको छैन। घाम लागेको भएपनि हिउँ पग्लिन अझै केहीदिन लाग्छ,’ उनले भने, ‘बाटोमा पनि डेढफिट सम्म बाक्लो हिउँ जमेको छ।’
जाडो छल्न माथिल्लो भेगका बासिन्दा अहिले पोखरा क्षेत्रमा झरेकोले लोमान्थाङ क्षेत्रमा चहलपहल पनि निकै नै कम रहेको उनले बताए। यो बेला लोमान्थाङ क्षेत्रमा जम्मा ५० जनाजति नागरिक रहेको पनि उनले बताए। ‘अधिकांश गाउँले चिसो छल्न तल झरेसँगै यसै पनि सुनसान थियो। त्यसैमा हिउँ परेपछि झनै सुनसान हुने नै भयो,’ उनले भने। उनका अनुसार अहिले पर्यटकको सिजन नभएकोले विदेशी तथा स्वदेशी पर्यटक पनि माथि उक्लिएका छैनन। अधिकांश बासिन्दा जाडो छल्न तल झरेको बेला घर कुर्न बसेका बाहेक अरु नरहेको उनले सुनाए।
‘घरको छतमा जमेको हिउँ त मान्छेले फालिरहेका छन। बाटोको पनि हिउँ पन्छाएर हिडडुल भईरहेको छ। तर, गाडी चल्ने अवस्था भने रहन्न,’ पौडेलले भने। उनका अनुसार जाडो छल्न तल झरेका सर्वसाधारणहरु फागुन लागेपछि मात्र गाउँ फर्किने गर्छन। यो बेला चुनावी गतिविधि हुनुपर्ने भएपनि हिउँ परेको र मतदाता नै गाउँमा नभएपछि चुनावी गतिविधि पनि माथिल्लो क्षेत्रमा हुन नसकेको उनले सुनाए।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार कागबेनी–लोमान्थाङ सडक पूर्ण रुपमा अवरुद्ध रहेका छ। कागबेनीबाट मुक्तिनाथ सम्मको सडक समेत सहज हुन नसकेको उनले बताए। ‘मुक्तिनाथसम्मको सडक संचालनमा आउन सक्ने अवस्था छ। किनकी हिउँ पन्छाएर आउजाउ गराउने प्रयास भईरहेको छ। तर, लोमान्थाङ क्षेत्रको हिउँ भने पन्छाएर सकिने अवस्था छैन।’ उनका अनुसार सुरक्षाकर्मी र उपकरण प्रयोग गरेर मुक्तिनाथसम्मको सडक खुलाउने प्रयास भईरहेको छ।
‘कागबेनी–लोमान्थाङ सडक भने अहिले खुलाउन सकिने अवस्था छैन। किनकी दूरी पनि बढी छ। हिउँ हटाएर बाटो खुलाउने भन्ने रहन्न,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘घाम लाग्न थालेकोले हिउँ पग्लेपछि भने आउजाउ सुरु हुनेछ। तर, हिउँ पग्लिन अझै केहीदिन लाग्नेछ।’
बाक्लो हिमपातका कारण माथिल्लो क्षेत्रमा चुनावी गतिविधि पनि हुन सक्ने अवस्था तत्कालका लागि नरहेको उनले बताए। मतदाताहरु जाडो छल्न तल झरेकोले पनि माथिल्लो क्षेत्र सुनसान रहेको भण्डारीले बताए। ‘मतदाता पनि छैनन। चिसो छल्न पोखरा, काठमाडौं गएकोले चुनावी माहोल तातेको छैन। उम्मेदवार पनि चुनावी भेटघाट गर्नका लागि पोखरा र काठमाडौं सहितका सहरी क्षेत्रमा सक्रिय रहेका छन। माथिल्लो क्षेत्रमा तत्काल आउजाउ पनि सम्भव छैन,’ उनले भने।
प्रकाशित: १५ माघ २०८२ १८:०८ बिहीबार


-600x400-wm.jpg)


