दोलखाको भीमेश्वर नगरपालिका-५ पिपलबोटस्थित लामोसाँगु-जिरी सडकखण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र. ०२-०६२ प ८४६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ७९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्। दुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल पठाइएको थियो।
अस्पतालमा उपचारकै क्रममा बा ८० प ७९७३ नम्बरको मोटरसाइकलमा सवार दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य दुई जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएको छ। घाइते हुनेहरूमा वैतेश्वर गाउँपालिका-२ पुतलीकाठ घर भई हाल १४ नम्बर गण मकवानपुरमा कार्यरत २६ वर्षीय सशस्त्र प्रहरी जवान उमेश तामाङ र भीमेश्वर नगरपालिका-६ चोथाङका १९ वर्षीय विवेक थामी छन्। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ३० जेष्ठ २०८३ १२:४५ शनिबार





