एक साताअघि शिक्षकको माग राखेर धरान उपमहानगरपालिकामा सञ्चालित दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीले आन्दोलन गर्दा विष पिएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
असोज ९ गतेदेखि आन्दोलन थालेर त्यसको भोलिपल्ट विद्यार्थीका माग पूरा भएपछि धरान बाल सञ्जालमा रहेका रोजन शंकरले विष पिएका थिए।
आन्दोलनका क्रममा अनशनमा बसेका विद्यार्थीको जीवन, स्वास्थ्य तथा व्यक्तिगत सुरक्षामा प्रतिकूल असर पर्ने गरी अमानवीय गतिविधि भएको भन्दै धरान उपमहानगरपालिकाले इलाका प्रहरी कार्यालय धरानलाई निष्पक्ष र स्वतन्त्र छानबिन गर्न पत्र पठाएपछि प्रहरीले अनुसन्धान थालेको जानकारी दिइएको छ।
धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले असोज १५ गते पठाएको पत्रमा घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीलाई अनुरोध गरिएको छ। राई अहिले सरुवा भइसकेका छन्।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार घटनाको छानबिन गर्न सीसीटीभी फुटेज संकलन भइरहेको छ। एक–दुई स्थानको फुटेज संकलन गर्न बाँकी रहेको उनले बताए। उनले घटनाको छानबिन प्रारम्भ भइसकेकाले केही दिनभित्रै नतिजा आउने दाबी गरे।
सो घटना कार्यवाहक मेयर आइन्द्रविक्रम बेघालाई फसाउने उद्देश्यले गरिएको दाबी गरिएको छ।
घटनाक्रमअनुसार धरान वडा नं. ६ को सरस्वती माध्यमिक विद्यालयमा माघ तेस्रो सातादेखि सामाजिक शिक्षक र वडा नं. ११ को ज्ञानोदय माध्यमिक विद्यालयमा झन्डै अढाई वर्षदेखि नेपाली शिक्षक नभएपछि असोज ९ गतेदेखि विद्यार्थी अनशनमा बसेका थिए।
अनशन बसेको भोलिपल्ट विद्यार्थी र धरान उपमहानगरपालिकाबीच सहमति भएको थियो। प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईको पहलमा विद्यार्थीका माग पूरा गरिए पनि कार्यवाहक मेयर आइन्द्रविक्रम बेघा नै विद्यार्थीसमक्ष आउनुपर्ने अडान राख्दै विद्यार्थीले आन्दोलन जारी राखेका थिए।
सहमति भएको साँझ बाल सञ्जालमा रहेका शंकरले फिनेल पिएका थिए।
प्रकाशित: १८ आश्विन २०८३ १९:३० आइतबार





