रौतहटको लाल बकैया नदीमा दुई दिनको अन्तरालमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ भने शनिबार फेरि एक बालिका बेपत्ता भएको छ।
गत बिहीबार इशनाथ नगरपालिका वडा नम्बर १ का १५ वर्षीय बिगन साह लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएको स्थानबाट करिब ८ किलोमिटर दक्षिण भारतीय क्षेत्रमा तेस्रो दिन शनिबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बन्जरहा गाउँका ५ जना साथीहरू लाल बकैया नदीमा सँगै नुहाउन गएका थिए। अचानक खोलामा आएको बाढीको भेलले बगाउन थालेपछि चारजना सकुशल निस्के तर सँगै गएका साह बेपत्ता भएका थिए। भारतस्थित लाल बकैया नदीमा भेटिएको किशोरको शव ल्याउन स्थानीय प्रशासन र परिवारजन भारत गएको प्रहरीको भनाइ छ।
शनिबार बिहान जितिया पर्वको स्नान गर्न व्रतालुसँगै गएकी गौर नगरपालिका ६ की १० वर्षीया करिश्मा साह नुहाउने क्रममा बेपत्ता भएकी छन्। जितिया पर्वको पहिलो दिन गाउँदेखि पश्चिम रहेको लाल बकैया नदीमा व्रतालुसँगै नुहाउने क्रममा बालिका साह बेपत्ता भएकी छन्।
नदीमा बेपत्ता भएकी बालिकाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय गोताखोरद्वारा खोजी कार्य जारी भएको रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरिले बताए।
प्रकाशित: २८ भाद्र २०८२ १२:३८ शनिबार





-600x400.jpg)