१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

आमा पुर्‍याउन पुर्ख्यौली घर गएका निरज घरभित्रै च्यापिए

क्यानडाबाट केही दिनलाई नेपाल आएका निरज अब फर्कँदैनन्

क्यानडाबाट केही समयका लागि नेपाल आएका निरज भण्डारीको भोटेकोशीको विनाशकारी बाढीमा परी ज्यान गयो। आमालाई पुर्ख्यौली घर नुवाकोटको देविघाट पुर्‍याउन गएका निरज बाढीले घर डुबाएपछि भाग्ने क्रममा ढोकामा च्यापिएर मृत्यु भएको उनका काका धन भण्डारीले बताए । 

काठमाडौंको बनस्थली खरिबोटमा घर भएका निरज केही समयअघि मात्रै क्यानडाबाट नेपाल आएका थिए। आमालाई काठमाडौंको खरिबोटनस्थित घरबाट नुवाकोटको देविघाटमा रहेको पुर्ख्यौली घर पुर्‍याउन उनी त्यहाँ पुगेका थिए।

तर, बुधबार आएको भोटेकोशीको भीषण बाढीले उनको परिवारलाई सम्हालिनै नसक्ने पीडा दियो।

निरजका काका धनबहादुर भण्डारीका अनुसार बाढीले तीनतले ढलान घरको दुई तला पुरेपछि निरज घरभित्रै फसेका थिए। बाढी घरको छतसम्म पुगेपछि माथिल्लो तलामा रहेका निरज तलको कोठातर्फ भाग्न खोजेको र त्यही क्रममा ढोकामा च्यापिएको हुनसक्ने उनले बताए।

‘तेस्रो तलामा रहेको भतिजोलाई पनि बाढीले लग्यो। छतमा नै बाढीले हानेको रहेछ,’ धनबहादुरले भने, ‘छतमा बाढीले हानेपछि तल कोठामा रहेको भतिज भाग्न खोजेको देखिन्छ। ढोकामा च्यापिएर ज्यान गुमाएको जस्तो देखियो।’

बुधबार र बिहीबार दिनभर खोज्दा पनि निरज भेटिएका थिएनन्। परिवारजनले उनी सकुशल भेटिने आशा गरिरहेका थिए। तर, शुक्रबार बिहान प्रहरीको उद्धार टोलीले घरभित्रबाट उनको शव निकालेपछि त्यो आशा निराशामा परिणत भयो।

‘आज बिहान भतिजाको शव निकालियो। सुरक्षाकर्मीको सहयोगमा शव बाहिर निकाल्यौँ,’ धनबहादुरले भने।

उनका अनुसार बाढीले घरको पछाडिपट्टि रहेको ठूलो घरको छतसमेत बगाएर ल्याई निरज बसेको घरलाई किचेको थियो। घरभित्रको छिँडीमै निरज फसेको अवस्थामा भेटिएका थिए।

‘आफ्नै घरभित्रको छिँडीमा परेको रहेछ। पछाडिपट्टिको ठूलो घरको छत आएर हाम्रो घरलाई किचेको रहेछ,’ उनले भने।

निरजको शव भेटिएपछि परिवारले एकातिर आफन्त गुमाउनुको पीडा खेप्नुपरेको छ भने अर्कोतिर उनको अवस्था थाहा नपाएर बिताएका दुई दिनको पीडाबाट केही राहत मिलेको धनबहादुरले बताए।

‘स्वास भेटिएन, तर लास भेटिएपछि एक खालको चित्त बुझ्ने अवस्था हुँदो रहेछ,’ उनले भने।

धनबहादुरका अनुसार निरजकी श्रीमतीले घरमा लुगा सुकाएकी थिइन्। सामान्य दिनजस्तै लागेको त्यो समय केहीबेरमै परिवारका लागि कहिल्यै नबिर्सने त्रासदीमा परिणत भयो।

‘बाढीको यस्तो विपत्ति कसरी आयो, कल्पना नै गर्न सकिएको छैन,’ धनबहादुरले भने, ‘परिवारको हाँसो–खुसी खोसिएको छ। अब यो दैवको लीला नै भनेर चित्त बुझाउनुपर्ने होला।’

बाढीले दुई तला नै पुरेको घरमा निरज छतसम्म पुग्न सकेको भए सायद ज्यान जोगिन सक्ने धनबहादुरको अनुमान छ। तर, केही क्षणमै आएको बाढी, घरमाथि खसेको संरचना र भाग्ने क्रममा भएको दुर्घटनाले निरजलाई परिवारबाट सधैँका लागि खोसेको छ।

 

प्रकाशित: १२ भाद्र २०८३ १७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App