२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

थानकोट-चित्लाङ सडककाे स्तरीकरणलाई गति दिन मन्त्रीकाे निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । आज सो सडकको निरीक्षण पछि उनले काठमाडौं जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए।

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्‍याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे। निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे। मन्त्री दाहालले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौंबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि पनि यो सडक महत्त्वपूर्ण रहेको बताए। यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध शीघ्र सम्पन्न गराउन आवश्यक रहेकामा उनले जोड दिए।

सडक विभागका महानिर्देशक डा विजय जैसीले कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरे। सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्काका लागि काम अघि बढिसकेको छ । 

प्रकाशित: १५ श्रावण २०८२ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App