पर्वतको जलजला गाउँपालिका-४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन्।
यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने कि जोखिम मोलेर त्यही बस्ने भन्ने निर्णय लिन उनलाई गाह्रो परेको छ।
‘करिब छ मिटर माथिसम्म कालीगण्डकीको बाढी आउने कल्पना गरेको थिइनँ तर असोज १० गते रातिको बाढीले घर डुबाएर सामान बगायो, भएका लत्ताकपडा, भाँडाकुँडा र सामान हिलाम्मे बनायो,’ उनले भनिन्।
रेस्टुरेन्ट र किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी रावलले भनिन्, ‘यो ठाउँमा बसौँ भने बाढीले डुबाएको झलझली आँखामा आउँछ, छोडेर जाने अरू ठाउँ छैन।’
बाढी पसेपछि रावलसहित लामाखेतका अधिकांश बासिन्दा घरमा सुत्न छाडेका छन्। साँझ खाना खाएर बेनी बजारमा आउने उनीहरू बिहान घर फर्कन्छन्। बाढीले भिजाएका हिलाम्मे सामानको सरसफाइ उनीहरूको दिनचर्या बनेको छ।
बेनीको प्रकाश माविमा कक्षा ६ मा पढ्ने लामाखेतका आयुस पुनले बाढी पसेपछि पोसाक लगाउन नमिल्ने भएको र हिलो पन्छाउन बुबाआमालाई सघाउनुपर्दा विद्यालय जान नपाएको गुनासो गरे।
लामाखेतमा बस्दै आएका धवलागिरि गाउँपालिका-५ भेडिखाल्टाकी रुपी बुढा घरमा बस्नेकी छोड्ने भन्ने दोधारमा छन्। ‘जलजला गाउँपालिकाको केन्द्र र कार्यालय रहेको लामाखेतलाई संरक्षण गरेर बस्नयोग्य बनाउन सके मात्र हामी ढुक्क हुने थियौँ,’ उनले भनिन्, ‘बाढी र कटानबाट ज्यान बचाउन घर छाड्नुपर्ने अवस्था छ। जीवनभरको कमाइ लगानी गरेर बनाएको घर छाडेर फेरि गाउँ फर्कन अप्ठ्यारै हुन्छ।’
पछिल्लो १५ वर्षयता तीव्र रूपमा बस्ती विस्तार भएको लामाखेत पर्वत जिल्लाको भूगोलमा पर्ने भए पनि अधिकांश म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर आएका छन्। लामाखेतमा धेरैजसो विदेशमा कमाएको र गाउँको जग्गा जमिन बेचेर छोराछोरी पढाउन, बेनीमा रोजगारी र मजदुरी गर्नेले घर बनाएर बसेका छन्।
लामाखेतको तल्लो क्षेत्रमा रहेका २५ भन्दा बढी घरमा बाढी पसेको थियो। यसअघि तटबन्ध नाघेर बाढी नआएको स्थानीयवासी बताउँछन्। बेनीदेखि लामाखेत जोड्ने ढलान गरेर पक्की बनाएको सडक पनि पहिरोले भत्काएकाले घरका सामान अन्यत्र सार्न पनि नपाएको स्थानीय टीकाराम पुनले गुनासो गरे।
मेघबहादुर राईले बाढीको त्रासका कारण बेनीबजारमा कोठा खोजिरहेको बताए। ‘सडक माथिको पाखो धसिएको र कालीगण्डकी पारि ठुलो पहिरो देखिएकाले लामाखेतवासीलाई त्रास सिर्जना भएको छ,’ उनले भने, ‘घरभित्र पसेको बाढी र हिलो त पन्छाइयो तर मनभित्र पसेको चिसो हटाउन गाह्रो हुँदो रहेछ।’ लामाखेतलाई तटबन्ध गरेर बस्नयोग्य बनाउनुपर्ने स्थानीयवासी अमित पुनको भनाइ छ।
तत्कालका लागि बस्तीभित्र थुप्रिएको बालुवा पन्छाउन ब्याकुहोलोडर आवश्यक परेको छ। बेनी जोड्ने सडक खुलाउन, खानेपानी आपूर्ति गराउन र दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण योजना सञ्चालन गरी लामाखेतलाई बस्नयोग्य बनाउनुपर्नेमा लालबहादुर छन्त्यालले जोड दिए।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार बाढीले लामाखेत, लामाबगर, फर्सेलगायत तटीय क्षेत्रदेखि धाइरिङको तामवाङ, खानीगाउँलगायत धेरै बस्तीमा क्षति पुर्याएको बताए। तत्कालका लागि मानवीय क्षति हुन नदिने, अवरुद्ध सडकमा यातायात सञ्चालन गर्ने र आधारभूत आवश्यकता परिपूर्तिका लागि मंगलबारदेखि १४ वटा समूह परिचालन गरिएको उनले बताए।
मालढुंगा-बेनी सडकको माथिल्लो क्षेत्रमा पाखो जमिन चर्किएकाले जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउनका लागि अनुरोध गरिएको अध्यक्ष आचार्यको भनाइ छ। गाउँपालिकाको अन्य बजेट कटौती गरेर विपद्मा केन्द्रित गर्ने, पुनर्निर्माण, पुनः स्थापनाका लागि संघीय र प्रदेश सरकारसँग योजना तथा बजेट माग गर्ने उनको भनाइ छ। सन्तोष गौतम/रासस
प्रकाशित: १४ आश्विन २०८३ ०९:१० बुधबार




-600x400.jpg)
