सिंचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।
निरन्तर चोरीका घटना बढे पनि अपराधमा संलग्नको पहिचान र कारबाही हुन नसक्दा किसानको बेचैनी बढेको हो। पछिल्लो पटक सोनमा-२ को तरहारी र मैनटोल तथा सोनमा-६ को तरहारी र मगरथानाबीचको पोखरी डिलमा जडित ट्रान्सफर्मर सञ्चालन हुनु अगावै चोरी भएको छ। सोनमा गाउँपालिकामा जडित ती ट्रान्सफर्मरमा विद्युत् लाइन जोडेर सञ्चालनको तयारी हुँदै थियो।
मधेस प्रदेश सरकारले किसानको सिंचाइ सुविधा बढाउने उद्देश्यले जडान गरेको ट्रान्सफर्मर सञ्चालन अगावै चोरी भएका हुन्। ‘पछिल्ला तीन÷चार दिन लगातार पानी परेको थियो। कसैले त्यता ध्यान दिएनन्, पानी थामिएपछि खेतमा गएका किसानले ट्रान्सफर्मर चोरिएको थाहा पाए,’ सोनमा-२ का सामाजिक कार्यकर्ता मदन साह भन्छन्, ‘यो गत शनिबारदेखि सोमबारको बीचमा चोरिएको हुनसक्छ।’
हाल धानबाली पोटाउने बेलामा दुई÷तीन दिनको फरकमा पानी लगाउनुपर्ने हुन्छ। सञ्चालनमै नआई ट्रान्सफर्मर चोरिएपछि किसान समस्यामा परेका छन्। ‘पोटाउन लागेको धानमा पानी लगाउन अब कठिन भएको छ,’ सोनमा बस्तीकै रामप्रित ठाकुर भन्छन्, ‘अब फेरि आकाश नै ताक्नुपर्ने भयो।’
ट्रान्सफर्मर चोरी भएपछि किसानले प्रशासन गुहारेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर चोरी गर्नेको खोजी गरी कारबाही गर्न माग गरेका छन्। सिंचाइका लागि तत्काल अर्को ट्रान्सफर्मरको व्यवस्था गरीदिन किसानले माग गरेका छन्।
जिल्ला प्रशासनले प्रहरी परिचालन गरी चोरीमा संलग्नको खोजी गर्ने आश्वासन दिएको छ। घटनाबारे तत्काल अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार गरिएको छ। सिंचाइका लागि इनार र बोरिङमा जडान गरिएको मोटर यसअघि पनि बाक्लै चोरी हुने गरेका थिए। आर्थिक वर्ष २०८२÷८३ मा २८ वटा ट्रान्सफर्मर र कैयौं मोटर चोरी भएको तथ्यांक छ।
गत वर्ष आफ्नो बस्तीमा मात्र १० वटा इनार र बोरिङमा जडान भएको मोटर चोरी भएको भंगाहा-४ का ३० वर्षीय युवा किसान रामईश्वर ठाकुर बताउँछन्। बर्सेनि यस्ता घटना हुँदै जाने र कोही नसमातिने अवस्थाले चोरको मनोबल बढ्दै गएको किसानको भनाइ छ।
प्रकाशित: १४ आश्विन २०८३ ०८:४६ बुधबार





