नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ। भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न संघीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो।
ठूला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा नारायणीको चिसो हावासँगै रमाउने र हिँडाइ गर्ने यो स्थललाई सुन्दर बनाउन महानगरले चाहेको थियो। जाडो महिनामा दिउँसोमा समेत यहाँ बसेर रमाउने र तस्विर खिच्नेहरू आउने गर्दछन्। नजिकै नारायणी नदी बगिरहेको छ भने वरिपरिको सुन्दरता मनमोहक छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी नदी तटीय क्षेत्रलाई ‘सिबिच’ ढाँचामा विकास गर्न चाहेको भए पनि नदीमा हरेक वर्ष आउने बाढीका कारण सम्भव नभएको बताउँछन्। गत वर्ष अधिकांश संरचना बगाएको थियो भने बाँकी रहेका संरचना सबै बगाएको छ। उनले भने, 'हामीले संघ र प्रदेशसँग समेत सहकार्य गरेर यसलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थियौँ।' तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरपालिका टोलीको आग्रहमा संघीय सरकारले फुटट्रेल, आरसिसी संरचनासहितको पैदलमार्गलगायतका काम गरेको थियो।
पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पैदलमार्ग (फुटट्रेल) र नारायणी नदी व्यवस्थापन आयोजनाले सिबिच मोडलमा आरसिसी संरचना निर्माण गरेको थियो। भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघले पैदलमार्ग बनाएका थिए। बाढी आउनुअघि सो क्षेत्रमा मोजाइक टायल, दुबो बिछ्याइएको, हरियाली एवं वरिपरि भएका बिरुवाका कारण सुन्दर र मनमोहक बनेको थियो। साँझपख मानिसहरू नारायणी किनारमा घुम्न निस्कने गर्दा छुट्टै चहलपहल हुने गर्थ्यो।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन मन्त्रालयले ‘फुटट्रेल’को काम गरेको थियो। पर्यटन मन्त्रालयले दुई दशमलप चार किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि रु छ करोड ५० लाखको बोलपत्र आह्वान गरी काम गरेको थियो। यस्तै भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर रु ९७ लाख खर्च गरी पैदलमार्ग बनाएको थियो।
जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र बनाएका ती सबै संरचना बाढीले बगाएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाले ११ खुट्किलासहितको ६५० मिटर लामो आरसिसी संरचना बनाएको थियो। हाल नदी क्षेत्रमा सो संरचनामात्र बाँकी छ। ती संरचना २०७९ सालमा रु १५ करोड ९२ लाख खर्च गरी बनाइएको हो। नदीकिनारलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेका संघका पूर्वअध्यक्ष श्रेष्ठ चाहेर पनि नदीकिनारलाई सुन्दर बनाउन नसकिएको बताउँछन्। नदीको बीचमा रहेका संरचना हटाएर नदीलाई सहज बग्न दिनुपर्ने उनको भनाइ छ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी हरेक दुई वर्षमा संघले महोत्सव गर्नका लागि रु ४० लाख हाराहारी खर्च गरेर नदीकिनार व्यवस्थापन गर्नुपर्ने बाध्यता आएको बताउँछन्। सो क्षेत्रको भाडा भरतपुर महानगरपालिकाले लिने भए पनि काम आफूहरूले समेत गर्नुपरेको उनको भनाइ छ। हरेक वर्षको बाढीले त्यहाँ बनाएका संरचना बगाउने गरेको उनको गुनासो छ। यसलाई दिगो रूपमा संरक्षण गर्न सक्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ।
रास्वपाका नेतासमेत रहेका संघका पूर्वअध्यक्ष राजन गौतम सो क्षेत्रमा गरिएको लगानी बालुवामा पानी भएको भन्दै कार्यक्रम अन्यत्र गर्ने र नदीलाई आफ्नो धारमा बग्न दिनुपर्ने बताउँछन्। उनले भने, 'अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो। हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन।'
पहिलोपटक नारायणी नदीको बहाव उर्लिएर बजार क्षेत्रमा उक्लिएको छ। यसले नारायणगढ बजारसमेत जोखिममा परेको स्थानीयको बुझाइ छ। लामो समयदेखि नारायणगढमा बसोबास गर्दै आएका प्रभातकुमार जोशी नदीको कटान यसरी नै बढ्दै गएमा नारायणगढ बजार नै जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन्। विसं २०१९ देखि नारायणगढ बस्दै आएका जोशीका अनुसार नारायणी किनारको संरक्षणमा सरकारले तत्काल विशेष ध्यान दिनुपर्छ। नदीको उचित संरक्षण नगरेर प्रकृतिलाई जिस्क्याउँदै किनारमै बस्ती विस्तार गरिए नारायणगढ बजारको भविष्य नै खतरामा पर्ने उनको भनाइ छ।
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्य भोटेकोशी बाढीपछि नदीको सतह बढेर पानीको बहाव बजार क्षेत्रमा पसेको हुनसक्ने बताउँछन्। नदी तटीय क्षेत्रलाई सुन्दर बनाउन फरक ढङ्गले नक्साङ्कन गरेर काम गर्नुपर्ने देखिएको उनको भनाइ छ। महानगरले नदी तटीय यस क्षेत्रलाई विश्वका सामुद्रिक किनारमाझैँ पर्यटकीय गन्तव्य बनाउन चाहेको भए पनि सम्भव नभएको उनले बताए।
नारायणी नदीमा ६० वर्षयताको ठूलो बाढी मापन गएको आइतबार भएको छ। देवघाटमा रहेको जलमापन केन्द्रमा बिहान ११ः४० बजे गरिएको मापनमा ११ दशमलव ९३ मिटर पुगेको थियो।
नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते सो ठाउँमा ११ दशमलव ६ मिटर मापन भएको थियो। उनका अनुसार सन् १९६३ बाट देवघाटमा जलमापन गर्न थालिएको हो। अहिलेसम्मको तथ्याङ्कमा आइतबारको बाढी ६० वर्षयताको ठूलो हो। यही बाढीका कारण नदी तटीय क्षेत्रमा भएका संरचना बगेका हुन्। रासस
प्रकाशित: १४ आश्विन २०८३ ०९:०७ बुधबार


-600x400.jpg)

-600x400.jpg)
