लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ मिर्चेस्थित भित्री सडकखण्डमा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
क्व्होलासोथर गाउँपालिकाको भुजुङबाट बेसीसहरतर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जिप बिहान करिब १०:५० बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी क्व्होलासोथर गाउँपालिका–४ भुजुङ बस्ने ७४ वर्षीया मल कुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको छ हो।
घाइते गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा चिकित्सकले दिउँसो १२:५० बजे मृत घोषणा गरेका थिए।
जिपमा सवार १० जनामध्ये अन्य ७ जना घाइते भएका छन्। घाइते हुनेहरूमा क्व्होलासोथर–४ का ८० वर्षीय आईतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ र २७ वर्षीया स्मृति गुरुङ रहेका छन्।
त्यस्तै, बेसीसहर नगरपालिका-५ की २० वर्षीया कृपा गुरुङ, वडा नं-७ की ७ वर्षीया रितु गुरुङ, मर्स्याङ्दी गाउँपालिका-९ का ३१ वर्षीय आर्यन गुरुङ र मर्स्याङ्दी–२ घनपोखरा बस्ने ५० वर्षीया काली गुरुङ घाइते भएका छन्।
घाइतेहरूको टाउको, हात तथा खुट्टामा चोट लागेको र उनीहरूको हाल प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये कृपा गुरुङको अवस्था सामान्य छ भने अन्यको अवस्था मध्यम रहेको बताइएको छ।
प्रकाशित: २८ माघ २०८२ १४:३९ बुधबार





-600x400.jpg)