नेपाल सरकारको निर्णयअनुसार बिहीबारदेखि नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि राष्ट्रिय स्तरमा प्रतिबन्ध लगाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र सर्वोच्च अदालतको आदेश बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रिपरिषद्को निर्णयअनुसार यी प्लेटफर्महरू निष्क्रिय गरिएको हो। यस निर्णयले फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, रेडिट, स्न्यापच्याट, डिस्कर्ड, पिन्टरेस्ट, थ्रेड्स, विच्याट, क्वोरा, हाम्रो पात्रोलगायतका सामाजिक सञ्जालहरू नेपालमा प्रयोग गर्न नसकिने भएको छ।
वर्ल्डलिंक कम्युनिकेशन्स र क्लासिक टेकजस्ता प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सरकारको निर्देशन पालना गर्दै यी प्लेटफर्महरूको पहुँच बन्द गर्न थालेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिका, २०८० लाई आधार मानेर यो कदम चालिएको जनाएको छ। प्रतिबन्धमा परेका अन्य प्लेटफर्महरूमा सिग्नल, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मिवी, भिके, लाइन, आइएमओ, जालो र सोल समावेश छन्।



प्रकाशित: २० भाद्र २०८२ ११:३३ शुक्रबार





