कालीकोटको तिलागुफा नगरपालिकाले २२ सय घरधुरीमा चुलो वितरण गरेको छ। तिलागुफा नगरपालिकाको एकघर एक चुलो वितरण कार्यक्रमअन्तर्गत वडा नम्बर १, २, ३, ४, ५ र ९, १० र ११ वडामा सुधारिएको चुलो वितरण गरिसकेको छ।
तिलागुफा नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा २२ सय घरधुरीमा सुधारिएको चुलो वितरण गरिसकेको छ। तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्याय र नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले वडा नम्बर १ का ४ सय ७ घरका स्थानीयलाई निःशुल्क चुलो हस्तान्तरण गरे।
नगर प्रमुख शंकरप्रसाद उपाध्यायले सुधारिएको चुलोले धुवाँ कम गर्ने भएकाले आधुनिक चुलो प्रयोग गर्न स्थानीयलाई सुझाव दिए। निःशुल्क चुलो पाएपछि स्थानीय खुसी भएका छन्।
स्थानीय दुर्गा बुढाले सुधारिएको चुलोले अब आफूलाई सहयोग भएको बताइन्। उनले भनिन्, ‘यसअघि भान्सा गर्न समस्या हुन्थ्यो, अहिले सहज भएको छ।’ थोरै दाउरामा छिट्टै खाना पाक्ने भएकाले समय र दाउराको बचत यसको मुख्य फाइदा भएको उनको भनाइ छ। ‘भान्सा किन गर्नुपर्दो हो भन्ने हुन्थ्यो,’ उनले आफ्नो भान्साकोठा सुधारिएको चुलो बनाएदेखि चिटिक्क परेको बताइन्।
अब नगरपालिकाले वडा नम्बर ६, ७ र ८ मा सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिए। उनले भने, ‘२२ सय चुलो खरिदमा नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १ करोड ५६ लाखमा चुलो खरिद गरेर वितरण गरेको छ।’
प्रकाशित: ३२ असार २०८२ १२:४५ बुधबार





