१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकलाई उपाधि

तीन टोली आयोजक भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकले १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।

बुढानीलकण्ठ नगरपालिकास्थित भंगालमा सोमबार आफ्नै घरेलु कोर्टमा भ्याली पब्लिकले सिनियर गर्ल्समा उपाधि उचालेको हो। अन्य दुई विधामा टिआइए सिनियर ब्वाइज र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन भए। सिनियर गल्र्सको फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ५२–२७ ले हरायो।

भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ३० अंक जोडिन्। केभिकेएसएस तेस्रो हुँदा फेरिल्यान्डलाई  हरायो। सिनियर ब्वाइजको फाइनलमा टिआइएले न्युटनलाई ४९–३९ ले पराजित गर्‍यो। टिआइएका रोशन नगरकोटीले १७ स्कोर गरे। हेम्स तेस्रो बन्यो।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एन्जल्स हार्टलाई २९–२७ को साँघुरो अन्तरले हरायो। गोल्डेनपिकका अग्रज राईले १६ अंक जोडे। लालीगुराँस नेसनल एकेडेमी तेस्रो स्थानमा रह्यो। तीनै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

सिनियर ब्वाइजमा टिआइएका अविष्कार रोक्का, जुनियर ब्वाइजमा गोल्डेनपिकका अभिराज सिंह र सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन मोस्ट भेलुएबल प्लेयर घोषित भए। सिनियर ब्वाइजमा न्युटनका अनिश गुरुङ, जुनियर ब्वाइजमा लालीगुराँसका सुवास शाही र सिनियर गल्र्समा न्युटनकी दिप्सना सिंह ठकुरी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए।

सिनियर ब्वाइजमा हेम्सका आयुश रावल, जुनियर ब्वाइजमा एन्जल्स हार्टका रियान केसी र सिनियर गल्र्समा केभिकेएसएसकी मुस्कान लिम्बू उत्कृष्ट थ्री प्वाइन्टर चुनिए। सिनियर ब्वाइजमा रेडियन्ट रिडर्स, जुनियर ब्वाइजमा तेजस्वी एकेडेमी र सिनियर गल्र्समा नेक्ससले अनुशासित टोलीको ट्रफी पाए।

विजेतालाई केन्द्रीय प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगाना, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल एवं प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी संस्थापक सुनीता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारी र भ्याली पब्लिक स्कुलको व्यवस्थापन समितिकी सदस्य बबिता शेरचन गौचन लगायतले पुरस्कृत गरेका थिए।

गत मंसिर १९ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २७, जुनियर ब्वाइजमा र सिनियर गर्ल्समा समान २७ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १ पुस २०८२ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App