१९ कार्तिक २०८२ बुधबार
image/svg+xml ०:२५ पूर्वाह्न
समाज

हिरोसिमा इतिहास मात्र होइन, भविष्यको चेतावनी पनि हो

समाज

सन् १९४५ अगस्ट ६ र ९ मा हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारबाट दुई लाखभन्दा बढीले अप्राकृतिक मृत्युवरण गर्नुपरेको थियो। त्यस घटनामा हजारौं व्यक्ति गम्भीर घाइते भए। विश्वकै मानव इतिहासमा कालो दिनका रूपमा चित्रण गरिएको त्यस घटनाका कैयौं घाइते अझै पनि पीडादायक जीवन व्यतीत गरिरहेका छन्।

त्यसले विश्व सभ्यतालाई एउटा चिसो सन्देश त्यति बेलै दिएको थियो कि क्षणभरमै सम्पूर्ण सहर खरानी बनाउन सक्ने शक्ति अब मानिसको हातमा आउनुहुन्न। तर ८० वर्षपछि पनि त्यो दिनको सम्झना मानवीय चेतनामा कहाली लाग्दो छाप छाडिरहेको छ। किनकि आणविक हतियारबाट हुने बर्बादीको घटना देखेर पनि संसार सुध्रेको छैन। समृद्धिको बाटोमा हिँडेका भनिएका मुलुकले आणविक हतियार निर्माण गर्दै छन्। पृथ्वीमा मात्र होइन, अब उनीहरूको लक्ष्य आणविक हतियार अन्तरिक्षसम्म कसले पहिला लैजाने भन्नेसमेत योजना बन्न थालेको छ। साना मुलुक कसैले आणविक हतियार बनाउन युरेनियम जम्मा गर्‍यो भनेर बम हान्ने देशहरू आफू भने शक्ति प्रदर्शनको होडमा सामेल छन्।

अझ यसमा पनि पछिल्लो समय युक्रेन युद्धमा रुस र अमेरिकाबिच आणविक तनावको बादल मडारिएको छ। भारत–पाकिस्तानबिचको सम्भावित आणविक युद्ध टरे पनि यसको बादल एसियाको आकाशमा मडारिरहेको छ। यस्तो लाग्छ, हिरोसिमा र नागासाकी मात्र इतिहास होइनन्, भविष्यको चेतावनी पनि हुन्।

अहिले पनि परमाणु खतरा छ, बढिरहेको छ। आज विश्वका नौ वटा देशसँग १२ हजारभन्दा बढी आणविक हतियार छन्। यीमध्ये अधिकांश अमेरिका र रुससँग छन्। यद्यपि चीन, भारत, पाकिस्तान, उत्तरकोरियाजस्ता देशले पनि आफूलाई सशक्त बनाउँदै लगेका छन्।

तर धेरैले बुझ्नुपर्ने के हो भने हामी यस्तो हतियारको होडबाजीमा छौं, जसले हामी स्वयम्लाई समूल नष्ट गर्छ। ‘आणविक युद्ध कसैले जित्दैन। जसले पहल गर्छ, ऊ पनि हार्छ,’ प्राडा कमलकृष्ण श्रेष्ठले भन्छन्, ‘यी हतियारहरू केवल विनाशका लागि बनाइएका छन्।’

तर पनि हतियार प्रयोग गर्ने कारण र धम्की कमी हुने छाँट छैन। २०२२ मा सुरु भएको युक्रेन युद्धले फेरि एक पटक आणविक भयलाई उठाएको छ। लामो समयदेखि चलिरहेको युद्धमा युरोपियन देशले युक्रेनलाई सहयोग गरिरहेका छन्। यसमा अमेरिका पनि थपिने सम्भावना बढेपछि रुसले अनेकौं पटक ‘न्युक्लियर कार्ड’ खेल्ने धम्की दिएको छ। पछिल्लो समय त धम्की मात्र होइन, अमेरिका र रुसले पनडुब्बीहरूलाई रणनीतिक रूपमा तैनाथसमेत गरिसकेका छन्। रुसका राष्ट्रपति पुटिनले खुलेरै भनेका छन्, ‘हामीलाई खतरा भयो भने हामी चुप लागेर बस्दैनौं।’

भारत–पाकिस्तानको संवेदनशीलता पनि झनै डरलाग्दो छ। सन् १९९८ मा भारत र पाकिस्तानले आणविक परीक्षण गरेपछि यो क्षेत्र ‘न्युक्लियर जोन’ घोषित भयो। उनीहरूमाझ सन् १९९९ को कारगिल युद्ध, सन् २००१ र २००८ को आतंकवादी हमलाले सम्बन्ध खराब बनायो। कश्मीरको नृशंस हत्याकाण्डपछि त दुई देशबिचको अवस्थाले संसारकै मुटु कमाउन पुग्यो। यी सबै घटनामा आणविक युद्धको आशंका विश्वभर फैलिएको थियो। विगतमा पनि तत्कालीन प्रधानमन्त्री अटल विहारी वाजपेयीदेखि लिएर इमरान खानसम्मले खुला रूपमै आणविक शक्तिको उल्लेख गरेका थिए।

विगत र वर्तमान यस्तै चेतावनी र विरोधका स्वर माझ काठमाडौंमा बुधवार सम्पन्न ‘आणविक हतियारको विश्वव्यापी त्रासः विश्वशान्तिका लागि चुनौती’ नामक कार्यक्रममा सहभागी वक्ताहरूले हिरोसिमा–नागासाकी बमवारीलाई मानव सभ्यताको इतिहासकै सबैभन्दा ठुलो कलंकका रूपमा स्मरण गर्दै यसबाट शिक्षा लिनुपर्ने धारणा राखेका छन्।

नेपाल अफ्रो–एसियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा विश्लेषक, राजनीतिकर्मी, प्राध्यापक, कूटनीतिज्ञ लगायतका व्यक्तित्वहरू शक्ति राष्ट्रको उन्मादले मानवतालाई घात गरेको र भविष्यमा त्यो खतरा कायमै रहेकोतर्फ सचेत गराए।

परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठलेसंसारमा शक्ति प्राप्त गर्ने नसामा डुबेका राष्ट्रहरू कति हदसम्म क्रूर बन्न सक्छ भन्ने देखायो भन्दै यसको समाधानमा सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्ने बताए। भगवान् गौतमबुद्धको जन्मदेश हुनुका नाताले नेपालले शान्तिपूर्ण कूटनीतिको नेतृत्व गर्दै लुम्बिनीमा त्यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकतामा जोड दिए। एमाले नेता लालबाबु पण्डित आणविक हतियार थुपार्ने प्रवृत्तिलाई ‘शक्तिको उन्माद’सँग जोड्छन्। युद्धको नाममा मान्छे मार्ने मानसिकता अझै बाँकी रहेको उनी बताउँछन्।

काठमाडौंमा आयोजित कार्यक्रमका प्रमुख वक्ता तथा आयोजक संस्थाका अध्यक्ष कृपासुर शेर्पा बुद्धको देशका नागरिकका नाताले नेपालले उठाउँदै आएको सुनाए। उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लुम्बिनीलाई शान्ति केन्द्रका रूपमा प्रयोग गर्न आग्रह गरे। ‘जसरी हिरोसिमा शोकको प्रतीक भयो,’ उनी भन्छन्, ‘लुम्बिनी शान्तिको प्रतीक बनोस्।’

नेपालसँग आणविक हतियार छैन तर शान्तिका लागि उसको आवाज ठुलो हुनुपर्छ। बुद्धको देशका नाताले पनि यो देशको भूमिका ठुलो हुने कतिपयको भनाइ छ। विशेषतः बुद्धको देशको हैसियतले नेपालले बारम्बार संयमता, वार्ता र सहअस्तित्वको सन्देश दिन खोजेको छ तर यो मधुरो सात समुन्द्रपारि त परै जाओस्, छिमेकी मुलुकसम्म पनि पुग्न सकेको छैन।

आणविक हतियार बनाउने कतिपय देश प्रहार गर्नका लागि नभएर बचाउका लागि बनाएको दाबी गर्छन्। आणविक शस्त्र आज पनि राष्ट्र राष्ट्रबिचको शक्ति सन्तुलनको नाममा बनाइँदै छ। जतिसुकै प्रयोग गर्दिनँ भन्ने दावा गरे पनि यसको दुरुपयोगको खतरा कायमै रहन्छ।  

८० वर्षपछि पनि हिरोसिमाले हामीलाई सम्झाइरहेको छ कि मानवले आफैंलाई नष्ट गर्न सक्ने क्षमता राख्छ। त्यो क्षमता बुझेर मानवताले बाटो फेर्ने हो भने हामी अझ ठुलो विवेकको युगमा प्रवेश गर्न सक्छौं। हाललाई यस्तो सङ्केत देखिएको छैन।

विश्वमा सबैले शान्तिको दाबी गर्छन्। शान्तिको बखान गर्छन्। तर, विश्व युद्धको भुमरीमा अगाडि बढेको छ। मनमा आणविक युद्धको डर पालेर हामी हिरोसिमा घटनाको निन्दा गर्दै छौं। ‘सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन् तर पनि किन युद्ध हुन्छ? किन अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्व जगत्मा को पो होला र? ‘मेरा सोभियत सम्झनाहरू’का लेखक राम विन्दु श्रेष्ठ गम्भीर प्रश्न उठाउँछन्, ‘तथापि हाम्रै आँखाअगाडि इराक युद्धमा जल्यो, अफगानिस्तान भड्किरहेछ र आज विश्व युक्रेन द्वन्द्वसँगै पीडित छ।’

प्रकाशित: २४ श्रावण २०८२ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App