२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
राजनीति

गरिबी निवारण र सामाजिक समावेशीकरण लोकतन्त्रका आधारस्तम्भ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।

कतारको दोहामा मंगलबारदेखि सुरु भएको ‘दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन’ अन्तर्गतको एक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।

‘गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण अमूर्त आदर्श मात्रै होइनन्, शान्ति, सुव्यवस्था, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ पनि हुन्,’ राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण’ विषयक गोलमेचमा भने।

उनले विगत तीन दशकमा विश्वले उल्लेखनीय प्रगति हासिल गरे तापनि सामाजिक विकासका क्षेत्रमा गम्भीर चुनौतीहरू कायमै रहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराए।

राष्ट्रपति पौडेलले भने, ‘८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेका छन्, धेरै देशमा बेरोजगारी दर अझै उच्च छ, लाखौं मानिस मर्यादित कामको खोजीमा आफ्नो देश छोडिरहेका छन् तथा पूर्ण, समान एवम् अर्थपूर्ण समावेशीकरण र सहभागिता अझै प्राप्त हुन बाँकी छ।’

नेपालले गरिबी निवारणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले उद्यमशीलता विकाससहित स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रयास भइरहेको जानकारी दिए।

राष्ट्रपति पौडेलले सीप विकासमा लगानी गरी डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने नेपालको नीति रहेको उल्लेख गरे।

‘सामाजिक न्याय र समावेशीकरण हाम्रो संविधानको प्रमुख विशेषता हो। अनौपचारिक र स्वरोजगार कामदारहरूलाई समेत समेट्ने गरी हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिरहेका छौं,’ उनले भने।

यी नीतिहरूको सकारात्मक परिणाम देखिन थालेको बताउँदै उनले सार्वजनिक सेवा, शिक्षा लगायत सबै क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको तथ्यांक प्रस्तुत गरे।

यद्यपि, अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार्दै राष्ट्रपति पौडेलले भने, ‘यति हुँदाहुँदै पनि जीवनस्तर उल्लेखनीय रूपमा उकास्न, स्वदेशमै आकर्षक रोजगारी सिर्जना गर्न र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न थप कार्य गर्न आवश्यक छ।’

उनले सुदृढ लोकतान्त्रिक नीति, जवाफदेही संस्था र पारदर्शी सार्वजनिक सेवामार्फत सुशासन कायम गर्नुपर्नेमा जोड दिए।

विश्वव्यापी सहकार्यको आवश्यकता औंल्याउँदै उनले ‘एजेन्डा २०३०’ को तीव्र कार्यान्वयन गर्न र अति कम विकसित तथा जोखिममा रहेका मुलुकहरूलाई आवश्यक सहयोग गर्न विश्वव्यापी ऐक्यबद्धता सुदृढ बनाउनुपर्ने बताए।

‘हरित, डिजिटल र ज्ञानमा आधारित अर्थतन्त्रजस्ता उदियमान क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि नेपाल विश्व समुदायसँग हातेमालो गर्न तयार छ।’

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा आइपुगेका हुन्। उनी सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १८ कार्तिक २०८२ २२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App