२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
राजनीति

मन्त्री तथा सरोकारवालसँगको छलफलपछि सुहाङले भने: विपदपछिको इलामलाई उठाउन धैर्यता र सहकार्य आवश्यक

नेकपा (एमाले) नेता तथा विघटित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले बाढीपहिरोले प्रभावित इलाम जिल्लाको पुनःस्थापनाका कार्यहरू द्रुत गतिमा अघि बढिरहेको बताएका छन्।  

नेपाल सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको एक महिना बितिसक्दा पनि ठूला कामहरू नदेखिएको जनचासोका बीच उनले समग्र प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।  

नेता नेम्बाङले आइतबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हजुरहरूले व्यक्त गर्नुभएको असन्तुष्टि र चिन्तालाई म हृदयपूर्वक स्वीकार्दछु। धेरै कामहरू सतहमा नदेखिए पनि भित्री तयारी र प्रक्रियागत कामहरू अन्तिम चरणमा पुगेका छन्।’

उनका अनुसार हाल नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय, सबै राजनीतिक दलका जनप्रतिनिधि र सरोकारवाला निकायहरूले आ–आफ्नो स्तरबाट विपद् व्यवस्थापनका काममा निरन्तर प्रयत्न गरिरहेका छन्।

नेम्बाङले अर्थमन्त्री, सञ्चारमन्त्री, अर्थसचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (बिपद् प्राधिकरण) का अधिकारीलगायतसँगको छलफलपछि राहत र पुनःस्थापनाका कार्यमा देखिएको प्रगतिबारे पनि जानकारी दिएका छन्। उनका अनुसार अस्थायी आवासका लागि बजेट निकासाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने राहत वितरणका लागि बजेट मन्त्रिपरिषद् स्वीकृतिको अन्तिम चरणमा छ।

त्यस्तै, जिल्लामा ‘६०–५०–४०’ अनुपातमा बजेट वितरण गर्ने निर्णय भइसकेको र प्राथमिकता प्राप्त सडक तथा पुल पुनःस्थापनाको प्रक्रिया पनि अन्तिम चरणमा रहेको उनले बताएका छन्।

इलाममा अझै जोखिम टरेको नभएको उल्लेख गर्दै नेम्बाङले अस्थायी विपद् प्राधिकरण केन्द्र इलाममै स्थापना गर्न सुझाव दिएका छन्। उनले भने, ‘यसले कार्यहरू ढिलाइबिना, त्रुटीबिना र संयन्त्रगत रूपमा अघि बढ्न सहजता ल्याउनेछ।’

उनले विपद्–पछिको अवस्थामा सल्लाह, सुझाव, खबरदारीसँगै सकारात्मकता आवश्यक रहेको बताउँदै भने, ‘हामी सबैको भावना एउटै हो । मिलेर इलामलाई अझ सबल, सुरक्षित र समृद्ध बनाउने। तपाईंहाम्रो धैर्यता, एकता, सहकार्य र सहयोग नै हाम्रो सबैभन्दा ठूलो शक्ति हुनेछ।’

 

प्रकाशित: १६ कार्तिक २०८२ १८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App