२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
अर्थ

मंसिर २७ गते इतिहासकै ठूलो जनसभा गर्छाैं, जनता कसको साथमा छन्, देखाइदिन्छौं: पोखरेल

फाइल।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मंसिर २७ गते काठमाडौंमा नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गर्ने घोषणा गरेका छन्।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त जनसभा मार्फत् जनता कसको साथमा छन् भन्ने कुरा स्पष्ट पार्ने बताएका हुन्।

उनले भने, ‘मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा हामी काठमाडौंमा आयोजना गर्दैछौँ। र, हामी देखाउन चाहन्छौँ, जनता कसका साथमा छन्।’

महासचिव पोखरेलले जनता कहिल्यै पनि हिंसा, अराजकता र लुटपाटको पक्षमा हुन नसक्ने कुरामा जोड दिए।

साथै, पोखरेलले समाजमा बढेको असुरक्षा र अराजकताको मुख्य कारण नेपाल प्रहरीको मनोबल खस्किनु रहेको सुनाए।

उनले राज्यले सुरक्षाकर्मीलाई सुरक्षा दिन नसक्दा र उनीहरूमाथि आक्रमण गर्नेलाई दण्डित नगर्दा राज्य कमजोर हुने र कमजोर राज्यले नागरिकलाई कहिल्यै सुरक्षा दिन नसक्ने तर्क गरे।

‘आज समाजमा जुन प्रकारको असुरक्षा, भय र अराजकता छ, यो स्वभाविक रूपमा नेपाल प्रहरीको मनोबल खस्किँदाको परिणाम हो,’ उनले भने।

पोखरेलले सार्वजनिक रूपमा प्रहरीको हत्या गर्ने, नांगेझार पार्ने र हतियार लुट्ने जस्ता घटनाले प्रहरी संगठनलाई नै हतोत्साहित बनाएको उल्लेख गरे।

उनले यस्ता आपराधिक तत्वहरूलाई कारबाही नगरी र लुटिएका हतियार फिर्ता नल्याई शान्ति सुरक्षाको प्रत्याभूति हुन नसक्नेमा जोड दिए।

उनले सरकारले षड्यन्त्रपूर्ण तरिकाले जेल खाली गर्ने अभियान चलाएको र हजारौंको संख्यामा कैदीबन्दीहरू बाहिर निस्किँदा समाजमा आपराधिक घटना बढेको आरोप लगाए।

पोखरेलले भने, ‘पीडित पक्षहरू भयभीत भइरहेको अवस्थामा शान्ति सुरक्षाको अवस्था अत्यन्तै नाजुक बनेको छ।’

प्रकाशित: १७ कार्तिक २०८२ १४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App