२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
अर्थ

नेपालमा उत्पादित ‘फ्रेन्च फ्राइज’ पहिलोपटक अमेरिका निर्यात

सांकेतिक तस्बिर।

नेपालमा उत्पादित फ्रोजन फ्रेन्च फ्राइज पहिलोपटक संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ।

रुपन्देहीमा अवस्थित एक कम्पनीले उत्पादन गरेको ५४ लाख रुपैयाँभन्दा बढी मूल्यको फ्रेन्च फ्राइज मंगलबार भैरहवा भन्सार कार्यालयमार्फत अमेरिका पठाएको हो।

भैरहवा भन्सार कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार रुपन्देहीको फर्स्ट च्वाइस फुड्स प्रा.लि.ले उत्पादन गरेको ४३,५२० किलोग्राम (दुई कन्टेनर) फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको हो।

अमेरिकास्थित जेन्ट को एलएलसी (डीबीए टीसीएफ फुड्स) ले आयात गरेको उक्त उत्पादनको कुल मूल्य ३८,४८० अमेरिकी डलर (करिब ५४ लाख ८८ हजार रुपैयाँ) रहेको छ।

भन्सार कार्यालयले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ। अमेरिका जस्तो प्रतिस्पर्धी बजारमा नेपाली खाद्य वस्तुले प्रवेश पाउनुले नयाँ उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी बजारमा नेपाली फ्रेन्च फ्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनहरूको विश्वबजार विस्तारको ढोका खोल्नेछ।’

यसै अवसरमा भैरहवा भन्सार कार्यालयले निर्यात प्रवर्द्धनका लागि आवश्यक सेवा-सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजीकरणमा निरन्तर सुधार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

कार्यालयले निजी क्षेत्र, उत्पादनकर्ता तथा अन्य सम्बन्धित निकायहरूसँगको सहकार्यलाई भविष्यमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८२ २२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App