२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
राजनीति

हामीले खोजे जस्तो देश बनाउन सकेनौं, अब श्रमदानबाट बनाउनुपर्छ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विगतका आन्दोलन र संघर्षले जनताले चाहेको जस्तो देश बनाउन नसकेको बताउँदै अब श्रम र श्रमदानबाट मात्रै देश निर्माण सम्भव रहेको बताएका छन्।

सोमबार मोरङको लेटाङमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले नेता र कार्यकर्ताको सट्टा सबै नागरिक ‘श्रमदाता’ बनेर देश निर्माणमा जुट्नुपर्नेमा जोड दिए।

देशको विगतलाई सम्झिँदै उनले भने, ‘काटामार गरिरह्यौं हामी, एक अर्काको रगत बगाइरह्यौं। हामी मरिरह्यौं, हामीलाई मारिरहे,  तर हामीले खोजे जस्तो देश बन्न सकेन।’

उनले गरिबी र अभावका कारण नेपाली युवाहरू रोजगारीका लागि विदेशिनु परेको र बाकसमा लास बनेर फर्कनुपर्ने दुःखद नियति भोगिरहेको भन्दै आक्रोश व्यक्त गरे।

श्रम संस्कृतिको अवधारणा स्पष्ट पार्दै उनले आफ्नो अभियानमा कोही नेता वा कार्यकर्ता नहुने बताए। ‘श्रम संस्कृति पार्टीमा कार्यकर्ता हुँदैन, कोही कसैको कार्यकर्ता हुँदैन, यहाँ नेता पनि हुँदैन। हर्क साम्पाङ नेता होइन, हामी सबै श्रमदाता हौं,’ उनले भने।

उनले श्रम र श्रमदानबीचको भिन्नतालाई प्रष्ट्याउँदै भने, ‘श्रम मान्छेले पेटको लागि गर्छ, श्रमदान मान्छेले देशको लागि गर्छ। तपाईं आफूले भात खानको लागि श्रम गर्नुपर्दैन होला, तर यो देश बनाउनका लागि श्रमदान त गर्न सक्नुहुन्छ नि तपाईं !’

साम्पाङले समाजमा श्रम र श्रमिकलाई हेला गर्ने प्रवृत्तिको आलोचना गरे। ‘हाम्रो देशमा काम गर्ने मान्छेलाई हेला पनि गर्छन्। सुकिलो-मुकिलो पो हुनुपर्छ त, टिलिक्क परेको जुत्ता लाएर, कालो चस्मा लगाएर हिँड्नुपर्छ, हो त्योचाहिँ ठूलो,’ उनले व्यङ्ग्य गरे।

उनले काम नगरी गफ गरेर खाने प्रवृत्तिले नै भ्रष्टाचार जन्माउने तर्क गरे।

उनले पार्टी, जात वा धर्मका नाममा विभाजित नभई एकजुट भएर देश निर्माणमा लाग्न सबैलाई आह्वान गरे। ‘देश आफैं बन्दैन गाली गर्दै अरुलाई,’ उनले भने, ‘अब हामी मिलेर यो देशलाई बनाउनतर्फ लाग्नुपर्छ। श्रम संस्कृति महाअभियानमा हामी जोडिनुपर्छ।’

प्रकाशित: १८ कार्तिक २०८२ २१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App