जिल्ला अदालत सुनसरीमा चालु आर्थिक वर्षमा कुल पाँच हजार ९९३ मुद्दा फर्छ्यौट भएका छन् ।
चालु आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असार २५ गतेसम्म कुल दस हजार १६ मुद्दामध्ये अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका मुद्दामध्ये ६०.९२ प्रतिशत फर्छ्यौट भएका हुन् । जिल्ला अदालत सुनसरीका अनुसार विगतका वर्षका मुद्दा चार हजार १४६ र चालु आर्थिक वर्षमा पाँच हजार ८७० वटा मुद्दा दर्ता भएका छन् ।
चालु आर्थिक वर्षमा छ हजार २३९ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । अनुमानभन्दा कम मुद्दा परे पनि विगतका वर्षमा भन्दा यस वर्ष मुद्दा चाप बढी नै रहेको जानकारी दिइयो ।
चालु आर्थिक वर्षमा परेका मुद्दाको प्रकृति हेर्दा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी रहेका छन् । सम्बन्ध विच्छेदका घटना बढ्ने क्रमले अवस्था भयावह देखिएको छ । जसमा सम्बन्ध विच्छेदका एक हजार २१६ वटा मुद्दा दर्ता भएको जिल्ला अदालतका श्रेष्तेदार उपसचिव टेकेन्द्रबीर जंग राणाले बताए ।
सम्बन्ध विच्छेदका मुद्दामध्ये एक हजार २०० पछ्यौट भएका छन् भने अरु बाँकी छन् । ‘पछिल्ला वर्ष सम्बन्ध विच्छेदका मुद्दाका घटनाको ग्राफ वर्षेनी बढ्दो छ,’ राणाले भने ।
सम्बन्ध विच्छेदपछि लागूऔषधका मुद्दा दर्ता भएका छन् । जसमा एक वर्षको अवधिमा ४५१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएको मुद्दामध्ये २३७ वटा मुद्दा फर्छ्यौट भएको रेकर्डमा उल्लेख छ ।
लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ । सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन सहजै छ ।
लागूऔषधमा भारतबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले नाइट्राभेट ट्याब्लेट, गाँजा, ब्राउन सुगर, एभिल, लुपिजेसिक, डाइजेल्याब, नाइट्रेजापाम, स्पास्मोप्रोक्सिबन, स्पेस्पेन, ट्रामाडोल, हामाजोक, डाइलेक्स डिसि, फेनारागन, खैरो हिरोइनजस्ता लागूऔषधसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाउने गरेको छ । कोशी प्रदेशको पहाडी जिल्लाबाट गाँजा भने भारत लाने क्रममा प्रहरीले त्यसमा संलग्न गिरोहलाई पक्राउ गरी मुद्दा चलाउने गरेको छ ।
अदालतका अनुसार चालु आर्थिक वर्षमा बैङ्किङ कसुरका चार सय ४७ वटा मुद्दा दर्ता भएकोमा दुई सय ६३ वटा फर्छ्यौट भएका छन् । जर्वरजस्ती करणीका ८७ वटा मुद्दा परेकोमा ४० वटा फर्छ्यौट भएको रेकर्डमा उल्लेख छ । यस्तै, अंशसम्बन्धी २२९ वटा मुद्दा दर्ता भएकोमा ९७ वटा मुद्दा फर्छ्यौट भएका छन् ।
प्रकाशित: २९ असार २०८२ ११:५६ आइतबार





