जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) फाराम भर्न दिनुपर्ने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानाकर्षण गराएकी छन्।
राष्ट्रियसभा सदस्य साहले बाबुआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ता प्रमाणपत्र नहुँदा एसइई फाराम भर्न नपाएको सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गरिमाले यो विषयमा सभालाई जानकारी गराउन माग गरिन्। ‘जन्मदर्ता नभएकै कारण शिक्षा प्राप्त गर्ने मौलिक अधिकार हनन गर्नु राज्य अपराध हो,’ उनले भनिन्।
शून्य समयमा बोल्दै सांसद नरबहादुर विष्टले मेलम्ची खानेपानी आयोजनापछि पनि काठमाडौँमा खानेपानीको अभाव समाधान नभएकोतर्फ ध्यानाकर्षण गराए।
‘असार, साउन र भदौमा पानीको मुहान बढ्ने समय हो, तर काठमाडौँ खानेपानी आयोजना र संघीय सरकारको मिलेमतोमा पानी बन्द गरिन्छ,’ सांसद विष्टले भने, ‘काठमाडौँवासी शुल्क तिरेर पानी किन्न बाध्य छन्।’
सांसद नारायणदत्त मिश्रले रासायनिक मल खुला बजारमा ल्याउनुपर्नेमा जोड दिँदै मल वितरणमा अनियमितता भएकोतर्फ ध्यानाकर्षण गराए।
सांसद भुवनबहादुर सुनारले गत साउन २७ गतेको बाढीले बाजुरा जिल्लाको बिछ्यामा भएको क्षति र पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सभाध्यक्षमार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गराए।
शून्य समयमा बोल्दै सांसद युवराज शर्माले गरिबीको रेखामुनि रहेका नागरिकलाई रासन कार्ड दिएर सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउन सुझाव दिए।
सांसद राजेन्द्रलक्ष्मी गैरेले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहल गर्न माग गरिन्। इजरायल पुगेका विपिनका आमा र बहिनीलाई आवश्यक सहयोग र समर्थनका लागि पनि आग्रह गरिन्।
सांसद सुरेशकुमार आले मगरले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाउने चर्चाबारे धारणा राख्दै यस्तो प्रयास गर्न नहुने बताए। रासस
प्रकाशित: ३ भाद्र २०८२ १४:५० मंगलबार





