३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

रोल्पामा ४६.३९ प्रतिशत मतदान, मतगणना शुक्रबार बिहानदेखि

रोल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। जिल्लामा कुल ४६.३९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा रहेका १ लाख ४९ हजार ९७ मतदातामध्ये ६९ हजार ४ सय ८ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। निर्वाचनमा पुरुषको तुलनामा महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ। खसेको कुल मतमध्ये ३९ हजार १ सय १९ महिला र ३० हजार २ सय ८९ पुरुष रहेका छन्।

प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जिल्लाभर कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रूपमा मतदान सकिएको जानकारी दिए। उनले भने, ‘रोल्पामा शान्तिपूर्वक मतदान सकियो। रातिसम्म मतपेटिका सदरमुकाम आइपुग्छ। शुक्रबार बिहानैबाट मतगणना सुरु हुन्छ।’

मतगणनाका लागि रोल्पा सदरमुकामस्थित घरेलु तथा साना उद्योग कार्यालयमा आवश्यक तयारी पूरा गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मतगणना स्थलमा तारजालीको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

अहिले विभिन्न केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी छ।

बिहीबारको मतदानमा केन्द्रीय राजनीतिका शीर्ष नेताहरूले सहभागिता जनाए। पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले जिल्लाबाटै मतदान गरे। यस्तै, उम्मेदवार समेत रहेका पूर्वमन्त्री वर्षमान पुनले बालउदय मावि माडीचौर केन्द्रबाट मत खसालेका छन्।

यसपटकको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को मतदान चर्चामा रह्यो। विगत १८ वर्षदेखि चुनाव बहिष्कार गर्दै आएका उनले यसपटक रोल्पाबाटै मतदान प्रक्रियामा भाग लिएका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ २०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App