लमजुङमा ५३ प्रतिशत मत खसेको छ। मतदान प्रक्रिया सम्पन्न भएसँगै अहिले जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य धमाधम भइरहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा भएको मतदानमा ५३ प्रतिशत मतदाता सहभागी भएका छन्। अहिले सुरक्षाकर्मीको स्कर्टिङमा मतपेटिकाहरू सदरमुकाम बेसीशहर ल्याउने क्रम जारी छ।
पछिल्लो विवरण अनुसार हालसम्म १५ वटा मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् भने २२ वटा केन्द्रका मतपेटिका आउने क्रममा रहेका छन्।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले भौगोलिक रूपमा विकट र टाढा रहेका स्थानबाट टोली आउँदै गरेकाले सबै मतपेटिका सङ्कलन हुन रातिको ११ बज्न सक्ने बताएका छन्।
उनले भने, ‘अहिले मतपेटिका ओसार्ने काम भइरहेको छ। सबै टोली आइपुगेपछि सर्वदलीय छलफल गरेर के गर्ने भन्ने टुङ्गो लाग्छ। सम्भवतः आज राति वा भोलि बिहानबाट मात्र मतगणना सुरु हुने देखिन्छ।’
प्रकाशित: २१ फाल्गुन २०८२ २०:०६ बिहीबार





