कर्णाली प्रदेशमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ५५.१ प्रतिशत मत खसेको छ। प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार अधिकांश जिल्लामा आधाभन्दा बढी मतदाताले मतदानमा सहभागिता जनाएका छन् भने दुर्गम हिमाली जिल्लामा अपेक्षाकृत उच्च मतदान देखिएको छ।
निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार निर्वाचन क्षेत्रगत रूपमा हेर्दा सुर्खेत-१ मा १ लाख २२ हजार ९ सय २ मतदाता संख्या रहेकोमा ५७.०९ प्रतिशत अर्थात् ७० हजार १ सय ६७ मत खसेको छ। यस्तै, सुर्खेत-२ मा १ लाख २७ हजार ६ सय ६८ मतदाता संख्या रहेकोमा ५७.४६ प्रतिशत अर्थात् ७३ हजार ३ सय ५६ मत खसेको छ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा दुवै क्षेत्रमा मत खस्ने दर मध्यम देखिएको छ। दैलेख-१ मा ८१ हजार २ सय ८७ मतदाता संख्या रहेकोमा ५०.५२ प्रतिशत अर्थात् ४१ हजार ६९ मत खसेको छ भने ८१ हजार ५ सय ३ मतदाता संख्या रहेको दैलेख-२ मा ४८.२४ प्रतिशत अर्थात् ३९ हजार ३ सय २१ मत खसेको छ।
यस्तै १ लाख ८ हजार ४ सय ७९ मतदाता संख्या रहेकोमा ५६.८४ प्रतिशत अर्थात् ६१ हजार ६ सय ५७ मत खसेको छ। १ लाख ६४ हजार ६ सय ४८ मतदाता संख्या रहेको सल्यानमा ५१.१४ प्रतिशत अर्थात् ८४ हजार २ सय १ मत खसेको छ भने १ लाख ७ हजार ७ सय ४८ मतदाता संख्या रहेको रुकुम पश्चिममा ५८.४४ प्रतिशत अर्थात् ६२ हजार ९ सय ६८ मत खसेको छ।
कालिकोटमा ५० प्रतिशत मत अर्थात् ४२ हजार ५ सय २३ मत खसेको छ। यहाँ ८५ हजार ४४ मतदाता रहेका थिए। ७२ हजार ४ सय ४४ मतदाता संख्या रहेको जुम्लामा ५६.८८ प्रतिशत अर्थात् ४१ हजार २ सय ८ मत खसेको छ भने ३६ हजार ६ सय ५ मतदाता संख्या रहेको मुगुमा ६०.५६ प्रतिशत अर्थात् २२ हजार १ सय ६८ मत खसेको छ।
हिमाली जिल्ला डोल्पा र हुम्लामा भने मतदान प्रतिशत अन्य जिल्लाको तुलनामा उल्लेख्य देखिएको छ। डोल्पामा २५ हजार ५ मतदाता संख्या रहेकोमा ६५.७३ प्रतिशत अर्थात् १६ हजार ४ सय ३७ मत खसेको छ भने ३४ हजार ८ सय ५ मतदाता संख्या रहेको हुम्लामा ६४.५५ प्रतिशत अर्थात् २२ हजार ४ सय ६७ मत खसेको छ।
कर्णाली प्रदेशमा कुल १२ वटा निर्वाचन क्षेत्र रहेका छन्। प्रदेशभर ९ सय ५७ मतदानस्थल रहेका छन्, जसमध्ये ९ सय ४१ मतदानस्थल र १६ अस्थायी मतदानस्थल तोकिएका थिए। कर्णाली प्रदेशका १० वटा जिल्लामा निर्वाचन सम्पन्न भएको हो।
प्रदेशभर कुल मतदाता संख्या १० लाख ४८ हजार १ सय ३८ रहेको थियो। जसमध्ये पुरुष २ लाख ६४ हजार ६ सय ९५ जना र महिला तीन लाख १२ हजार ८ सय ४५ जना रहेका छन्। प्रदेशभर खसेको कुल मत ५ लाख ७७ हजार ५ सय ४२ रहेको छ।
भौगोलिक रूपमा दुर्गम र विकट मानिने कर्णालीमा पनि मतदाताको सहभागिता उल्लेखनीय देखिएको छ। हिमाली जिल्लामा उच्च मतदान दर देखिनुले निर्वाचनप्रति नागरिकको चासो र लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता झल्किएको देखिन्छ।
प्रकाशित: २१ फाल्गुन २०८२ २३:४० बिहीबार





