मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सबैभन्दा बढी मोरङ क्षेत्र नम्बर ५ मा र सबैभन्दा कम क्षेत्र नम्बर १ मा मत खसेको छ।
प्रशासनको तथ्यांक अनुसार क्षेत्र नम्बर ५ मा ७१.२८ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर १ मा ६०.३६ प्रतिशत मात्र मतदान भएको छ।
यस्तै, अन्य क्षेत्रहरूमा क्रमशः क्षेत्र नम्बर २ मा ६२.९७ प्रतिशत, क्षेत्र नम्बर ३ मा ६१.१७ प्रतिशत, क्षेत्र नम्बर ४ मा ६७.१५ प्रतिशत र क्षेत्र नम्बर ६ मा ६६.२३ प्रतिशत मत खसेको छ।
मोरङमा कुल ७ लाख ८३ हजार ५० जना मतदाता रहेकामा ५ लाख ५ हजार ५ सय १४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
जसमा पुरुषको तुलनामा महिला मतदाताको सहभागिता बढी देखिएको छ। खसेको मतमध्ये २ लाख ६२ हजार १ सय ९६ जना महिला र २ लाख ४३ हजार ३ सय १६ जना पुरुष रहेका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मतपेटिकाहरू मतगणना स्थलमा ढुवानी गर्ने कार्य भइरहेको जानकारी दिएका छन्।
उनले प्रक्रिया पुर्याएर बिहीबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी गरिएको बताएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १९:५१ बिहीबार





