रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकाहरूको जीवितै खबरको पर्खाइमा कर्णालीका दशवटै जिल्लाका परिवार छन्। बाढीले आफन्तसँगको सम्पर्क टुटाए पनि उनीहरूले आशा मारेका छैनन्। बेपत्ता भएका आफ्ना मान्छे जीवितै भेटिने विश्वास बोकेर आफन्तहरू कर्णालीबाट रसुवा, नुवाकोट लगायतका स्थानमा पुगेका छन्।
कर्णालीका विभिन्न जिल्लाबाट रोजगारी तथा अन्य कामका लागि रसुवा पुगेका आफन्त बाढीपछि सम्पर्कविहीन बनेपछि कर्णाली पनि शोकमा डुबेको छ। कोही श्रीमान्को पखाईमा छन्, कोही छोराछोरीको खबर कुर्दै छन्। परिवारका लागि हरेक फोनको घन्टी र आउने हरेक खबरले नयाँ आशा जगाइरहेको छ।
बाढीले आफन्तको अवस्था अज्ञात बनाए पनि परिवारको मनले अझै हार मानेको छैन। ‘कतै सुरक्षित ठाउँमा हुनुहुन्छ कि कुनै दिन फर्किएर आउनुहुन्छ कि’ भन्ने आशामै कर्णालीका बेपत्ता परिवारजन दिनरात बिताइरहेका छन्।
रसुवा र नुवाकोटमा आफन्तको खोजीमा पुगेकाहरूको आँखा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् भने कर्णालीमा रहेका परिवारको मन भने उनीहरूबाट आउने एउटा खबरको प्रतीक्षामा छ। बाढीले सम्पर्क तोडेको छ तर आफन्तको आशा अझै टुटेको छैन। भोटेकोसी बाढीमा सम्पर्कविहीन भएकाहरू जीवितै भेटिने आशामा यतिखेर आफन्त रसुवा, नुवाकोट, चितवन पुगेका छन्।
कालीकोटको नरहरिनाथ गाउँपालिका –१ का २८ वर्षीया अनिपाल विष्ट तीन वर्षदेखि रसुवाको अपर त्रिशूली– ३ हाइड्रोपावरमा सबइन्जिनियरमा कार्यरत थिए। बाढी आउनुअघि भदौ १० गते बिहान घरपरिवारको कुराकानीमा बिहान सर्भेको काम सकाएर काठमाडौं जाने तयारी गरेका थिए।
त्यसबेला आफू ठिकै रहेको बताएका विष्ट त्यसपछि भने परिवारको सम्पर्कमा छैनन्। उनका परिवारका सदस्य सम्भावित स्थानमा पुगेर आफन्तको खोजी गरिरहेको भए पनि परिवारले कुनै खबर पाउन सकेका छैनन्। नरहरिनाथ गाउँपालिका– १ का २४ वर्षीया धिरेन्द्र विष्ट पनि उनीसँगै बेपत्ता छन्। उनको साथमा रहेका एउटै गाउँका दुईजना बिहान ९ः२२ बजेदेखि सम्पर्कविहीन रहेको आफन्त जनक विष्टले जानकारी दिए। उनीहरूको खोजी भइरहेको छ।
पलाँता गाउँपालिका– २ का २२ वर्षीया लक्ष्मण परियार व्यापारका लागि भदौ ६ गते रसुवाको टिमुरे बजार पुगेका थिए। फेन्सी कपडा बेचेर घर खर्च चलाउँदै आएका उनी टिमुरे बजारबाटै बेपत्ता छन्। १० गते बिहान ८ बजेसम्म सम्पर्कमा रहेका उनलाई भोटेकोसी बाढीले बेपत्ता बनाएको उनका दाइ सुवास दमाईले बताए।
खाँडाचक्र नगरपालिका– ५ का २८ वर्षीया सरिता मल्ल रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे स्वास्थ्य चौकीमा विगत तीन वर्षदेखि अनमी पदमा कार्यरत थिइन्। भदौ १० गते गोसाइँकुण्ड घुम्न जाने तयारी थालेको समयमा टिमुरे स्वास्थ्य चौकीमा धेरै काम भएपछि सरिता मल्लले घुम्न नजाने निधो गरिन्। उनका साथमा रहेका चारमहिने छोरा काव्य शाही र २४ वर्षीया (नन्द) दुर्गा कुमारी शाहीसमेत बेपत्ता छन्।
दुर्गा काठमाडौंमा बसेर लोकसेवाको तयारी गरिरहेकी थिइन्। यता दाइको छोरा सानै भएकाले हेरचाह गर्न पुगेकी उनलाई पनि बढीले बगाएको हो। खोजी कार्य भइरहेको आफन्त प्रबलजंग शाहीले जानकारी दिए।
सरिताका पति कमलबहादुर शाही गोसाइँकुण्ड गाउँपालिकाको कृषि शाखा प्रमुखमा कार्यरत छन्। उनी भने घुम्न नजाने भएपछि साथीसँग ग्याम खेल्न भएका थिए। फर्कने क्रममा मोटरसाइकलबाट हामफालेर बाँच्न सफल भए। उनीसँगै रहेका साथीलाई समेत बाढीले बगाएको छ।
भोटेकोसी बाढीले धेरै परिवारलाई शोक, पीडा र अनिश्चितताको अवस्थामा पु¥याएको छ। बेपत्ता आफन्तको खोजीमा परिवारजन अस्पतालदेखि नदी किनारसम्म पुगिरहेका छन्। समय बित्दै जाँदा आशा कमजोर बन्दै गए पनि आफ्ना प्रियजन कतै जीवित भेटिने विश्वास उनीहरूले अझै त्यागेका छैनन्।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि जुम्लाका वरदान सेजुवालकी श्रीमती र ११ महिने छोरी सम्पर्कविहीन छन्। बाढीपछि श्रीमती ललितादेवी कुमाई र छोरी बरलिताको अवस्था अज्ञात छ।
काठमाडौंको ट्रमा सेन्टरमा पाँचौं तहकी स्टाफ नर्सका रूपमा कार्यरत ललिता काज सरुवामा रसुवागढी हेल्थ डेस्क, टिमुरे पुगेकी थिइन्। उनी भदौ ९ गते छोरीसहित कार्यक्षेत्र पुगेकी थिइन्। भोलिपल्ट आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।
श्रीमती र छोरीको खोजीका लागि वरदान दुईपटक बाढी प्रभावित क्षेत्रमा पुगिसकेका छन्, तर सात दिनसम्म पनि कुनै खबर पाउन सकेका छैनन्। २०७३ कात्तिकमा सरकारी सेवामा प्रवेश गरेकी ललिताको २०७५ वैशाख १५ गते वरदानसँग विवाह भएको थियो। मंगलबार छोरी बरलिताको पहिलो जन्म दिनसमेत परेको छ। ‘छोरी बरलिता, आज तिम्रो पहिलो जन्म दिन। हामी कुरिरहेका छौं’, वरदानले फेसबुकमा लेखेका छन्।
त्यस्तै भन्सारबाट आएका सामान नेपाली गाडीमा लोड गर्ने आएकी दैलेख डुंगेश्वर गाउँपालिका– ३ दैलेखकी पवित्राकुमारी बुढा मगर पनि बेपत्ता भएका छन्। सामान किनमेल गर्ने बजारमाथि पहिलो बजारमा बस्ने, स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुन्चे बजार हिँडेको आफ्नी बहिनी पवित्रालाई गाडीसहित बगाएको स्थानीयलाई उद्धत गर्दै आफन्त दीपेन्द्र थापाले बताए। ५ वर्षदेखि रसुवामा बस्दै आएकी पवित्रा बाढीले बगाउँदा बेपत्ता छिन्। बाहिनीको खोजी आफू त्रिशूलीका विभिन्न भागसम्म पुगेको थापाले बताए।
कर्णालीबाट १९४ जना अझै बेपत्ता
रसुवा जिल्लामा आएको बाढीका कारण कर्णाली प्रदेशबाट गएका तथा विभिन्न प्रयोजनले रसुवामा रहेका २ सय ७० जना आफन्तसँग सम्पर्कविहीन भएको तथ्यांक सार्वजनिक भएको छ। तीमध्ये ६९ जना पुरुष र पाँचजना महिला, एकजना बालक गरी ७५ जना आफन्तको सम्पर्कमा आइसकेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपछि सम्पर्कविहीन भएकामध्ये एकजनाको मृत अवस्थामा फेला पारिएको छ। सम्पर्कमा आएका र मृत अवस्थामा फेला परेका व्यक्तिलाई घटाउँदा १ सय ९४ जना अझै सम्पर्कमा आउन बाँकी रहेका प्रहरीले जनाएको छ।
तथ्यांकअनुसार सम्पर्कविहीन हुनेमा २ सय २९ पुरुष, ३३ महिला, पाँच बालक र तीन बालिका गरी २ सय ७० जना छन्। सम्पर्कमा आएकामध्ये ६९ पुरुष, पाँच महिला र एक बालक छन्। यस्तै, एकजना पुरूष मृत अवस्थामा फेला परेको जनाइएको छ।
सम्पर्कमा आउन बाँकी १ सय ९४ जनामा १ सय ५९ पुरूष, २८ महिला, ४ बालक र ३ बालिका रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) सन्तोषसिंह राठौरले सम्पर्कमा आउन बाँकी रहेका १ सय ९४ जनाको खोजी तथा पहिचानलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। उनका अनुसार सम्बन्धित परिवार र आफन्तबाट प्राप्त सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे यकिन गर्ने कार्य भइरहेको छ।
जिल्लागत रूपमा सबैभन्दा धेरै जुम्लाका १ सय १३ जना सम्पर्कविहीन भएका छन्। जुम्लाका ३२ जना सम्पर्कमा आए पनि ८१ जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, सल्यानका ५९ जनामध्ये ४ जना सम्पर्कमा आएका छन् भने एकजनाको मृत अवस्थामा भेटिएको छ। सल्यानका ५४ जना अझै सम्पर्कविहीन छन्। रुकुम (पश्चिम) का १९ जनामध्ये १० जना सम्पर्कमा आएका छन् भने ९ जना बाँकी छन्।
सुर्खेतका २० जनामध्ये ४ जना सम्पर्कमा आएका छन् भने १६ जना, दैलेखका ७ मध्ये २ जना सम्पर्कमा आएपछि ५ जना, जाजरकोटका ११ मध्ये ८ जना सम्पर्कमा आएपछि ३ जना अझै सम्पर्कविहीन छन्।
यस्तै, कालिकोटका ६ जना सबै अझै सम् पर्कविहीन छन्। मुगुका १९ जनामध्ये ८ जना सम्पर्कमा आएपछि ११ जना, डोल्पाका ४ मध्ये २ जना सम्पर्कमा आएपछि २ जना र हुम्लाका १२ मध्ये ५ जना सम्पर्कमा आएपछि ७ जना सम्पर्कविहीन छन्।
प्रकाशित: १७ भाद्र २०८३ ११:५५ बुधबार





-600x400.jpg)