२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनमा दाईको ५३ घार मौरी भाईले बिषादी छर्केर नष्ट गरिदिए

चितवनमा चराउन राखिएका मौरीमा बिषादी हालेको पुष्टि भएको छ। शुक्रबार कालिका नगरपालिका ९ स्थित शक्तिखोरका मौरीपालक किसान रणबहादुर थापाका ५३ घार मौरी नष्ट भएका थिए। रत्ननगर नगरपालिका १४ पिठुवा दोबाटे भन्ने स्थानमा राखिएका मौरीमा उनका भाई नाता पर्ने जीतेन्द्र थापाले बिषादी हालेर मारेको स्वीकार गरेका छन्। जीतेन्द्र उनका ठुला बुवाका छोरा हुन्।  

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार, उनीवरुद्ध जाहेरी समेत परेको छ। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। बिहिबार राती झार मार्ने बिषादी प्रयोग गरेर मारेको उनले स्वीकार गरेका छन्। जीतेन्द्र पनि मौरी व्यवसाय गर्दै आएका थिए। उनले पनि सोही स्थानमा मौरी चराउन राखेको बुझिएको छ। पहिले पारिवारिक रुपमा त्यस्तो बेमेल नभएको पिडित पक्षले बताएका छन्।  

मौरीमा बिषादी प्रयोग गरेको स्वीकार गरेपछि घर परिवार बसेर यस केश मिलाउने पक्षमा उनीहरु देखिएका छन्। तर, यसको विरोधमा चितवनका मौरीपालक किसानहरु उत्रिएका छन्। मौरीपालक महासंघका केन्द्रिय अध्यक्ष शिवप्रसाद पौडेलले जोसुकै भएपनि कारबाही हुनुपर्ने बताएका छन्। ‘यसपटक परिवार भित्रै यस्तो घट्ना होला। पछि अरुको घट्ना घट्दा के गर्ने?’ उनले भने, ‘दोषीलाई कानुन अनुसार कारबाही गर्नुपर्छ।’ दोषीलाई कारबाहीको माग गर्दै मौरीपालक किसानहरु इलाका प्रहरी कार्यालय रत्ननगरमा दबाव दिइरहेका छन्। पिडित पक्ष पारिवारिक बिषय भएको भन्दै मिलेर जाने पक्षमा छ।  

घटना भएपछि चितवन जिल्ला प्रशासन, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र परियोजनाको मौरी जोन सञ्चालक समितिको टोली दोषी पत्ता लगाउन जुटेका थिए। तर, पछि उनले प्रभा केसीको परिवारसंग आफैँ गएर गल्ति स्वीकारेको बताइएको छ।  

बिषादी प्रयोगको पुष्टि गर्न काठमाण्डौँको खाद्यय तथा गुण नियन्त्रण विभागमा नमुना पठाइएको छ। चराउन राखिएको मौरीको गोलामा बिष हालेर मार्नु किसानविरुद्धको अपराध भएको मौरीपालक महासंघले जनाएको छ। यसअघि चितवनबाट दाङमा चराउन लगिएका मौरीमा बिषादी प्रयोग गरिएको थियो। तर, चितवनमा ठुलो परिणाममा मौरीमा बिषादी राखेको पहिलो घट्ना हो।  चितवनका किसानले यहाँबाट दाङ, प्यूठान, रुपन्देही, कपिलबस्तु, लम्जुङ, रौतहट, सिराहा, सुनसरी लगायतका जिल्लासम्म मौरी चराउन लाने गर्दछन्।

प्रकाशित: १२ भाद्र २०७९ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App