नेपाल क्रिकेट संघ ९ क्यान ० को अग्रसरतामा यहिँ मङ्सिर १५ देखि पुसको ६ गतेसम्म चलेको क्रिकेटको नेपाल प्रिमियर लिगले राम्रो चर्चा पायो ।
नेपाल प्रिमियर लिगको उद्घाटन भएको दिनदेखि अन्तिम दिनसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दर्शकको उत्साहजनक साथको साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको क्रिकेटको राम्रो प्रचार भएको छ। यसरी नेपालमा खेल पर्यटनको सम्भावना र खेललाई कूटनीतिक रुपले कसरी प्रयोग गर्न सकिन्छ त्यसमा मैले यहाँ चर्चा गर्ने प्रयास गरेको छु ।
क्रिकेटको अर्थतन्त्र
क्रिकेटको विकास वेलायतबाट सुरु हुँदै अहिले भारतसहित पाकिस्तान, बंगलादेश, अमेरिका, क्यानाडा, अस्ट्रेलिया र वेष्ट इन्डिजले आ-आफ्नो राष्ट्रमा विदेशी खेलाडी निम्त्याएर लिग खेलाइरहेका छन्। नेपालमा पनि नेपाल प्रिमियर लिगभन्दा अघि नेपाल टी-२० लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग नभएका होइनन् तर खासै चर्चा पाउन सकेका थिएनन्।
भारतको इन्डिएन प्रिमियर लिगको सुरुवात सन् २००८ मा भएपछि क्रिकेटमा अलग्गै क्रेज बढाएको थियो। दक्षिण एसियामा क्रिकेटप्रति अलग्गै लगाव रहेको छ। आईपीएलले भारतको क्रिकेट बोर्ड बिसीसीआईलाई पनि आर्थिक रुपले सघाउने गर्छ भने अर्बौ खर्च गरेर अक्सन गर्दै देशी-विदेशी खेलाडी किन्ने गरिन्छ। हालै भएको अक्सनमा २७ करोड भारुमा एउटै खेलाडी ऋषभ पन्तलाई लखनउले किनेको छ। त्यसैगरी श्रेयस अयारलाई २६ करोड ७५ लाख भारुमा पन्जाब किंग्सले लिएको छ। बिसीसीआईले २०२३-२०२७ सम्म मिडिया अधिकारमात्र ५,९६३ करोड भारुमा भियाकम १८ लाई बेचेको छ। विश्व क्रिकेटको ८० प्रतिशत आम्दानी भारतबाट नै आउँछ भनिन्छ ।
सन् २०२४ मा भारतको आईपीएलको ब्राण्ड भ्यालू १०.७ अर्ब (१४ खर्ब ३० अर्ब) डलर पुगेको छ, अर्थात् नेपालको बार्षिक बजेटकै हाराहारीमा पुगेको छ। भारतको क्रिकेट बोर्ड बिसीसीआईले नेपाली एक खर्ब ५० अर्ब बढी कमाउने गर्छ। कुनै पनि राष्ट्रको खेलाडी भारतको आईपीएलमा अनुबन्ध हुनु र खेल्न पाउनु ठुलो कुरा हो। नेपालमा शिखर धवनले कर्णाली याक्सबाट एक खेलको ३० हजार डलर पाएका थिए । यद्यपि उनले एनपीएलमा ४ खेलमात्र खेले । क्यानले प्रतियोगिताभर टिकटबाटै ५ करोड भन्दा बढी कमाएको अनुमान छ।
हालै २०२४ मा भएको विश्वकप क्रिकेटमा ३४ हजार दर्शकले भारत र पाकिस्तानको खेल हेरेका थिए भने करोडौंले टिभीबाट । सो एकै खेलबाट लगानी उठाउने आश बताइन्छ। यी उदाहरणले क्रिकेटभित्रको अर्थतन्त्र देख्न सकिन्छ।
क्रिकेटले कूटनीतिक रुपमा राम्रो असर गर्छ। क्रिकेट कूटनीतिको अवधारणाले सन् १९८७ मा ध्यानकेन्द्रित गर्यो जब पाकिस्तानको राष्ट्रपति जनरल जिया अल हक दुई राष्ट्रबीचको क्रिकेट टेस्ट म्याच हेर्न अचानक भारत भ्रमणमा पुगे । उनको त्यो भ्रमण “शान्तिका लागि क्रिकेट” पहलको एक हिस्सा थियो। भारतले समेत यसको प्रयोग दुईपक्षीय सम्बन्ध सुधारमा गरेको थियो । सन् १९६५ र सन् १९७१ को युद्ध पछि भारत र पाकिस्तान दुवैले द्विपक्षीय खेल खेलेको थिएनन् ।
विभिन्न राष्ट्रको खेलाडी नेपाल निम्त्याएर राम्रो आतिथ्य सत्कार दिन सकेमा मात्र समेत त्यसले राम्रो सन्देश दिन्छ । अहिले नेपाली डायस्पोराको वृद्धि भएको छ। नेपाली डायस्पोराको शक्ति त यहिँ वर्ष अमेरिकामा भएको विश्वकप क्रिकेटमा ८ हजार दर्शकले रङ्गशालामा नेपालको खेल हेरेबाटै आश्चर्यचकित भएको थियो। क्रिकेटको माध्यमबाट अमेरिकामा रहेको नेपालीहरूको एकतालाई थप बलियो बनाउन यसले सहयोग गरेको थियो ।
अहिले नेपाली क्रिकेटको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षाक भारतका मोन्टी देशाई छन्। भारतको जय साह आईसीसीको अध्यक्ष बनेका छन्। उनी पहिला भारतको क्रिकेट बोर्ड बिसीसीआईको समेत अध्यक्ष थिए। उनी भारतको गृहमन्त्री अमित साहका छोरा समेत हुन्। यसरी नेपालले आगामी दिनमा क्रिकेटमा उनलाई विश्वासमा लिदै अन्तर्राष्ट्रिय खेलको आयोजना गर्न मेहेनत गर्न सक्नुपर्छ। हामीसँग अन्तर्राष्ट्रियस्तरको कम्तिमा १५ हजार बढी अट्ने तीन क्रिकेट रंगशालाको खाँचो छ। क्रिकेटको राम्रो समर्थकसमेत नभएको देशले पुर्वाधारमा लगानी गर्दा हामी पछि छौँ। पुर्वाधारमा भारतको साथ लिन सकिन्छ। अब अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन हामी सक्षम भएको छौं। अन्तर्राष्ट्रिय खेल खेलाउन सकेमा सफ्ट पावरसमेत बढ्छ । भारतसँग पनि छिमेकको रुपमा अझै नजिक हुन सकिन्छ।
खेल पर्यटनमा सम्भावना
यसपालीको नेपाल प्रिमियर लिगमा विभिन्न १६ देशका ४० भन्दा बढी विदेशी खेलाडीले आफ्नो खेल कौशल देखाउने चर्चा थियो। खेल खेल्न चर्चित नामहरु शिखर धावन, जिम्मी निसाम, मार्टिन गुप्तिल लगायत अमेरिकाका ५ र अन्य राष्ट्रका ३२ खेलाडी काठमाडौं आएका थिए । स्टार स्पोर्टसले आइपीएलका सबै खेलको प्रत्यक्ष प्रसारण समेत गर्यो । यसले गर्दा पहिलो संस्करणबाटै नेपाल प्रिमियर लिगको ब्राण्ड भ्यालु १० अर्ब भएको अनुमान गरिएको छ।
क्रिकेट हेर्नका लागी वेस्ट इन्डिजका पुर्वक्रिकेटर ब्रायन लारा आफ्नी छोरीसँग ३ दिनका लागिमात्र भएपनि नेपाल आएका थिए। उनले आफूले नेपाल क्रिकेटको विकासमा साथ दिन पहल गर्ने आश्वासन दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा नेपालबारे र सगरमाथा आधारशिविरमा गएर खिचेको तस्बिर पोष्ट गरेका थिए। यसले नेपाल र नेपाली क्रिकेटको श्रीवृद्धिमा इँटा भरेको छ । त्यस्तै शिखर धावनले समेत पुनस् नेपाल आउने भनेर फर्किएका थिए । क्रिकेटको कमेन्टेटर एन्ड्रयु लिओनार्डले हालैको अन्तरवार्तामा नेपाललाई माया गर्दै नेपाल आफ्नो दोस्रो घर भनेर भनेका थिए। यसरी विदेशी खेलाडी र प्रतिष्ठित व्यक्ति तान्न सकेको खण्डमा पर्यटनको राम्रो सम्भावना छ।
सन् २०२३-२०३२ लाई नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना घोषणा गरेको सरकारको योजनामा खेल पर्यटनले समेत राम्रो साथ दिन सक्छ। अन्तर्राष्ट्रिय खेलाडीलाई मात्र तान्न सक्ने हो र नेपाल प्रिमियर लिगमा आकर्षण वृद्धि गर्न सकेमा सन् २०३२ सम्म ३५ लाख पर्यटन भित्राउने सरकारको योजना सफल हुन समेत सक्छ। खेल हेर्नकै लागी पर्यटन आउने वातावरण बनाउन अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न होटेल र रंगशालाका साथै पुर्वाधारमा व्यापक सुधार लयाउन जरुरी छ ।
नेपाल प्रिमियर लिगमा ८ टिम सहभागी भएको र फरकफरक भौगोलिक क्षेत्रको प्रतिनिधित्व गरेको हुँदा समर्थकहरुले प्रादेशिक अपनत्व लिएको पाइन्थ्यो । लिगको फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा भएको थियो । दुवै प्रदेश नेपालको धेरै क्षेत्रमा पछाडी परेको तर खेलमा भने अगाडि आएको समय थियो। यधपि फ़ाइनलमा जनकपुर बोल्टसको समर्थकमाथि भएको दुर्व्यवहार, अराजक अपमानजनक शैली र हेपाहापनले भने निराश गराएको छ।
यसरी क्रिकेटबाट खेल पर्यटनको विकास र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपुर्ण योगदान गर्छ भन्ने देखिन्छ । क्रिकेटमात्र नभएर अन्य खेल क्षेत्रमा गरिएको लगानीले भविष्यमा देशको अर्थतन्त्रमा राम्रो प्रभाव पार्नेमा बिश्वस्त हुन सकिन्छ।
(लेखक रितेश पन्थी बिएएलएलबीको पाचौं वर्षमा अध्ययनरत छन् ।)
प्रकाशित: २३ पुस २०८१ १४:२८ मंगलबार