रौतहट सदरमुकाम गौर नगरपालिका २ मा रहेको पुरानो बानेश्वरनाथ महादेव मन्दिरको परिसरमा करिब सात सय वर्ष पुरानो संरचना भेटिएको छ । पुरातत्त्व विभाग र गौर नगरपालिकाको समन्वयमा भइरहेको उत्खनन तथा अध्ययनको क्रममा चालिस इन्च चौडा गारो भएको घरको संरचना फेला परेको दाबी गरिएको छ ।
पुरातत्त्व विभागका पुरातत्वविद देवेन्द्रनाथ तिवारीको नेतृत्वमा गत दुई हप्तादेखि गरिरहेको अध्ययन, अनुसन्धान तथा उत्खननको क्रममा शताब्दियौँ पुरानो संरचना फेला परेको हो । पुरातत्वविद तिवारीले नेपालमा पहिलो पटक इँटामा मानिसको हातको औँलाको छाप भएको चिन्ह भेटिएको बताएका छन् । तिवारीले भने,'नेपालकै लागि यो एउटा उपलब्धि हो । अहिलेसम्म नेपालमा आफूले कुनै पनि संरचनामा नदेखेको कुरो यहाँ देखिएको छ ।'
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले विगत दुई वर्षदेखि पुरातात्त्विक विभागमा उत्खननका लागि औपचारिक प्रयास गरेका थिए । नगरपालिकाकै लगानीमा पुरातत्त्व विभागद्वारा अध्ययन तथा उत्खनन भइरहेको छ ।
उत्खनन गर्दा सिमरौनगढकै राजाको समयका इँटाहरू प्राप्त भइरहेको बताइएको छ । स्थानीयले पनि राजा सेवई सिंहको पालाको महादेव मन्दिर रहेको बताउने गरेका छन् । मन्दिरको ऐतिहासिकताको विषयमा ठोस कुरा जान्नुपर्ने माग उठेपछि नगर परिषदबाट पास गराएर नगर प्रमुख साहले औपचारिक अनुसन्धान थालेका छन् ।
पुरातात्त्विक विद देबेन्द्र तिवारीले हाम्रो उत्खननमा धेरै महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त भएको बताए । चार फिट तल उत्खनन गर्दा गारो फेला परेको छ । त्यसमा प्रयोग भएको इँटा २८ सेन्टिमिटर लम्बाई, २० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको जानकारी दिँदै यो इँटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका झण्डै सात सय बर्ष पुरानो इँटा रहेको उनले स्पष्ट पारे ।
मन्दिरको पछाडि विश्वकर्मा मन्दिरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिनसम्म खास केही नभेटिएको तर त्यसपछि महत्त्वपूर्ण अवशेषहरू भेटाउन थालेको उनले बताए । बाटो छेउमा खन्दा माटोका पुतलाहरू प्रशस्त पाइएकाे र मन्दिरको पूर्व तर्फ अगाडी पटी चार फिट खन्दा सात सय बर्ष पुरानो इँटाले बनाइएको गारो भेटिएको बताए ।
प्रकाशित: २३ पुस २०८१ १४:३८ मंगलबार