२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

निकटस्थहरूले नै गरे ओलीको आलोचना

आइतबारयता जारी केन्द्रीय कमिटी बैठकमा नेकपा (एमाले)का नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार नै राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। यसपछि नेताहरूले धारणा राख्ने क्रम सुरु भएको हो।

तर, यसपटकको एमाले केन्द्रीय कमिटी बैठक सदाका भन्दा थोरै फरक छ। यसपटक अध्यक्ष ओलीका आफ्नै निकटस्थहरूले आलोचना गरिरहेका छन्।

नेता कर्ण थापाले नेतृत्वले कार्यशैली सुधार्नुपर्ने सुझाव दिएका छन्। यही पारामा अगाडि बढ्ने हो भने आउँदो आवधिक निर्वाचनमा ०६४ को जस्तो नतिजा पार्टीले बेहोर्नुपर्ने हुनसक्ने भनाइ नेता थापाको छ।

थापाको भनाइलाई उद्धृत गर्दै एक नेताले भने, 'नेतृत्वसँगै सबै नेताहरूले शैली सुधार गर्नुपर्ने छ। पार्टीविरुद्धका गतिविधिहरू स्वीकार्य हुँदैन।'

यस्तै अर्का नेता कृष्णगोपाल श्रेष्ठले पनि अध्यक्ष ओलीको कार्यशैलीका प्रति व्यङ्ग्य कसे। उनले आफूले बोल्दा पार्टीलाई 'ठूलो क्षति' हुने बताएका थिए। 'क्षति हुन्छ भने किन म बोल्ने। त्यसैले म धेरै बोल्दिनँ,' उनले भने।

अर्का नेता महेश बस्नेतले पार्टीलाई थप सुदृढ बनाएर लानुपर्ने धारणा राख्दै त्यसमा नेतृत्वले सबै नेताहरूलाई साथमा लिएर हिँड्न सक्नुपर्ने बताए।

त्यसो त उल्लिखित तीन नेताहरू कुनैबेला अध्यक्ष ओलीका 'दायाँ हात' थिए। तर, यो केन्द्रीय कमिटी बैठकसम्म आउँदा भने तिनै नेताहरूले ओलीका प्रति आलोचना गर्न थालेका हुन्।

धेरै नेताहरूले बैठकको पूर्वसन्ध्यामा पार्टीबाट कारबाही गरिएका तीन नेताहरू डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको पक्षमा आवाज उठाइरहेको ती नेताको भनाइ छ। नेताहरूले धारणा राखिरहँदा ओली गम्भीर भएको पनि ती नेताले बताएका छन्।

प्रकाशित: २३ पुस २०८१ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App