२५ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा नेपाल–भारत र चीनका पर्यटन व्यावसायी जुट्दै

<br>

पोखरामा हुने एक्पोका लागि परिषद् र पाटाका पदाधिकारीबीच भएको सम्झौता देखाउँदै। तस्बिरः नागरिक

पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि पोखरामा तीनवटा मुलुकका पर्यटन व्यावसायी जुट्ने भएका छन्। पोखरामा आगामी फेब्रुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) मा तीनवटा मुलुकका पर्यटन व्यावसायी सहभागि हुनेछन्।  

उक्त कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् बीच व्यवस्थापन सम्झौता समेत भएको छ। परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार नेपाल, भारत र चीनका १ सय २० वटा व्यापारिक समूह पोखराको उक्त एक्स्पोमा सहभागि हुनेछन्।  

‘नेपाल, भारत र चीनका व्यावसायीबीच पोखरामा व्यावसायिक जमघट (बिटुबी) हुनेछ । यसले पर्यटन प्रर्वद्धनमा सघाउ पुग्नेछ,’ पहारीले भने, ‘पोखरामा हुने यो जमघटमार्फत पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ।’ उनका अनुसार तीनवटा मुलुकका ४० वटाका दरले व्यावसायी सहभागि हुनेछन्।

‘एउटै देशबाट २ सयको हाराहारीमा व्यावसायी सहभगि हुन चाहेका थिए। तर, ती मध्ये उत्कृष्ट ४० वटाका दरले छानेर यो एक्स्पोमा सहभागि गराइनेछ,’ पहारीले भने। यो छलफल कार्यक्रममा व्यावसायी मात्र नभई विभिन्न मुलुकका पर्यटन क्षेत्रका विज्ञहरु पनि जुट्नेछन्।  

‘एक्स्पोका सहभागि कुनै एउटा व्यावसायीक संस्थाले कम्तिमा ३० वटा अरु कम्पनिसँग भेटघाट गर्नुपर्नेछ । भारत र चीनलाई नेपालको पर्यटन बेच्ने गतिलो अवसर जुटेको छ,’ उनले भने, ‘कम्तिमा ३० वटा व्यावसायीसँग भेट्नैपर्ने बाध्यताले गर्दा यो भेटघाटको विशेष अर्थ रहन्छ।’ नेपालका लागि भारत र चीन पर्यटनका गतिला श्रोत बजार हुन्। दुवै श्रोतबजारका उच्चस्तरका व्यावसायिक कम्पनिमार्फत बजारीकरण गर्न पाउँदा त्यसको बढी लाभ नेपालले पाउने उनले बताए।  

पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ मा ३ लाख १७ हजार ७ सय ७२ जना भारतीय पर्यटक आएका थिए। त्यस्तै १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पाहुना सन् २०२४ मा नेपाल भित्रिएका थिए। ‘तीनवटा मुलुकका पर्यटन क्षेत्रका अगुवा व्यावसायीको पोखरामा भेला हुँदा त्यसले पर्यटन क्षेत्रमा ठूलो अर्थ राख्छ। नेपालले भारत र चीनको बजारमा प्रर्वद्धन गर्ने अवसर पाउनेछन।

एक्स्पोमा सहभागि हुने व्यावसायीमार्फत बजारीकरण गर्दै भविश्यमा थप पर्यटक भित्र्याउन सहज हुनेछ,’ उनले भने। उनका अनुसार होटल, ट्राभल, ट्रेकिङ लगायतका पर्यटन क्षेत्रका व्यावसायी यो व्यावसायीक मेलामा सहभागि हुनेछन्। ‘बिटुबीमार्फत बजारीकरण गर्ने अवसर जुट्नेछ। यसले पर्यटन प्रर्वद्धनमा सघाउ पुग्नेछ,’ उनले भने।  

पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालासँगको सहकार्यमा यो एक्स्पो गर्न थालेको हो। पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र परिषद्का तर्फबाट परिषद्का अध्यक्ष तारानाथ पहारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सरोकारवाला व्यक्ति एवं निकायको आपसी अनुभवको आदानप्रदानका साथै नेटवर्किङ र व्यापार अवसरको सुविधाको लागि एक्स्पो महत्वपूर्ण माध्यम हुने सम्झौतापत्रमा उल्लेख छ।

दुई उदीयमान अर्थतन्त्र र पर्यटनका केन्द्र जस्तै रहेका भारत र चीनलाई एकै ठाउँमा ल्याएर नेपालसँगको पर्यटन सम्भाव्यता र व्यवसायिक अवसरलाई प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य हुने भनिएको छ। कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा तीन देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने पनि सम्झौतमा भनिएको छ।  

प्रकाशित: २४ पुस २०८१ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App