२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय रुटमा यातायात व्यवसायीको लुट

जिल्लाभित्र चल्ने साना सार्वजनिक सवारी साधनले यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुल्ने गरेका छन्। जीप व्यवसायीले बढी भाडा लिन थालेपछि यात्रुलाई समस्या पर्न थालेको छ। तोकेको भाडादर भन्दा कयौं गुना बढी रकम असुल गर्दा पनि नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय निरीह जस्तै भएको छ।

जिल्लामा चल्ने जीपले तेलको भाउ बढेको भन्दै मनपरी भाडा लिँदै आएका छन्। जिल्लामा छोटो दुरीमा चल्ने जीपहरुले मनोमानी भाडा असुल गर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन्। जीप व्यवसायीहरुले अहिले सतबाँझदेखि गोठलापानीसम्म अढाइ सयदेखि तीन सयसम्म भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ। कच्ची सडकमा मात्र होइन पिच सडकमा पनि बढी भाडा लिने गरेको पाटन नगरपालिका–६ का लक्ष्मीदत्त पाण्डेयले बताए।

गोठलापानी बजारबाट नेपाल–भारत सीमानाका झुलाघाटको दूरी १९ किलोमिटर छ। यो सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन्। पक्की सडकको भाडा भने २५० रुपैयाँ छ। पहिला नै बार्गेनिङ गरेर यति दिए मात्रै जान्छौँ नत्र जाँदैनौं भनेर जीप व्यवसायीहरुले भन्ने गरेको यात्रुहरुको गुनासो छ। यस्तै जिल्लाको पाटन–मेलौली सडकखण्डमा पनि मनपरी भाडा असुल्ने गरिएको छ।

पाटनदेखि मेलौलीसम्म ३४ किलोमिटर पक्की सडक छ। तर मेलौलीसम्म जिप व्यवसायीले ५ सयका दरले भाडा असुल्ने गरेका छन्। पहिला बार्गेनिङ मात्रै यात्रुहरुलाई बोक्ने गरिएको  मेलौलीका स्थानीय लक्ष्मण बिसीले बताए। यस्तै मेलौलीदेखि पञ्चेश्वरसम्मको २६ किलोमिटर सडकमा पनि मनपरी भाडा असुल गर्ने गरिएको छ। मेलौलीदेखि पञ्चेश्वरको ५ सय भाडा लिने गरिएको छ।

यसरी पाटनदेखि पञ्चेश्वर सम्मको भाडा तराई पुग्ने भाडा भन्दा बढी असुल गर्ने गरिएको छ। धनगढी–बैतडी भाडा साढे ८ सयसम्म छ तर पाटनदेखि पञ्चेश्वरको भाडा एक हजार तिर्नु परेको पञ्चेश्वर गाउँपालिका–४ का शंकरदत्त  भट्टले बताए।

ढोल्यामोडदेखि हाटसम्म १९ किलोमिटरमा ५ सय भाडा छ भने सतबाँझदेखि सुर्नयाको भाडा पनि ५ सय भाडा असुल्ने गरिएको छ। ३२ किलोमिटर लामो दशरथचन्द नगरपालिकाको देहिमाण्डौ–गिरेगडा सडकको भाडा ५ सय रुपैयाँ छ। इन्धनको मूल्य बढेको भन्दै सवारीधनीहरूले मनोमानी भाडा लिने गरेको दशरथचन्द नगरपालिका–९ की पशुपति जोशीले बताइन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने महँगो भाडाका विषयमा गुनासो नआएको बताए। जिल्लामा भाडादर भन्दा बढी असुल गरेको पाइएमा कानुन अनुसार कारबाही हुने उनले बताए। उनले भने ‘भाडाका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर व्यवस्थित बनाउने प्रयास गर्छौं। यातायात व्यवसायीका प्रतिनिधि सहितको बैठक बसेर छलफल गर्छौं।’

जिल्ला प्रशासन कार्यालयले भाडादर र सवारी मापदण्ड पालना भए नभएको बारे नियमित अनुगमन गरिने र कसैले मनपरी गरेको पाइएमा ठाउँको ठाँउ कारबाही गरिने बताए पनि हालसम्म न कतै अनुगमन गरिएको छ नत कसैलाई कारबाही नै भएको छ।

प्रकाशित: २३ श्रावण २०७९ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App