१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अझै घटेन महिला हिंसा

फाइल तस्बिर

गत वर्ष साउनमा रोल्पा नगरपालिकाको बजार क्षेत्रमै एक महिलालाई बोक्सी आरोपमा दुव्यवहार गरियो। स्थानिय धामीले भनेको भरमा उक्त अपराध घटेको थियो। २०७८ साउन ४ गतेको घटना स्थानीय भलादमीले मिलाउन नसकेपछि १२ गते प्रहरीमा उजुरी पर्‍यो। पक्राउ परेकालाई रोल्पा अदालतले ५ हजार धरौटी लिएर छाडेको प्रहरीले अभिलेखमा छ।  

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय रोल्पामा ८७ वटा घरेलु हिंसाको उजुरी परेको छ। तथापि योभन्दा दोब्बर घटना स्थानीय तहका न्यायिक समिति र गाउँघरका भद्र भलादमीको आँगनमा पनि मेलमिलाप हुने गर्छन्। प्रहरीका अनुसार शंका गर्ने, पिट्ने, गाली गर्ने, पालनपोषण नगर्नेजस्ता घटना प्रहरीकोमा आउने गरेको हो। प्रहरीकोमा आउने कतिपय उजुरी बालविवाहको परिणाम हुन् भने अधिकांश कारण मदिरा रहेको देखिन्छ। अन्य कारण बेरोजगरी, गरिबी र बेमेल पनि रहेका छन्।

रोल्पा प्रहरीको तथ्यांकअनुसार यो वर्षको १२ महिनामा ४८ बालबालिका हराएका छन्। हराएकामध्ये अझै पनि १६ जनाको अवस्था अज्ञात छ। प्रहरीका अनुसार अधिकांश बालबालिका विद्यालय छाडेर मजदुरीका लागि काठमाडौंका इँटाभट्टा जाने गर्छन्। प्रहरीको तथ्यांकअनुसार बितेको एक वर्षमा १९ वटा जबर्जस्ती करणीका मुद्दा परेको छ भने दुईवटा जबर्जस्ती करणी उद्योगका मुद्दा छन्। जबर्जस्ती करणीको दर हरेक वर्ष बढेको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा १७ वटा मुद्दा रहेकोमा २०७६/७७ मा १४ वटा मुद्दा दर्ता थियो। अघिल्लो वर्षमा आठवटा मात्र मुद्दा दर्ता भएका थिए। 

जिल्लामा व्याप्त बालविवाहको परिणाम र मदिराका कारण रोल्पामा घरेलु हिंसा घट्न नसकेको प्रहरीको बुझाइ छ। रोल्पा प्रहरी प्रमुख डिएसपि विनोद घिमिरे भन्छन्, ‘रोल्पामा घरेलु हिंसाको मुख्य कारण मदिरा सेवन हो। त्यसैगरि बालविवाह र वैदेशिक रोजगारी दोस्रो ठुलो कारण हो।’ स्थानिय सरकारले आउँदा दिनमा मदिरा प्रयोगमा नियन्त्रण गर्दै बालविवाह न्यूनीकरण र रोजगारीमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ 

प्रकाशित: ८ श्रावण २०७९ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App