२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

दमकल किन्नमा कसैको चासो छैन

पोखराबाट आगो निभाउन दमौली पुगेका पोखरा महानगरपालिकाका दमकल। तस्बिरः नागरिक

केहीदिन अघि मात्रै तनहुँको सदरमुकाम दमौलीमा आगलागी भयो। छिमेकी नगरपालिका शुक्लागण्डकीमा बारुण यन्त्र(दमकल) नै थिएन्। आगो नियन्त्रण गर्न दुईवटा दमकल पोखरादेखि पुग्यो। पोखरादेखि ४९ किलोमिटरको दुरीको दमौलीमा पुग्दा आगोले धेरै लपेटिसकेको थियो। 

सबैको प्रयासले आगो नियन्त्रणमा आयो। छिमेकी नगरपालिकामा दमकल भईदिएको भए भौतिक क्षति कम हुने थियो। शुक्लागण्डकीमा मात्रै होईन अर्को छिमेकी नगरपालिका भीमादमा समेत दमकल छैन।  

‘शुक्ला गण्डकी र भीमाद नगरपालिका दमकल छैन। दमकल भईदिएको भए दमौलीको आगो निभाउन पोखरादेखि दमकल आउनुपर्ने थिएन,’ शुक्ला गण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले भने, ‘पोखरादेखि आउने समयमा यताबाट पुगेर नियन्त्रण गर्न सकिन्थ्यो। क्षति कम हुन्थ्यो। तर दुर्भाग्य हामीसँग दमकल नै थिएन् र छैन।’  

दमौलीको घटनापछि दमकलको आवश्यकता महशुस गरिएको उनले बताए। यद्यपी भवितव्यमा मात्रै प्रयोगमा आउने भएकोले खासै ध्यान नगएको उनको भनाई थियो। ‘घटनापछि मात्रै सोच आउँदो रहेछ नत्र नआउँदो रहेछ,’ प्रवक्ता कुमालले भने ‘दमकल खरीद गरेर सेनालाई सञ्चालन गर्ने दिने कि भनेर छलफल गरिएको छ।’ दमकल मात्रै नभई आवश्यक जनशक्तिको समेत अभाव रहेको उल्लेख गर्दै सञ्चालन गर्न नेपाली सेनाको ३ नं बाहिनीलाई दिने तयारी गरिएको उनले बताए। उनका अनुसार शुक्लागण्डकी, भीमाद नगरपालिका र म्याग्दे गाँउपालिका मिलेर दमकल किन्ने विषयमा छलफल भईरहेको छ।  

गोरखाको पालुङटार नगरपालिकामा पनि दमकल छैन। गोरखा नगरपालिका समेत भएको एउटा दमकल थन्किएको छ। ‘खरीद गर्न भन्दा पनि व्यवस्थापनमा कठिनाई देखिएको छ। जनशक्ति अभावसँगै व्यवस्थापन गर्न समस्या देखियो,’ पालुङटार नगरपालिका गोरखाका मेयर दिपकबावु कडेंलले भने, ‘अन्य पालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने सन्दर्भमा छलफल चलेको छ।’ दमकल सञ्चालनको लागि ८ जना जनशक्ति आवश्यकता पर्ने भन्दै मेयर कडेंलले सहकार्य गरेर दमकल खरीद गरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेना तथा शसस्त्र प्रहरीलाई दिने छलफलमै रहेको स्पष्ट पारे। उनले स्थानीय तह बीच सहकार्य हुनै नसकेको गुनासो समेत गरे।  

वर्षेनी आगजनीका घटनाहरु दोहोरिने भएपनि छिटो नियन्त्रण गर्न नसके ठूलो भौतिक क्षतिको सामना गर्नुपर्छ। अग्नि नियन्त्रण गर्ने दमकल अत्यावश्यक छ। विपद व्यस्थापनमा खासगरी ध्यान कमै मात्रै जाने गरेको छ। घटना घटेर क्षति भईसकेपछि मात्रै सचेत बन्ने प्रवृत्ति छ। ‘दमकल आवश्यक पर्यो भनेर कुनैपनि पालिकाले बजेट चाहियो भन्दै प्र्रस्ताव गरेको मेरो दिमागमा छैन,’ गण्डकी प्रदेशका शहरी विकास एवं भौतिक पूर्वाधार योजना मन्त्री कुमार खड्काले भने, ‘स्थानीय तहले प्रस्ताव गर्यो भने प्रदेश सरकार सहकार्य गर्न तयार छ।’  

पोखरा महानगरपालिकासँग दुईवटा दमकल छन्। प्रदेशका अन्य नगरपालिकासँग केहीमा दमकल छन्। केही नगरपालिकामा दमकल भने छैनन्। ‘विपद व्यवस्थापनको लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ राखेको छ । प्रदेशले नै दमकल राख्ने हो भने डुब्लिकेशन हुन्छ। पालिका आफैंले राख्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्म दमकलको लागि प्रस्ताव आएको छैन्। सहकार्य भएको पनि छैन्।’ उनका अनुसार प्रत्येक पालिकालाई एककरोड रुपैयाँ कार्यक्रमको लागि दिने गरिएको छ।  

भौतिक पूर्वाधार मन्त्री खड्काले पालिकाले जे माग्यो त्यसैको लागि बजेट दिने बताए। ‘धेरै पालिकाले बजेट बाटो बनाउन र भवन निर्माणमा खर्च गरेका छन्,’ उनले भने–‘आगलागी जस्तो विपक्ति आउँदा अत्यावश्यक दमकल खरीद प्राथमिकतामा परेको छैन।’ पालिकाको प्राथमिकतामा पर्यो भने अनुदान माग्न आए प्रदेशले सहयोग गर्न सक्ने मन्त्री खड्काले प्रष्ट्याए। उनका अनुसार सम्बन्धित पालिकाले दमकलको आवश्यकता महशुस गर्नुपर्छ, त्यसपछि मात्रै विशेष कार्यक्रम मार्फत सहयोग गर्न प्रदेश तत्पर छ।

प्रकाशित: १ चैत्र २०७८ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App