१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

तीनकुने जग्गाको विवाद समाधान गर्न पहल गर्छु: गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन्।

गृह मन्त्रालयमा आज काठमाडौँ क्षेत्र-१ का सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका हुन्।

सो छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाए। छलफलमा उनले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिएका छन्।

पञ्चायत स्मारक पार्क बनाउन २०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो तर अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुनसकेको छैन।

सांसद गौतमले पनि यो समस्या समाधानका लागि प्रयास गरिरहेको बताइन्। उनले पटक–पटक प्रतिनिधिसभाको बैठकमा पनि त्यहाँको विवादबारे प्रश्न उठाएकी थिइन्।

छलफलमा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको भएको थियो। तीन कुनेमा सरकारबाट केही जग्गाधनीले मुआब्जा बुझिसकेका छन्। केही जग्गाको मुआब्जामा वितरण र केहीको मूल्याङ्कनसमेत भएको छैन। 

प्रकाशित: १ जेष्ठ २०८१ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App