२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुक्तिनाथ मन्दिर आइतबारदेखि खुल्ने

भारतीय पाहुना भित्रिने अपेक्षा

मुक्तिनाथ मन्दिर । फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको त्रासले झन्डै ६ महिनादेखि बन्द रहेको हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर आगामि आइतबारदेखि खुल्ने भएको छ । मन्दिर खुलेपछि पर्यटकीय गतिविधि बढ्ने विश्वास पोखराका पर्यटन व्यवसायीको छ ।  

सरकारले मंगलबार मात्रै भारतसँगका सबै सिमा नाका खुलाउने निर्णय पनि गरिसकेको छ । नाका खुलेको र मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पाइने भएपछि भारतीय तीर्थयात्री आउने अपेक्षा पर्यटन व्यवसायीको छ । केही संख्यामा भारतीय पाहुना भिœयाउन सकेमा त्यसले पर्यटन क्षेत्रमा राहत दिलाउने व्यवसायी बताउँछन् ।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार आगामि आइतबारदेखि मन्दिर खुल्नेछ । मन्दिर खुलेपनि त्यहाँ दर्शन गर्न जाने स्वदेशी र विदेशी पाहुनाले भने स्वास्थ्यका केही मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । प्रजिअ पौडेलका अनुसार विदेशी पर्यटकको हकमा पछिल्लो सातदिनभित्रको पिसिआरको नेगेटिभ रिपोर्ट देखाएमा मुस्ताङ प्रवेशमा अनुमति पाइनेछ । सातदिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाउन सकेमा कोरोना विरुद्ध लगाएको खोपकार्ड अनिवार्य नहुने उनले बताए ।  

‘७२ घण्टाको रिपोर्टले मुस्ताङसम्मको पहुँचको समस्या हुन्छ । कतिपय पर्यटक त हिडेरै मुस्ताङ आउने भएकोले पनि सातदिन अवधि तोकिएको हो,’ उनले भने । पौडेलका अनुसार यो सर्त मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकको हकमा पनि लागु हुनेछ । मन्दिर र नाका खुलेसँगै भारतीय तीर्थयात्री आउन सक्ने र थप संक्रमण फैलिन नपाओस भनेर सचेतना अपनाएको उनले बताए । 

तर स्वदेशी पाहुनाको हकमा भने पछिल्लो ७२ घण्टाभित्रको एन्टीजेनको नेगेटिभ रिपोर्ट चाहिने उनले बताए । तर, कोरोना विरुद्धको खोप लगाएको भएमा कार्ड देखाएपनि स्वदेशीलाई भित्रिन समस्या नहुने उनले बताए । खोप नलगाएका स्वदेशी पाहुनाले भने एन्टीजेन परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नैपर्ने उनले बताए ।  

जिल्लाबासीलाई आउजाउमा कुनै समस्या नहुने पनि प्रजिअ पौडेलले बताए । त्यस्तै मुस्ताङमा कार्यरत सबै कर्मचारीलाई पनि आउजाउमा छुट रहेको उनले बताए । ‘सचेत भएर कोरोना नियन्त्रणको प्रयास भएन भने समस्या हुन सक्छ ।  हिमाली जिल्ला र यहाँका सम्पदा फेरि बन्द गर्न नपरोस भन्ने हो, ‘उनले भने, ‘हिमाली जिल्ला भएकोले पनि सचेत हुनुपर्ने जरुरी छ ।’  

मुस्ताङ दुर्गम जिल्ला भएकोले पनि वेवास्ता गर्दै बिरामी भएमा उपचार र उद्धारमा पनि समस्या हुने उनले बताए । ‘मुस्ताङ घुम्न आएका कोहीपनि पाहुना बिरामी हुनु नपरोस भन्ने हो,’ उनले भने । उनका अनुसार मन्दिरसँगै मुक्तिनाथ क्षेत्रका होटल र धर्मशाला पनि खुला हुनेछन् । धर्मशालामा बस्ने पाहुनाले पनि २५ जना बढी समुहमा हुन पाउने छैनन । ‘धर्मशालामा फरक समुहका धेरै पाहुना भेला हुन सक्छन । तर, उनीहरुले जमघट गर्न भने पाउने छैनन । खान र बस्न भने कुनै समस्या हुनेछैन,’ उनले भने, ‘धर्मशालामा एकसय जना पनि बस्न त पाउँछन । तर, उनीहरु जमघट गर्न भने पाउँदैनन ।’

सरकारले भारतसँगका सिमा नाका खुलाउने निर्णय गरेको र मुक्तिनाथ मन्दिर पनि खुला भएकोले अब भारतीय पर्यटक पोखरा आउने अपेक्षा पर्यटन व्यवसायीको छ । मुक्तिनाथ मन्दिर खुला भए नभएको बारेमा भारतीय पाहुनाले चाँसो राखिरहेको होटल व्यवसायी धर्मराज पन्थीले बताए । ‘अब भारतीय पाहुना आउने अपेक्षा छ । किनकी भारतीय पाहुनाले सोधपुछ पनि गरिरहेका छन,’ उनले भने ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष हरिराम अधिकारीले पनि नाका खुलेकोले अब भारतीय पाहुना आउन सहज हुने बताए । ‘यो बेला मुक्तिनाथ दर्शन गर्न जानका लागि आउने भारतीको पनि समय हो । त्यसबाहेक पोखरासम्म पनि भारतीय पाहुना आउने अपेक्षा छ,’ अधिकारीले भने, ‘भारतीय पाहुना नेपाल आउन चाहेका पनि छन । केही भारतीय त आउन थालिसकेका छन ।’ यो बेला भारतीय पाहुनालाई नेपाल भिœयाउन सक्ने हो भने पर्यटन क्षेत्रमा सहज हुने उनले बताए ।

प्रकाशित: ६ आश्विन २०७८ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App