coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँकेमा विकराल बन्दै लागुऔषध दुर्व्यसनी

करिब डेढ वर्षअघि नेपालगन्जमा ‘लागुऔषध परामर्श केन्द्र’ सञ्चालनमा आयो। लागुऔषध प्रयोगकर्तालाई निःशुल्क रूपमा परामर्श दिने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासबाट केन्द्र स्थापना गरियो। केन्द्र स्थापना भएपछि अहिलेसम्म दुई सयभन्दा बढीले परामर्श लिइसकेका छन्। लागुऔषध प्रयोगकर्तालाई चिकित्सक, परामर्शदाता र प्रहरीले यहाँ निःशुल्क रूपमा परामर्श दिन्छन्।

केन्द्रले परामर्शका लागि आउने लागुऔषध प्रयोगकर्ताको अवस्था हेरेर उपचार र सुधार केन्द्रमा पठाउँछ। ‘लागुऔषध दुर्व्यसनको अवस्था डरलाग्दो भइसकेको छ, परामर्शका लागि यहाँ आउनेको चाप धेरै छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘नेपालगन्जका अधिकांश स्कुल र कलेजमा लागुऔषध प्रयोगकर्ता रहेछन्, अवस्था एकदमै विकराल बनिरहेको छ।’ अभिभावकले आफ्ना छोराछोरीको चासो नराख्नु, नेपाल–भारत खुला सीमालगायतका कारणले बाँकेमा लागुऔषध  दुर्व्यसन नियन्त्रणमा आउन नसकेको सम्बद्ध सरोकारवालाको भनाइ छ।

कानुनले लागुऔषध प्रयोग, ओसार–पसार तथा कारोबारलाई अपराध मानेको छ। तर, अहिलेसम्म प्रहरीले लागुऔषध ओसारपसार र कारोबार गर्नेलाई मात्र कानुनी कारबाही गर्दैै आएको छ।

अहिलेसम्म लागुऔषध प्रयोगकर्तालाई मात्र उपचार र सुधार केन्द्रमा ल्याउने गरिएको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जका अनुसार लागुऔषध प्रयोगकर्तालाई लक्षित गरेर बाँकेमा अहिलेसम्म १९ वटा सुधार केन्द्र स्थापना भइसकेका छन्। तीमध्ये नेपालगन्जमा १२, कोहलपुरमा पाँच र हवल्दारपुरमा २ वटा रहेको ब्युरोले जनाएको छ। यसमध्ये नेपालगन्जमा एउटा महिला सुधार केन्द्र सञ्चालनमा छ। यस्तै भेरी अस्पताल नेपालगन्जमा ७५ जनाले नियमित रूपमा औषधि खाइरहेका छन्। तीमध्ये ६८ पुरुष र सातजना महिला रहेका छन्।औषधिको माध्यमबाट प्रयोगकर्तालाई बिस्तारै लागुऔषधको कुलतबाट छुटाउन उक्त औषधि नियमित रूपमा दिइन्छ।

जिल्लामा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्यांक नभए पनि दुव्र्यसनीको संख्या अत्यधिक रहेको प्रहरीका अधिकारी बताउँछन्। प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिलाई भने कारबाहीको दायरामा ल्याउने गरेको छ। लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिको संख्या बर्सेनि बढ्दै गएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकलाई हेर्दा लागुऔषध ओसारपसार तथा कारोबारको मात्रा बर्सेनि बढ्दै गएको देखिन्छ। जसअनुसार आर्थिक वर्ष २०७१/७२ मा कार्यालयले ९९ वटा मुद्दा दर्ता गरेको थियो। आर्थिक वर्ष २०७२/७३ मा मुद्दाको संख्या घटेर ७८ मा आयो। त्यसपछि पुनः २०७३/७४ मा बढेर एक सय ३७ पुग्यो। आर्थिक वर्ष २०७४/७५ मा मुद्दाको संख्या बढेर एक सय ४७ पुगेको थियो। यस्तै २०७५/०७६ मा २ सय ४९ वटा मुद्दा दर्ता गरी ३ सय ७६ जनालाई कानुनी कारबाही गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

तीमध्ये एक सय ९४ जना बाँके निवासी हुन्। यसैगरी २०७६÷७७ मा करिब एक सय ५० वटा मुद्दा दर्ता भएकोमा करिब दुई सय जनाविरुद्ध मुद्दा चलाइएको थियो। कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा एक सय २६ वटा मुद्दा दर्ता गरेकोमा एक सय ९६ जना व्यक्ति पक्राउ परेका थिए। त्यसमध्ये १९ महिला र एक सय ७६ जना पुरुष थिए। गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै बरामद गरिएको लागुऔषधमा ब्राउन सुगर पाँच सय ८७ ग्राम ८३५ मिलिग्राम, चरेश २० केजी ३० ग्राम, अफिम ३४ केजी ५ सय ७४ ग्राम, गाँजा ६८ केजी ४३ ग्राम, कोरेक्स ३९ लिटर ४ सय मिलिलिटर, नाईट्राजेपाम एक हजार तीन सय ३० ट्याब्लेट र टामाडोल एक हजार ७० ट्याब्लेट रहेको छ। यी तथ्यांकबाट नै लागुऔषध दुव्र्यसनी र ओसार–पसार विकराल बन्दै गइरहेको पुष्टि हुन्छ। नेपालगन्जस्थित कारागारमा हाल लागुऔषधसम्बन्धी मुद्दाका एक सय ७५ कैदी र एक सय १० बन्दी रहेका छन्।

यस्तै परामर्श केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक सय ७६ जनाले निःशुल्क परामर्श लिएका छन्। यसमध्ये एक सय ७२ जना पुरुष र चारजना महिला रहेका छन्। केन्द्रमा परार्मश दाता दीपेन्द्रकुमार जोशी, नेपाल प्रहरीको लागुऔषध ब्युरो, भेरी अस्पतालका चिकित्सकलगायतले परामर्श दिन्छन्। लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जका प्रमुख एवम् प्रहरी निरीक्षक प्रकाशकुमार केसी प्रहरी र समुदाय मिलेर सचेतनामूलक कार्यक्रम चलाइरहँदा पनि लागुऔषध प्रयोग र ओसारपसार नियन्त्रणमा आउन नसकेको बताउँछन्। ‘लागुऔषध बिक्री, वितरण गर्न लागेको जानकारी आएपछि सुराकी पठाउँछौं, पक्राउ गरेर ल्याइसकेपछि हामीले प्रतिवेदन तयार गरी जिल्ला प्रहरी कार्यालयसमक्ष मुद्दा चलाउन मान्छे र लागुऔषधसहित पठाउँछौं,’ उनले भने ‘हाम्रो प्रतिवेदनका आधारमा नै मुद्दा चल्छ।’ 

नेपाल–भारत खुल्ला सिमाका कारण लागुऔषध नियन्त्रण गर्न समस्या रहेको प्रहरी निरीक्षक केसीले बताए। लागुऔषध  दुर्व्यसनीमा युवायुवती नराम्ररी फसेको र उनीहरूलाई निःशुल्क रूपमा परामर्श दिने काम भइरहेको जानकारी दिए।

प्रहरीका अनुसार बाँकेसहित सुर्खेत, दाङ, बर्दिया, रुकुम, दैलेख, कालिकोट, जुम्ला, हुम्लालगायत जिल्लाका लागुऔषध प्रयोगकर्ता तथा कारोबारी नेपालगन्ज आइपुग्छन्। उनीहरू लागुऔषध सेवन गर्न तथा खरिद गर्न भारतको रूपैडिहा, बहराइच, नानपारासम्म आफंै पुग्छन्। नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर त्यहाँ हुने लागुऔषध दुर्व्यसनी र कारोबारलाई नियन्त्रण गर्ने प्रयास गरेको केसीले सुनाए। ‘लागुऔषध दुव्र्यसनी, ओसार–पसार तथा कारोबार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसँगै प्रहरीले कानुनी कारबाही पनि गरिरहेको छ,’ उनले भने।

लागुऔषध दुर्व्यसनको अवस्थालाई दृष्टिगत गर्दै स्थापना गरिएको परामर्श केन्द्रमा प्रयोगकर्ताको चाप थेगिनसक्नु छ। प्रयोगकर्ताहरू केन्द्रमा आउने क्रम चलिरहेको केन्द्रका परामर्शदाता दीपेन्द्रकुमार जोशी बताउँछन्। ‘लागुऔषध दुर्व्यसनीको अवस्था एकदमै भयावह छ,’ उनले भने, ‘यो निःशुल्क परामर्श केन्द्र हो, सबै किसिमको परामर्श यहाँ दिइन्छ।’ लागुऔषधको  दुर्व्यसनीमा फसेर आफ्ना छोराछोरी बिग्रिरहँदा पनि कतिपय अभिभावक अनविज्ञ हुने गरेको जोशी बताउँछन्।

प्रकाशित: ४ आश्विन २०७८ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App