coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

श्रीमतीलाई भारत लगेर यातना दिने नेपाली युवा पक्राउ

उद्धारपछि परिवारसँग पीडित

एक सामान्य परिवारमा जन्मेकी महिलाको लागि विवाह गरेर विदेशमा श्रीमानसँग बस्ने रहर कसो नहोला र? डडेलधुराकी २१ वर्षिया रीता मगर(नाम परिवर्तन)कोे पनि यस्तै चाहना थियो। एक असल परिवारकी उनले विवाह पश्चात भारतको राजधानी जाने भएकी थिइन्। राजधानी दिल्लीमा बसोबास गर्दै आएको र बैतडी मूल घर भएको दिपक चन्दसँग उनको परिवारले सबैको सहमतिमा उनको मागी विवाह गरिदिएका थिए। विवाहपछि दुबैजना दिल्लीमा बसोबास गर्दै आएका थिए। तर उनको वैवाहिक जीवन भने सोचेको जस्तो भएन।

अनेकौं सपना बोकेकी रीतालाई विवाह गरेको १५ दिनमै झस्केको जस्तो भयो जब उनलाई उनको श्रीमानले अरुको घरमा घरेलु कामदारको रुपमा उनलाई पठाउन थाले। रीतालाई उनको श्रीमानले शारीरिक तथा मानसिक लगायत विभिन्न यातनाहरु दिन थाले। यसका साथै उनलाई खानाहरु पनि बासी तथा कुहिएको खाना समेत दिइएको रीताले नागरिकलाई भनिन्। एक सामान्य ठाउँमा हुर्केकी चेलीलाई नयाँ ठाउँमा आफ्नै श्रीमानले गरेको व्यवहारबाट उनलाई जीवनप्रति निराशा लागेर आएको र सकेसम्म यस परिस्थतिबाट चाडैँ निक्लिने उनले अठोट गरेकी बताइन्।    

रीताका अनुसार उनको श्रीमानले उनलाई अति नै पीडा दिन थालेका थिए। कुटपिट गर्ने, सामान फाल्ने, फुटाउने, मार्ने धम्की समेत दिने तथा दाईजो माग्ने जस्ता अमानवीय दूव्र्यवहार उनको श्रीमानको दैनिकी बनेको बताइन्।

यस किसिमको आफ्नो श्रीमानको परिवर्तित व्यवहार देखेर रीतामा त्रास बढ्दै गएको थियो। तर यस कुराले उनको दैनिकी जीवन नर्क बन्ने कुरा उनलाई थाहा थिएन।  

उनको मोबाईलसमेत फुटादिएका थिए उनको श्रीमानले। उनले आफ्नो परिवारसँग गुहार माग्नेभन्दा अर्को कुनै नपाएपछि सुतेको बेला उनकै श्रीमानको मोबाइलबाट आफ्नो दाइलाई सन्देशमार्फत् केही कुराहरु राख्दै सहयोग मागिन्। झन्डै पाँच छ महिना अगाडि मात्रै धुमधामसँग विवाह गराएको बहिनीको यस किसिमको सन्देशलाई उनको मन पोलेर आयो। उनले सक्दो छिटो बहिनीलाई लिएर घर फर्किने निधो गरे।  

उनले यस कुरालाई आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईसमक्ष पुर्याए। आफन्त नेपालसँगै सहकार्यमा रहेको के.आई. इन्डियाको निर्देशक नवीन जोशीको पहलमा दिल्लीमा रेस्क्यूको थालनी भयो। उनले कन्ट्याक्ट ट्रेसिंगद्वारा रेस्क्यू गर्ने क्रममा उनको घर पुग्दा उनका श्रीमानले उनलाई कठीन अवस्थामा भेटिएको के.आई. इन्डियाका निर्देशक जोशीले जानकारी दिए।

रीताका श्रीमानले ग्यासको पाईप नै निकालेर आगो लगाउने भनी प्रयास गरिरहेको जोशीले बताए। कोठाको सबै सामान पनि भुइँमा छरिएको तथा फुटाइएको अवस्थामा रहेको उनले भने। त्यहाँ पुगेको प्रहरीको संख्याले दिपकलाई नियन्त्रणमा लिन नसकेपछि त्यहाँ थप पुलिस फोर्स बोलाइएको उनले बताए।  

रीताको स्वास्थ्य परीक्षण गरिएको छ। उनको कोरोना रिपोर्ट र प्रेग्नेन्सी रिपोर्ट नेगेटिभ रहेको नविन जोशीले जानकारी दिए। उनका अनुसार उनलाई महिला आयोगमा केही समय राखिएको थियो भने परिवार आएपछि सबैको उपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको छ। उनी आफ्नो परिवारसँगै नेपाल फर्किने छिन्।  

रीताका दाइका अनुसार आफ्नी बहिनीको यस्तो परिस्थितिबारे जानकार भएपछि उनलाई छिट्टै आफ्नी बहिनीलाई घर लिएर आउनु थियो। आफ्नी बहिनीलाई लिन आएका उनी साह्रै खुसी भए। ‘मेरी बहिनी सोझी छे। यसलाई नै यस्तो परिस्थितिको सामना गनुपर्यो। उसको भाग्यमा यस्तै लेखेको थियो होला त्यही भएर यस्तो हुन पुग्यो’, उनले भने।  

रीता अबको दिनमा मिहिनेत गरेर सीपमूलक कार्य गर्न चाहेको उनले बताए। मलाई मेरो जीवनमा गरेको यस संस्थाका लागि आभार रहने छु उनले बताइन्। मेरो बाबा बितेको ५ बर्ष भइसक्यो तर मेरो सहारा भनेकै मेरो परिवार हो। मलाई विश्वास छ कि मेरो दाइले मलाई सँधै साथ दिनुहुन्छ उनले बताइन्।

के.आई.इन्डिया, दिल्ली पुलिस, महिला आयोग र दिल्लीस्थित नेपाली र दूतावासको सहयोगमा रीताको उद्दार सफल भएको जोशीले भने। हाल दिपक चन्द दिल्ली प्रहरीको निगरानीमा छन्। उनको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App