coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पिसिआर परीक्षण गराउन पालो कुर्दाकुर्दै एक जनाको मृत्यु

पिसिआर परीक्षण गर्न शिक्षण अस्पताल कोहलपुर पुगेका ब्यक्तिको मृत्यु भएपछि शव बोकेर घरमा लैजाँदै आफन्त । तस्बिर सौजन्य : देवेन्द्र आचार्य

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका ब्यक्तिको अस्पताल परिसरमै मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो करिव साढे ३ बजेतिर मृत्यु भएको हो । परिवारका अनुसार उनी विगत ८/१० दिनदेखि बिरामी थिए । ज्वरो र टाईफाईटले सताएको भन्दै उनले घरमै बसेर औषधि लिइरहेका थिए ।  

स्वास्थ्यमा कत्तिपनि सुधार नआएपछि उनी शुक्रबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगे । मेडिकल कलेजका उप–निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार ति ब्यक्ति लाईनमै रहेका बेला अचानक ढलेका थिए । त्यस लगत्तै उनको मृत्यु भयो । ‘पिसिआर परीक्षणका लागि स्वाब दिन आएपनि पालो नआउँदै मृत्यु भयो,’ श्रेष्ठले भने, ‘त्यसपछि मृतकको साथमा आएका आफन्तीले पिसिआर चेक नगराएरै उनको शव रिक्सामा बोकेर घरमा लगे ।’ उनको मृत्यु हुनुमा श्वासप्रश्वासमा कमी रहेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् । अस्पताल परिसरमै मृत्यु भएपछि अन्त्येष्टीका लागि आफन्तले अटोरिक्सामा शव बोकेर घरमा लगेका छन् । 

अहिले कुनैपनि कोरोना संक्रमितलाई भर्ना लिने गरेका छैनौं, बिरामी भर्नाका लागि राजनीतिक नेतादेखि धेरैको फोन आउँछ, तर भर्ना गर्ने स्थिती नै छैन, कोरोना संक्रमित बिरामीको उपचार गर्नको लागि अस्पतालका डाक्टर, नर्स तयार हुदाँ हुदैपनि अक्सिजन नभएर भर्ना लिन सकिएको छैन : उप–निर्देशक डा. दिनेश श्रेष्ठ 

‘पिसिआर चेक गराउन पालो कुर्दाकुर्दै एकजना मानिसको निधन भएको छ, शवलाई रिक्सामा लैजादै उनका आफन्त,’ अस्पतालका चिकित्सक डा. देवेन्द्र आचार्यले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘यो दृश्य कोहलपुरको नगरपालिका भित्रको हो, आत्मबल ठूलो बनाउनुस्, घरमै बस्नुस्, खानपान र स्वास्थ्य सरसफाईमा ध्यान दिनुस् । यसरी कोरोनालाई जित्न सकिन्छ ।’

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा बढेपछि नेपालगन्ज मेडिकल कलेजमा पनि पिसिआर परीक्षण गराउने ब्यक्तिको ठूलो भिड लाग्ने गरेको छ । धेरै भिड लाग्न थालेपछि मेडिकल कलेजले दैनिक रुपमा साँझ र बिहान स्वाब संकलन गर्ने ब्यवस्था मिलाएको उपनिर्देशक श्रेष्ठले सुनाए ।

लिक्वीडसहितको अक्सिजन अभावका कारण मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले तीन दिनदेखि कोरोना संक्रमितलाई भर्ना गर्न छाडेको छ । मेडिकल कलेज प्रशासनका अनुसार शुक्रबारसम्म शिक्षण अस्पताल कोहलपुरमा ८६ जना संक्रमित कोभिड वार्डमा भर्ना छन् । त्यसमध्ये ५३ जना सिकिस्त छन् । सिकिस्त सबैको आईसियुमा उपचार भइरहेको छ । ‘अहिले कुनैपनि कोरोना संक्रमितलाई भर्ना लिने गरेका छैनौं, बिरामी भर्नाका लागि राजनीतिक नेतादेखि धेरैको फोन आउँछ, तर भर्ना गर्ने स्थिती नै छैन,’ श्रेष्ठले भने ‘कोरोना संक्रमित बिरामीको उपचार गर्नको लागि अस्पतालका डाक्टर, नर्स तयार हुँदा हुँदैपनि अक्सिजन नभएर भर्ना लिन सकिएको छैन ।’  

लिक्वीड अक्सिजन अभावका कारण मेडिकल कलेजले तयारी अवस्थामा राखेको ३ सय बेड क्षमताको कोभिड वार्ड सञ्चालनमा आउन सकेको छैन । अस्पतालले हाल १ सय ३५ बेड मात्र सञ्चालनमा ल्याएको जनाएको छ । ‘धेरै सिरियस बिरामी हामी कहाँ आउँछन्, तर हामीले उनीहरुलाई भेरी अस्पतालमा पठाउनु पर्ने बाध्यता छ,’ डा. श्रेष्ठले भने ।

प्रकाशित: २४ वैशाख २०७८ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App