७ वैशाख २०८१ शुक्रबार
समाज

थोरै पाहुनासँग रमाएको ठमेल

ठमेलस्थित एक रात्री क्लब। तस्बिर: नागरिक

विकसित देशतिर सहरहरू प्रायः रातमा व्यस्त हुन्छन्। मानिसहरू दिनमा भन्दा रातमा घुम्ने गर्छन्। नेपालका सहर भने बेलुका ८ बजिनसक्दै सुनसान हुन्छन्। राजधानी उपत्यकाभित्र प्रशासनले ९ बजेपछि होटल रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएको छ। कोभिड सुरु भएयता त ८ बजे नै प्रहरी होटल बन्द गर्न भन्दै ढोका ढकढक्याउन पुग्छ। राजधानी उपत्यकामा अलि अबेरसम्म नसुत्ने सहर भनेको ठमेल नै हो। उपत्यकाभित्र ठमेलको रात्री जीवन अलि बेग्लै छ। यहाँका होटलमा गुन्जने म्युजिक सुन्ने र आनन्द लिने रहर प्रायः सबैलाई हुन्छ। विदेशी पर्यटकले भरिभराउ हुने भएकोले यो क्षेत्रमा प्रहरीले त्यति कडाइ पनि गर्दैन।  

हुन पनि ठमेल पुग्दा विदेशकै कुनै सहरमा पुगेजस्तो महसुस हुन्छ। तर एक वर्षयता भने ठमेलको व्यापार सुकेको छ। म्युजिक गुन्जने, पर्यटकको भीडभाड हुने र विभिन्न किसिमका बिजुली बत्तीले चम्कने यो सहर एक वर्षदेखि सुनसानजस्तै छ। ठमेलको ‘नाइट लाइफ’ र कोभिडको प्रभावबारे बुझ्न सोमबार राति फन्को लगाउँदा सीमित होटल तथा रेस्टुरेन्ट ‘प्याक’ देखिए पनि गल्लीका साथै धेरैजसो होटल सुनसान थिए।  

लकडाउन र कोभिडपछि थला परेको व्यवसाय उकास्न भए पनि व्यवसायीले बेलुकी अबेरसम्म ठमेलका केही होटल खुला राख्छन्। ठमेलमा व्यवसाय सञ्चालन गर्दै आएका दीपक खनालले कोरोना संक्रमण र लकडाउनपछि व्यवसायमा नराम्रो धक्का परेको बताए। सरकारले रचनात्मक योजना तय गर्न नसक्दा होटल तथा पर्यटन व्यवसायमा असर परेको उनको ठहर छ। ‘कोभिडका कारण व्यवसायीहरू डुबेका छन् तर सरकार अझै कडाइ गर्न खोजिरहेको छ,’ उनले भने, ‘यसरी त पर्यटन तथा होटल क्षेत्र थप ध्वस्त हुन्छ।’

ठमेलमा रात्रीकालीन व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्ने माग ठमेल विकास परिषद्ले राख्दै आएको छ। सरकारले भने मागप्रति बेवास्ता गरेको व्यवसायीको भनाइ छ। ‘अहिले सरकारले होटल बन्द गर्न त भनेको छैन तर पर्यटक आउने बाटो बन्द गरिदिएको छ,’ खनालले भने, ‘ठमेलको ८० प्रतिशत व्यापार बाह्य पर्यटकका कारण हुने गरेको थियो, अहिले २० प्रतिशत पनि कमाइ छैन।’  

व्यवसायीले सरकारले तोकेको मापदण्ड मानेर रात्रीकालीन व्यापार खोल्न सके ठमेल क्षेत्र फेरि जाग्ने अनुमान गरेका छन्। तर संक्रमण बढ्दै जाँदा व्यवसाय थप धरापमा पर्न सक्ने डर पनि देखिन्छ। ‘कोरोना सुरु हुनुपहिले रातिसम्म पर्यटकको निकै भीडभाड हुन्थ्यो,’ व्यवसायी विकासदेव लामाले भने, ‘अहिले होटलहरू सुक्ने अवस्थामा पुगे।’ उनका अनुसार ठमेलका धेरै क्लब, होटल तथा बार व्यवसाय नभएर थला परेका छन्। लकडाउनअघि ठमेलका होटलमा दैनिक १० हजारभन्दा बढी पर्यटक पुग्ने गर्थे। राति २÷३ बजेसम्म लाइभ म्युजिक चल्थ्यो। एक वर्षयता भने दैनिक एक हजार पर्यटक पनि नपुगेको व्यवसायीको भनाइ छ। एक वर्षयता ठमेल क्षेत्रका १० प्रतिशत होटल बन्द भइसकेका छन्।  

पछिल्लो समय अफ्रिकी, भारतीय र केही स्वदेशी पर्यटकबाट धानिएको छ ठमेलको व्यवसाय। चिनियाँ, अमेरिकी, अस्ट्रलियाली र युरोपेली पर्यटक आउन छाडेको व्यवसायीले बताए। ‘विदेशी पर्यटकको संख्या निकै कम छ। सयमा १० जना पनि विदेशी हुँदैनन्,’ व्यवसायी उत्तम कार्कीले भने, ‘थोरै पर्यटककै लागि भए पनि हामीले ठमेललाई जाग्राम राखेका छौं।’ उनले पहिले र अहिलेको आम्दानी निकै फरक भएको बताए। कोरोना संक्रमणपछि भाडा तिर्न र कामदारलाई ज्याला दिन पनि मुस्किल परेको उनको भनाइ छ।

अर्का व्यवसायी अमृतराज बानियाँले सरकारले ठमेल क्षेत्रको व्यवसायलाई उकास्न र विदेशी पर्यटक भित्र्याउन योजना नै नबनाएको बताए। उनले भने, ‘सरकारले व्यवसायीको पक्षमा काम गरेकै छैन, हामीले आफ्नै तरिकाले व्यवसाय चलाएका छौं। कोभिडको बेला विदेशी पर्यटक आउनै नहुने त होइन तर त्यो वातावरण सरकारले नै तय गर्नुपर्छ।’

सरकारलाई दबाब दिँदै व्यवसायी

ठमेलका व्यवसायी सरकारले फेरि लकडाउन वा कडाइ गर्ने संकेत देखाएपछि डराउन थालेका छन्। महँगो भाडा तिरेर खोलिएका रेस्टुरेन्ट नचलेपछि उनीहरू आर्थिक मारमा छन्। एक वर्षदेखि होटलको भाडा तिर्ने आम्दानीसमेत नभएको व्यवसायी बताउँछन्। व्यापार व्यवसाय संकटमा परेका बेला सरकारले अनावश्यक कडाइ गरेको भन्दै उनीहरू असन्तुष्ट छन्। उनीहरूले सांकेतिक विरोध गर्ने भएका छन्। ‘हामी कुनै सरकारी कार्यालयको ढोकामा गएर विरोध गर्दैनौं,’ ठमेलका एक रेस्टुरेन्ट व्यवसायीले भने, ‘हामीले सांगीतिक कार्यक्रम गरेर, गल्लीहरूमा नाचेर र लाइट बालेर सरकारको विरोध गर्छौं।’

कतै सतर्कता कतै बेवास्ता  

कोभिड संक्रमण बढिरहेका बेला होटलहरू उच्च जोखिममा हुने भएकाले सरकारले सावधानी अपनाउन निर्देशन दिँदै आएको छ। तर ठमेल क्षेत्रमा सञ्चालित अधिकांश होटल तथा रेस्टुरेन्टमा स्वास्थ्य मापदण्डको पालना नगरिएको भेटियो। होटलमा प्रवेश गरेका युवा बिनामास्क नाचिरहेका देखिए। यसबाट कोरोना बढ्ने खतरा हुन्छ। केही होटलमा भने स्यानिटाइजर, मास्कको व्यवस्थसहित दूरी कायम गरेर सञ्चालन भएको पनि भेटियो। ‘कोरोना संक्रमण बढिरहेको छ, यस्तो अवस्थामा हामी व्यवसाय नै ठप्प पारेर बस्न सक्दैनौं। भाडा तिर्नैपर्छ। बरु सावधानी अपनाएका छौं,’ व्यवसायी सर्गम लामाले भने। उनले पहिलेजसरी पर्यटक नआउने भएकाले भिडभाड नभएको बताए।

प्रकाशित: ८ वैशाख २०७८ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App