१६ चैत्र २०८० शुक्रबार
समाज

कर्णालीमा जताततै आगलागी

गत चैत २१ गते आगो लागेर जुम्ला तिला गाउँपालिका–९ को मुल्ली बस्ती खरानी भयो। मानवीय क्षति भएन तर घरभित्र रहेको अन्नपात पुरै जल्यो। मुल्ली अन्न भण्डारका रूपमा रहेको थियो। आगोले बस्तीभित्रका २९ घर जलेर नष्ट भए। स्थानीय बिचल्लीमा छन्।  

यसअघि जुम्ला तिला गाउँपालिका–७ स्थित गोठी बस्तीमा आगो लागेको थियो। खाना पकाउँदै गर्दा चुलोबाट निस्केको झिल्को सुकेको घाँसमा पुगेपछि बस्ती नै जल्यो। २९ घर जले। पशुचौपाया जलेर खरानी भए। तर मानवीय क्षति भएन। कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका अनुसार चालु आवमा कर्णालीका आगलागीबाट १ सय १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। कर्णालीका १० वटै जिल्ला आगोले प्रभावित बने।  

प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले भने, ‘२ सय ३३ घरमा आंशिक क्षति भएको बताए। आगोमा जलेर १५ जना घाइते भए। २ सय १५ वटा पशुचौपाया मरे। आगोले कर्णाली निकै जल्यो। अहिले पनि कर्णालीका वनपाखा, जंगल जलिरहेका छन्।’ आगलागीबाट १ अर्ब ६४ करोड ५४ लाख रूपैयाँबराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चालु आवको चैतसम्म सुर्खेतमा २ करोड ५६ लाख १६ हजार रूपैयाँबराबरको धनमाल क्षति भयो। दैलेखमा १ करोड ३५ लाख ८ हजार ५ सय, जाजरकोटमा ८१ लाख ४६ हजार ५ सय, सल्यानमा ४७ लाख ३८ हजार, रुकुम पश्चिममा ३३ लाख ९४ हजारबराबरको धनमाल क्षति भएको उनले बताए।  

कालिकोटमा ६५ लाख ७८ हजार रूपैयाँ, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार रूपैयाँबराबरको क्षति भएको एसएसपी ठकुरीले जानकारी दिए। ‘यो वर्ष बाक्लो हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेका हुन्,’ उनले भने, ‘आगलागीका अधिकांश घटना मान्छेकै लापरबाहीका कारण भएको पाइएको छ।’ मानवीय कारणले हुनसक्ने आगलागीबाट बचाउन जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ।  

कर्णालीमा १ वर्षको अवधिमा आगलागीका घटनामा परेर ११ जनाको ज्यान गएको छ। आव २०७७÷८८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लामा भएका आगलागीका घटनामा ११ जनाको ज्यान गएको हो। आगलागीबाट १ अर्ब ६४ करोड ५४ लाख रूपैयाँबराबरको धनमाल क्षति भएको छ। आगलागीका घटनामा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको छ। कालीकोटमा ६ जनाको मृत्यु भएको हो। सुर्खेतमा २ जना, रुकुम पश्चिम, सल्यान र मुगुमा १÷१ जनाको मृत्यु भएको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App