७ वैशाख २०८१ शुक्रबार
समाज

८ वर्षमा कहाँ हरायो फेवातालको १६ सय १९ रोपनी जमिन ?

दुई फरक प्रतिवेदनमा फेवातालको क्षेत्रफल फरक पाइएको छ। वितेको आठ वर्षमा फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको हालै सार्वजनिक एक प्रतिवेदनमा पाइएको छ। फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ । तर आठ वर्ष अघि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठन गरेको समितिले तालको क्षेत्रफल १२८७४–२–३ रोपनी रहेको ठहर गरेको थियो।  

 

यो पनि पढ्नुहोस्

फेवातालको १६ सय ९२ रोपनी व्यक्तिका नाममा

कास्की जिल्ला विकास समिति पूर्वसभापति पुण्यप्रसाद पौडेल संयोजकत्वको समितिले दिएको प्रतिवेदनको आधारमा मन्त्रिपरिषदले फेवातालको नयाँ क्षेत्रफल निर्धारण गरेको हो।  

फेवातालको करिव १६ सय रोपनी क्षेत्रफल नै हराउनु दुखद भएको विश्वप्रकाश लामिछाने बताउँछन्। 'प्रतिवेदन हेर्न पाएको छैन तर व्यक्तिले नापी गराएको जमिनलाई छोडिएको भन्ने सुन्नमा आएको छ', लामिछानेले भने, 'यो निर्णयले जुन जमिन तालको नाममा ल्याउनु पर्थ्यो त्यो गुम्ने खतरा छ।'

लामिछाने प्रतिवेदनले फेवातालको १६९२ रोपनी जमिन व्यक्तिको नाममा रहेको निश्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन दिएको थियो। नयाँ समिति १६ सय १९ रोपनी क्षेत्रफल जमिन घटेको प्रतिवेदन दिदा शंका उत्तपन्न भएको छ।  

सर्वोच्च अदालतले पोखराका ताल र ताल क्षेत्रमा रहेका जग्गा फुकुवासम्वन्धी सबै रिट निवेदनहरूलाई फेवा ताल संरक्षणको मुद्दामा जोडेर २०७५ वैशाख १६ गते फैसला गरेको थियो। सो फैसलाले तीनै तहका सरकारलाई छुट्टाछुट्टै काम गर्ने विषयसमेत तेकेको थियो। सोही आदेश अनुसार सरकारले तालको चार किल्ला तय गरेको हो।

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न  गठति समितिमा संयोजक पौडेलले अहिलेसम्मकै आधिकारिक नक्सा आफुहरुले तयार पारहेको बताए। पौडेले जिविस सभापति रहेको समयमा पनि तालको क्षेत्रफल निकालिएको थियो। २०५८ मा नेपाल सरकार र युएनडीपीले गरेको अध्ययनमा तालको क्षेत्रफल ८.८ स्क्वार किमि भनिएको छ। त्यसको आधारमामा बाँधको ७९४. ७० मिटर हाइटले कभर गरेको जमिन फेवातालले भनेकोलाई पनि अहिले आधार मानिएको पौडेलले बताए।  

अहिलेसम्मा अध्ययन प्रतिवेदन, फेवाताल क्षत्रेका स्थानीय, ड्रोन सर्भे र इलेक्ट्रिकल रेसिसटिभिटी टोमोग्राफी अध्ययनका आधारमा तालको वास्तविकता निकालिएको उनले बताए। २०१० सालको भकुण्डे खोलाको स्वरुप अहिले पनि परिवर्तन नभएका कारणले फेवाताल त्यहाँ भन्दा माथी थियो भन्ने आधार मान्न नसकिने उनले बताए। लामिछाने प्रतिवेदनले कायम गरेको चार किल्ला भित्रै आफ्नो समितिले कायम गरेको चार किल्ला रहेको उनको भनाई छ।  

फेवा तालको क्षेत्रफलबारे केही जानकारी

१. Indian Survey 1957-1959, क्षेत्रफल – २०,३५१.८४ रोपनी

२. २०१८ सालमा पहिलो बाँध निर्माण गर्दाको क्षेत्रफल - ४ वर्ग माइल अर्थात २०,१२८ रोपनी

३. २०५८ सालमा कास्की जि.वि.स. को नाप नक्सामा:

२०१८ सालमा: १०.३५ वर्ग मि. अर्थात २०,३४४.३८ रोपनी

२०३८ सालमा: ५.८० वर्ग मि. अर्थात ११,०४७.१ रोपनी

२०५८ सालमा: ४.२५ वर्ग मि. अर्थात ८,४१६.५६ रोपनी

४. २०६९ सालको सरकारद्वारा गठित लामिछाने प्रतिवेदनमा:

१,६९२-६-०-१ अनियमित दर्ता,

५४० – मुआब्जा दिनु पर्ने,

७४७-१३-३-१ ग्रामिण क्षेत्रका व्यक्तिको मुआब्जा दिनु पर्ने गरि जम्मा क्षेत्रफल: १६,२१५-६-२-२ रोपनी

५. २०६४ सालको केन्द्रिय नापीमा क्षेत्रफल: १२,७०९ रोपनी

६. २०७२ सालको सर्वोच्चको आदेश बमोजिम भूमि सुधार मन्त्रालयले नाप नक्सा गर्दा क्षेत्रफल: १०,०५९ रोपनी

प्रकाशित: १७ फाल्गुन २०७७ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App