११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी चीनको नर्सिङ होममा आगलागी : २० जनाको ज्यान मृत्यु

उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक नर्सिङ होममा आगलागी भएर २० जनाको मृत्यु भएको छ। बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार यो जानकारी दिएको हो।  

राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने लोङहुआ काउन्टीको नर्सिङ होममा मङ्गलबार राति ९:०० बजे (१३०० जिएमटी) आगलागी सुरु भएको थियो। सिन्ह्वाका अनुसार बुधबार बिहान ३:०० बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भयो।  

‘नर्सिङ होममा रहेका बाँकी वृद्धवृद्धालाई थप जाँच र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ,’ सरकारी समाचार एजेन्सीले लेखेको छ। आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको सिन्ह्वाले उल्लेख गरेको छ।  

काउन्टी सरकारका अनुसार नर्सिङ होम सञ्चालनको जिम्मेवारी लिएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

चीनमा कमजोर भवन संहिता र कार्यस्थल सुरक्षाप्रति बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्ता घातक आगलागीका घटना बारम्बार हुने गर्छन्। यसै वर्ष जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको तरकारी बजारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। त्यसको एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा एउटा निर्माण स्थलमा भएको आगलागीमा नौ जनाले ज्यान गुमाएका थिए। (एएफपी)

प्रकाशित: २७ चैत्र २०८१ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App