७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथाको नाप र नामकरण

अक्षर

फोटो सौजन्य : फेस अफ एभरेस्ट, माउन्टेन पिपुल, ड्रिमल्यान्ड नेपाल र नेपाल पोस्टेज स्ट्याम्प क्याटलक।

कहिलेकाहीँ अरूबाट हुने व्यवहारले हामी सार्वभौम छैनौँ कि जस्तो लाग्ने गर्छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाहिरियाले गरेको खटनपटन देख्दा हाम्रो अर्थनीति, शिक्षानीति, कृषिनीति, औद्योगिकनीति, स्वास्थ्यनीति आदि हाम्रो धरातलमा उभिनुुपर्नेमा उनीहरूको रुचि अनुसार भइरहेको देखिन्छ। उनीहरूको प्रयोगशालाको जस्तो देखिन्छ। अतिथिलाई देवतुल्य मान्ने नेपालीको स्वभाव नै हो। हामीले कहिलेकाहीँ अतिथिलाई यति सम्मान गर्दछौँ, अतिथिले अनुमान नै गरेको हुँदैन।  

कस्तो विडम्बना ! हामीले जसलाई रातो कार्पेट बिछ्याएर मानमनिता गर्छौं, तिनीहरूले नै रातो कार्पेट टकटक्याउन नभ्याउँदै हाम्रो मानमर्दन गर्न तम्सिन्छन्। चाहे सीमाकै कुरा किन नहोस्, वा गौतम बुद्धको जन्मस्थलका बारेमै किन नहोस्– नेपालीहरूको सार्वभौममाथि बेलाबखत अतिक्रमण हुनेगरी व्यवहार हुन्छ। 

ब्रेन हड्सन, जो भाषाविद् हुनुका साथै वैज्ञानिक पनि थिए, उनले नेपालको प्राचीन साहित्यमा सो चुचुरोको नाम सबैले जानी आएको ‘देवढुंगा’ वा ‘भैरवस्थान’ रहेकाले यी दुईमध्ये एक नाम राख्न सुझाएका थिए। तर काठमाडौंदेखि पूर्व ‘भैरव’ वा ‘देवढुंगा’ नामका दुई चुचुरा भएको, त्यस ठाउँमा अन्य धेरै चुचुरा भएकाले कुन चुचुरो हो भन्ने यकिन गर्न नसकिएको भनी एसियाटिक सोसाइटीले यस कुरालाई स्वीकार गर्न सकेन। 

भर्खरै सगरमाथाको नाम पुनर्लेखन गर्नुपर्ने अभिव्यक्ति आएको छ। अतिथिको यस्तोे कुराले नेपालीलाई मर्माहत पार्नु स्वाभाविकै हो। यस्तो किन हुन्छ ? यस्तो हेपाहा प्रवृत्तिको किन पुनरावृत्ति पटकपटक हुने गर्छ ? यस यक्ष प्रश्न उनुत्तरित छ। यसले धेरै कुरा उब्जाएको पनि छ। हामीबीच एकापसमा मेल नभएर हो ? वा, हामी आफैँ एक–अर्कालाई नै मानमनिता राख्न कञ्जुस्याइँ गर्दा हो ? हामी बीचमा बेमेल भयो भने धमिलो पानीमा माछा मार्नेहरूको कमी हुँदैन नि ! एउटा विदेशी मिडियाको प्रतिनिधिले सगरमाथाको नजिक पुगेर, बडो हौसिँदै ‘सर्भेयर जनरल अफ इन्डिया’को कम्प्युटर शाखामा काम गर्ने राधानाथ सिकदरको नामबाट ‘सगरमाथाको नामकरण हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका रहेछन्।

 

‘माउन्ट एभरेस्ट से ऐतिहासिक रिपोर्टिङ’ नाम दिइएको ३८.४९ मिनेट लामो त्यस भिडियो कार्यक्रममा नामकरणको विषयमा ‘माउन्ट एभरेस्टमाथि भारतको पनि दावा हुनुपर्छ’ भनिएको रहेछ। साथै, ‘बंगालका प्रसिद्ध गणितज्ञ राधानाथ सिकदरलाई ‘सर्भेयर अफ इन्डिया डिपार्टमेन्ट’ले सगरमाथाको उचाइ नाप्न पठाएको थियो। उनले सगरमाथाको उचाइ नापेका थिए’ भन्ने भनाइ रहेछ। सगरमाथाको नाम ‘माउन्ट सिकदर हुनुपर्छ’ भन्ने दावा गर्दै ‘भारतले पनि यस विषयमा मुहिम चलाउनुपर्छ र हामी सबैले माउन्ट एभरेस्टमाथि आफ्नो दावा विश्वभरि पेस गर्नुपर्छ’ भन्ने आफ्नो मनको कुरालाई भिडियोमा पोखेका रहेछन्। हुन त यस प्रकारकोे अभिव्यक्तिले एउटा स्वतन्त्र मुलुकको गौरव र पहिचानमा त्यति अर्थ राख्दैन। त्यो आफ्नै ठाउँमा छ। तर, अभिव्यक्ति दिनेलाई यस विषयको इतिहासमा कति जानकारी छ भन्नेले महत्व राख्छ।  

यस चुचुरोको नामकरण ‘माउन्ट एभरेस्ट’ हुनुभन्दा परापूर्वकालदेखि नेपालको सरहदभित्रको ‘सगरमाथा’ नेपालको भू–भाग हो। ‘सगर र माथा’ मिलेर बनेको सगरमाथाको शाब्दिक अर्थ ‘आकाश छुने शिखर’ भन्ने बोध हुन्छ। नेपाली र अन्य नेपाली भाषा परिवारसँग सम्बन्ध राख्ने इन्डो–युरोपियन बोलीचालीमा यस चुचुरोलाई ‘सगरमाथा’ भन्ने गरिन्छ, जुन नाम पछि इतिहास शिरोमणि बाबुराम आचार्यले राखेका हुन्। ‘सगर’ र ‘माथ’ शब्द धेरै पुराना संस्कृत शब्द हुन्। ‘सगर’ले ‘आकाश’ वा ‘अन्तरिक्ष’ भन्ने बोध हुन्छ भने ‘माथ’ वा ‘माथा’ शब्दले ‘शिर’ भन्ने जनाउँछ। यसले सगरमाथा भन्नाले ‘आकाशलाई छुने शिर’ वा ‘आकाशतिर उन्मुख शिर’ भन्ने बुझाउँछ। तिब्बती–बर्मेली भाषा समूहका शेर्पा र तिब्बतीहरूले ‘सगरमाथा’लाई ‘चोमोलुङ्मा’ भन्ने गर्र्छन्। ‘चोमोलुङ्मा’को शाब्दिक अर्थ ‘आकाशकी देवी’ भन्ने हुन्छ। शेर्पाहरूले ‘चोमोलुङ्मा’लाई पहाडको चुचुरोको रूपमा मात्र होइन, ‘देवीको चिह्न’को रूपमा आस्था राख्ने गर्छन्।

‘सगरमाथा’देखि नजिक रहेको थाङबोचेको शेर्पा गुम्बामा धेरै पुरानो बाघमाथि आरुद्ध भएकी ‘देवी सगरमाथा’को सानो चित्र झुन्डिएकोे छ। शेर्पाहरूले यस कुरामा गर्व र विश्वास गर्छन् कि देवीको वाहनका रूपमा रहेको बाघले अन्धकारलाई हटाएर विश्वमा उज्यालो फर्काइदिन्छ र जीवनलाई पुनर्जीवित गर्छ। साथै सगरमाथा/चोमोलुङ्मालाई धार्मिक आस्थाको केन्द्रको रूपमा लिने गर्छन्। हाम्रो सगरमाथा/चोमोलुङमालाई किन ‘माउन्ट एभरेस्ट’ भनी नामकरण गरियोे ? सगरमाथा/चोमोलुङमा नामकरण गर्नुपर्नेमा किन अरू नाम सापटी लिनुपर्‍यो ? यसको कथा–व्यथा अर्कै छ।  

१९औँ शताब्दीको मध्यसम्म हिमालहरूको उचाई नाप्ने भरपर्दो प्रविधिको विकास भएको थिएन। सन् १८४९ देखि १८५५ सम्म ‘सर्भे अफ इन्डिया’ले नेपालको हिमालहरूका चुचुरोहरूको सर्भे गर्ने कामको थालनी गरेको थियो। सर्भे गरिएका चुचुरोहरूमध्ये एउटा चुचुरो विश्वको सबैभन्दा अग्लो चुचुरो हुनेछ भन्ने अनुमान कसैलाई थिएन। तिब्बती र शेर्पाहरूले ‘चोमोलुङ्मा’ र नेपाली भाषामा ‘सगरमाथा’ भनिने यस चुचुरोलाई सन् १८५५ को अन्तिमतिर रोमन न्युमरलबाट ‘पिक फिप्टिन’ भनेर नामकरण गरिएको थियो। यस चुचुरोकोे उचाइ समुद्र सतहबाट २९००२ फिट बताइएको थियोे। कहिलेकाहीँ यस चुचुरोको उचाइ २९१४१ फिट पनि बताइने गरिन्थ्योे। तर यस कुराको स्वीकार्य हुन सकेन। ‘सर्भे अफ इन्डिया’को सर्भेयर जनरलले यसको उचाइ २९००२ फिट नै छ, यस चुचुरो विश्वको सबैभन्दा अग्लो चुचुरा हो भनी आधिकारिक घोषणा गरेका थिए।  

विश्वको सबैभन्दा अग्लो चुचुरो पत्ता लागेपछि यस चुचुरोको नाम के राख्ने भन्ने विषयमा करिब दश वर्षसम्म छलफल चलेको थियो। त्यसबेला सर्भेयर जनरल अफ इन्डियामा कर्नेल एनड्र्यु ओङ थिए। उनको कायम–मुकायम पदमा कर्नेल हेनरी टुइलर थिए भने चिफ कम्प्युटरमा राधानाथ सिकदर थिए। उनीहरूले सर जर्ज एभरेस्टको नामबाट यस चुचुरोको नामकरण गर्ने निधो गरेका थिए। सन् १८३० मा सर्भेयर जनरल अफ इन्डियाको सर्भेयर जनरल भएका सर जर्ज एभरेस्टको भारतको भूरेखात्मक लम्बाइ नाप गरिने सर्भेको काममा ठूलो योगदान थियो। साथै, उनी ट्रिगोनोमेट्रिकल सर्भेमा प्रभावशाली व्यक्तित्व थिए। सर जर्ज एभरेस्टको भूमापनसम्बन्धी कार्यलाई श्रेष्ठतम् मान्ने गरिन्थ्यो। उनले गरेकोे कार्यमा ठूलो विश्वास राख्दथे। उनको योगदानको कदरस्वरूप मार्च १८५६ मा ‘सर जर्ज एभरेस्ट’को नामबाट यस चुचुरोको नाम ‘मोन्ट एभरेस्ट’ हुनुपर्छ भनी सुझाइएपछि रोयल जिओग्राफिकल सोसाइटी अफ ब्रिटेनले स्वीकृति दिएको थियो। ‘मोन्ट एभरेस्ट’ नामकरण गरिएको यस चुचुरोको नाम एक वर्षपछि ‘माउन्ट एभरेस्ट’ भनी पुनः नामकरण गरिएको थियो।  

सर जर्ज एभरेस्टको जन्म इंग्ल्यान्डको ग्रिनविजमा सन् १७९० जुलाई ४ तारिखका दिन भएको थियो। ग्रिनविज र चेलसियाको अस्पतालका कानुनी सल्लाहकारको यिनी माहिला छोरा थिए। एभरेस्टले मार्लो र बुलविचको सैनिक विद्यालयमा शिक्षा हासिल गरेका थिए। मेधावी शैक्षिक व्यक्तित्वका धनी एभरेस्ट सोह्र वर्षको उमेर हुँदा सन् १८०६ मा भारत आई इस्ट इन्डिया कम्पनीमा युवा सैनिकको रूपमा जागिर खाएका थिए। पछि उनले बंगाल एटलरीमा भर्ना भए। केही समयपछि नापी गर्नेे कामको सिलसिलामा जावामा पुगेका थिए। सन् १८१४ देखि सन् १८१६ सम्म जावा द्वीपमा सर्वेक्षण कार्यमा भाग लिएका थिए। सन् १८१८ मा भारत फर्केर सर्भे अफ इन्डिया सर्वेक्षण विभागमा २७ वर्षसम्म काम गरेका थिए। यस संस्थामा काम गरेको केही समयपछि छोटो समयका लागि इंग्ल्यान्डमा गएर थप अध्ययन गरी पुनः भारत फर्किएर सन् १८३० मा ‘सर्भेयर जनरल अफ इन्डिया’ का रूपमा जागिरे भए। 

सन् १८३२ देखि भूरेखात्मक लम्बाइ नाप्ने काममा लागेका थिए। सन् १८३८ मा लेफ्टिनेन्ट कर्णेल भएका जर्ज एभरेस्ट इंग्ल्यान्ड फर्केलगत्तै थमस विङका छोरी इमासँग विवाह बन्धनमा बाँधिएका थिए। इमाको कोखबाट जन्मिएका ६ वटा बच्चाहरू दुर्भाग्यवश बाँच्न सकेनन्। एभरेस्ट सेवा निवृत्त भएपछि उनलाई ‘नाइट हुड’ उपाधिका लागि सिफारिस गरिएको थियो, उनले स्वीकार गरेनन्। उनलाई फेरि सन् १८६१ मा नाइट हुड उपाधिका लागि सिफारिस गरियोे। साथीहरूको सरसल्लाहले उनले सो उपाधि स्वीकार गरेका थिए। उनको मृत्यु सन् १८६६ मा भएको थियो।  

सगरमाथा/चोमोलुङ्माको नाम के राख्ने भन्ने सवालमा धेरै छलफल चलेको थियो। यस दौरानमा स्थानीय नामको पनि खोजी भएको थियो। केही नाम सुझाइएका पनि थिए, तर ती नाम स्वीकृत भएनन्। त्यसताका नेपालले नाम राख्नुपर्छ भन्ने महत्व बुझेन कि, दरो रूपमा आफ्नो कुरा राख्न सकेन कि, नेपालको कुरा सुनेनन् कि, सगरमाथाको स्थानीय नाम मन्जुर हुन सकेन। नेपालमा रहेको ब्रिटिस रेसिडेन्टका तत्कालीन राजनीतिक अधिकारी ब्रेन हड्सन, जो भाषाविद् हुनुका साथै वैज्ञानिक पनि थिए, उनले नेपालको प्राचीन साहित्यमा सो चुचुरोको नाम सबैले जानी आएको ‘देवढुंगा’ वा ‘भैरवस्थान’ रहेको भन्ने कुरालाई अगाडि सारेका थिए। बे्रन हड्सनले यस कुराको हवाला दिँदै यस चुचुरोको नाम ‘देवढुंगा’ वा ‘भैरवस्थान’ राख्नुपर्छ भनी सुझाएका पनि थिए। तर काठमाडौंदेखि पूर्व ‘भैरव’ वा ‘देवढुंगा’ नामका दुई चुचुरा भएको, त्यस ठाउँमा अन्य धेरै चुचुरा भएकाले कुन चुचुरो हो भन्ने यकिन गर्न नसकिएको भनी एसियाटिक सोसाइटीले यस कुरालाई स्वीकार गर्न सकेन।

 त्यसबखत नामकरणको विषयमा अर्को विवादस्पद कुरा पनि अगाडि आएको थियो। जर्मन तीनजना भाइ एडफोल्ड, हरम्यान र रोबर्ट भोनहरले तिब्बत, सिक्किम र मध्यएसियामा वैज्ञानिक सर्वेक्षण गरेका थिए। पछि कासगरमा एडफोल्डको हत्या भएकोे थियो। सर्वेक्षणको सिलसिलामा उनीहरूले सन् १८५५ देखि सन् १८५७ सम्म सिक्किमबाट सर्वेक्षणको कामको थालनी गरेका थिए। उनीहरूले नेपालमा सगरमाथालाई ‘गौरी शंकर’ र तिब्बतमा ‘चिङ्गोपानारी’ भनिन्छ भनी घोषणा गरेका थिए। त्यस कुराले ठूलो तरंग ल्याएको थियो। उनीहरूको भनाइलाई लन्डनमा अवस्थित ‘द रोयल जिओग्राफिकल सोसाइटी’ले समर्थन गर्नुको साथै सर्भे अफ इन्डियाको कुरालाई नामन्जुर गरेको थियो। सन् १९०० सम्म यस चुचुरोलाई ‘गौरी शंकर’को नामबाट विश्वको सर्वोच्च शिखरको नामले मानचित्रमा चित्रांकन गरिएको थियो। ‘गौरी शंकर’को नामबाट करिब आधा शताब्दी यस चुचुरोको नाम रही नै रह्यो। सन् १९०३ मा क्याप्टेन उड नेपाल आएर दुई चुचुराहरू ‘माउन्ट एभरेस्ट’ र ‘गौरी शंकर’को अध्ययन गरी दुई चुचुरा अलग–अलग भएको र एक अर्कोको दूरी ३६ माइल टाढा रहेको पुष्टि गरेपछि यस चुचुरोको नाम ‘माउन्ट एभरेस्ट’ नामबाटै स्थापित हुँदै यही नामले चिनिन थाल्यो।  

अचम्मलाग्दो कुरा भारत स्वतन्त्र भएलगत्तै फेरि ‘माउन्ट एभरेस्ट’को नामको विषयलाई लिएर ठूलो विवाद सिर्जना भयो। सर जर्ज एभरेस्टभन्दा बढी उच्च चुचुराको खोज कार्यमा योगदान राधानाथ सिकदरको रहेको हवाला दिँदै राधानाथ सिकदरको नामबाट माउन्ट एभरेस्टको नाम पुनर्लेखन गरी ‘माउन्ट सिकदर’ हुनुपर्छ भनी बंगालले भारतका प्रधानमन्त्रीलाई दबाब दिएको थियो। यस कुराको केन्द्र सरकारले कस्तो आकलन गर्‍यो, यस विषय त्यसै सामसुम भएको थियो। सायद कम्प्युटर चिफ राधानाथ सिकदर लगायत सर्भे अफ इन्डियामा थुप्रै कर्मचारी थिए। माथिल्लो तहका प्रभावशाली कर्मचारीमा सर जर्ज एभरेस्ट (जो सन् १८३८ मा लेफ्टिनेन्ट कर्णेलमा पदोन्नति गरिएका थिए), एएस ओङ, आइटी वाल्कर, हेनरी टुइलर थिए। कम्प्युटर चिफ राधानाथ सिकदरको जिम्मा संकलन भएका डाटाहरूलाई कम्प्युटराइज गर्ने देखिन्छ। फिल्डवर्कको काम जिम्मा उनलाई नभएको देखिन्छ। अब यस कुरातिर अलमलमा पर्ने होइन, विश्वमा ‘लिंग्वा फ्रयांका’को रूपमा चलन चल्तीमा रहेको ‘माउन्ट एभरेस्ट’को ठाउँमा राज्यस्तरबाट सगरमाथा/चोमोलुङ्माको नामबाटै आधिकारिकता प्रदान गर्नु साथै सरकारी कागजपत्रमा पनि सगरमाथा/चोमोलुङमालाई अंग्रेजी वर्णमालामा पनि सगरमाथा/चोमोलुङ्मा लेख्नुपर्ने बेला आएको छ।  

राज्य परिवर्तन, शासकहरूको फेरबदल, राज्यहरूको उत्थान र पतन हुँदा, राज्य कमजोर हुँदा परापूर्वकालदेखि रहिआएका ठाउँहरूको नाम पनि बदलिने गरेको थुप्रै उदाहरण छन्। भारतका विभिन्न प्रमुख तथा पुराना स्थलहरूको नाम इतिहासको गर्भमा विलीन हुन पुगेको पाइन्छ। परापूर्वकालदेखि त्रिस्थली (गया, काशी, प्रयाग) नामले चिनिने प्रयागलाई सन् १५८३ मा सम्राट अकबरले अल्लाहको नामसँग जोडेर ‘अल्लाहवाद’ राखेका थिए। ‘अल्लाह’ भन्नाले ‘ईश्वर’ र ‘आवाद’ शब्दले ‘रस्ती–बस्ती’लाई जनाउँछ। यस अर्थलाई अगाडि सारेर यस ठाउँको नाम अल्लाहको नाममा ‘अलाहवाद’ (इलाहावाद) नामकरण गरेका थिए। यसरी नै १८औँ शताब्दीको उत्तराद्र्धमा भारतको गया जिल्लाका पदाधिकारी मिस्टर लौले गयामा अंग्रेज अधिकारीहरू बसोबास भएकाले यसको नाम ‘साहेबगन्ज’ राखिदिएका थिए। अंग्रेज पदाधिकारीलाई ‘साहेब’ र ‘गन्ज’ शब्दले हिन्दीमा ‘बस्ती’ भन्ने जनाउँछ। उक्त कुरालाई अगाडि सारेर गयालाई ‘साहेबगन्ज’ भनेर विधिवत रूपमा नामकरण गरिएको थियो। यसरी नै नेरसियाको उत्तर पश्चिमको सहर तथा समुद्री बन्दरगाह जसलाई ‘रेडभिक्ट्री’भन्दा पहिले ‘सेन्टपिटर वर्ग’ भन्ने गरिन्थ्यो। त्यस ठाउँलाई ‘रेडभिक्ट्री’को दौरान पेट्रोगार्ड (सन् १९१४ देखि १९२४ सम्म) नामकरण गरिएको थियो भने पछि त्यस ठाउँलाई लेनिनगार्ड (सन् १९२४ देखि १९९१ सम्म) भनेर नामकरण गरिएको थियो।  

नेपाल र नेपालको उच्च शिखर सगरमाथा/चोमोलुङ्मा’को सन्दर्भ बेग्लै छ। विश्वको सबैभन्दा उच्च शिखर नेपालको गौरव र पहिचान हो। सगरमाथा/चोमोलुङ्मा’ले नेपाल र नेपालीलाई विश्वसामु चिनाएको छ। सगरमाथालाई एभरेस्ट भनेर नामकरण गर्दाको बेला अर्कै थियो। समयको अन्तरालसँगै गण्डकी, कोशी, कर्णालीमा थुप्रै पानी बगिसकेको छ। अब नेपालको खोलानाला, पहाडपर्वत, शैलशिखर साथै नेपालसँग सरोकार राख्ने विषयमा नामकरण गर्ने र त्यसको पहिचान दिनुपर्‍यो भने नेपालले नै निक्र्यौल गर्न सक्छ। अब नेपालले यस विषयमा कसैको बुद्धिको सापटी लिनुपर्ने देखिँदैन। नेपाल राष्ट्र बैंकले जारी गरेको एक हजार, पाँच सय, सय र पचासका नोटहरू एवं सिक्काहरूमा पनि ‘चोमोलुङ्मा’/‘सगरमाथा’ले स्थान पाइसकेको छ। साथै, नेपालले सन् १९६० जुन ११ तारिखका दिनदेखि राजा महेन्द्रलाई टिकटको इन्साइडमा राखी १० पैसाको सगरमाथा/चोमोलुङ्माको चित्रसहितको हुलाक टिकट जारी भएको थियो। यो शृंखला आजसम्म पनि नियमित छ। कसैको लहडमा, कसैलाई लाग्दैमा, कसैलाई रमाइलो हुँदैमा, यसको पछि लाग्नुभन्दा सम्बन्धित सरोकारवालाबाट दरो रूपमा कुरा उठाउनुपर्ने देखिन्छ।  

(श्रेष्ठ ऐतिहासिक विषयका अध्येता हुन्।) 

प्रकाशित: ३ माघ २०७७ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App