८ वैशाख २०८१ शनिबार
समाज

शीतलहर छल्न परालको सहारा

परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन्।

सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनका लागि जाडोको सहारा घुर हो। तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन्।

ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ। जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ। उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ।’ शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला ओढ्ने–ओछ्याउने न्यानो कपडाको जोहो आफूहरूका लागि आकाशको फल जस्तै भएको उनले बताए।

न्यानो ओढ्ने–ओछ्याउने नहुँदा गत वर्ष पत्नी गुमाउनुपरेको पीडाले अहिले पनि उनलाई सताएको छ। मौसम र सरकार दुवै गरिबमारा रहेको उनको बुझाइ छ। ‘ठन्ढियो गरिबे सबके उपर हमला करै छै (चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दो रहेछ),’ उनले भने, ‘गरिब मरलो पर सरकार कोनो मोजर नै करै छै (गरिब मरे पनि सरकारले चासो देखाउँदैन)।’

चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दा बताउँछन्। राजदेव पासवानले भने, ‘चुनावके बाद घरेमे सरकार यतै कहैछेलै (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थे, अखनी तक सरकार याल जका नै बुझहाय (अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन)।’

चिसो बढेसँगै ७८ परिवारको बसोबास रहेको सुकुमबासी पासवान बस्तीमा त्रास फैलिएको छ। यसपटकको शीतलहरले मरिने हो कि भन्ने डर उनीहरूमा जागेको छ। बस्तीका प्रायः सबैको जीवनशैली उस्तै छ। सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो। जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी हो।

न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका यो बस्तीका महिला र पुरुष दुवै पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा र मजदुरी गर्छन्। असह्य जाडो छल्न उनीहरू परालको आगो बालेर शरीर तताउँछन्।  

तर परालको आगो धेरैबेर टिक्दैन, निभिहाल्छ। अनि फेरि उस्तै थरथरी काम्नु पर्छ। ‘दाउरा कहाँबाट ल्याउनु हजुर,’ दुःखी पासवानले भने, ‘खाना पकाउन, सुत्नदेखि ताप्न परालकै सहारा छ।’ गिरहत (जमिनदार) को खेतमा धान काटेबापत उनीहरू पराल पाउँछन्।

काल बन्दै घुर 

चिसो छल्न बालेको घुर ताप्ने क्रममा आगो लागेर कर्जन्हा नगरपालिका–३ का बिल्टु महतोको मृत्यु भएको प्रमुुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए। चिसो छल्न बालेको घुरबाट लागेको आगोले जलेर पाँचजना घाइते भएका छन्। भगवानपुर गाउँपािलक–१ का उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव, अनुष्का यादव र पिंकी यादव जलेर घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको जनाइएको छ। उनीहरू सबै एउटै परिवारको बताइएको छ।

गरीबलाई चिसोबाट जोगाउने पूर्वतयारी छैन

चिसोबाट थप मानवीय क्षति हुन नदिन आवश्यक कदम चाल्ने निर्णय जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भए पनि त्यो कार्यान्वयन भएको पाइँदैन। जसका कारण चिसोले कठ्यांग्रिएर मृत्युवरण गर्नेको संख्या थपिँदैछ। प्रमुख जिल्ला अधिकारी कणेलकाअनुसार विपद्बाट जोगिन प्रतिकार्य योजना बनाउन सबै स्थानीय तहलाई निर्देशन गरिए पनि अधिकांशले योजना बनाएर कार्यान्वयन गरेका छैनन्। वास्तविक विपन्न तथा सहायता आवश्यक पर्ने समूहको तथ्यांकसमेत स्थानीय तहहरूसँग छैन्। अधिकांश स्थानीय तह कम्बल खरिदमै समय तथा बजेट खर्चिरहेका छन्।

प्रदेश २ को सिरहा मात्र नभई आठवटै जिल्लामा शीतलहरले जनजीवन प्रभावित बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम हुँदै छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरिजसो कुहिरो लाग्नाले बढेको चिसोसँगै चल्न थालेको पश्चिमी हावाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित हुन थालेको छ। बिहान कुहिरो र शीतलहरले नजिक पनि देख्न समस्या भएपछि सवारीचालक हेडलाइट बाल्न बाध्य छन्। शनिबार बिहान लहानको तापक्रम १० डिग्री सेन्टिगे्रड मापन गरिएको छ। राति पनि शीतलहर चल्न थालेको छ। सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेको देखिन्छ। तराई मधेसमा पुसको पहिलो साताबाट सुरु हुने शीतलहर माघ अन्तिम सातासम्म रहन्छ। 

मौसममा आएको परिवर्तन र चिसो हावाका कारण मधेसी समाजको जनजीवन प्रत्येक वर्ष कष्टकर बन्दैे छ। खासगरी विपन्न परिवारलाई न्यानो लुगा अभावमा जाडोबाट बच्न मुस्किल भएको हुन्छ। शीतलहरबाट मुसहर, चमार, डोमलगायत बिपन्न बढी पिरोलिएका छन्। चिसोले जनजीवन प्रभावित हुन थालेसँगै न्यानो कपडाको बिक्रीबाहेक अन्यको व्यापार घटेको छ। बिहानै खुल्ने पसल र बजार पनि ढिलोगरी खुल्न थालेका छन्।

प्रकाशित: ५ पुस २०७७ ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App