बुधबार बिहान आएको विनाशकारी रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये चार जना आफन्तको सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार साँझ ५ बजेसम्म १२ जना सम्पर्कविहीन भएको खबर आएकोमा शुक्रबार दिउँसोसम्म उक्त संख्या बढेर १९ पुगेको थियो। तीमध्ये चार जना सम्पर्कमा आएका हुन्।
उदयपुरका विभिन्न स्थानीय तहमा स्थायी घर भई रसुवा क्षेत्रमा पेसा, व्यवसाय तथा रोजगारी गर्दै आएका उनीहरू बाढी आएदेखि नै सम्पर्कविहीन थिए। परिवारको सम्पर्कमा आएकाहरूमा त्रियुगा नगरपालिका–९ गहिरुनका भोलाराज कार्की, उदयपुरगढी–१ बाहुनीटारका सुमन तामाङ र जीवन तामाङ तथा गाईघाट घर बताउने राज विश्वकर्मा रहेका छन्।
विश्वकर्मा भेटिएको खबर भने सामाजिक सञ्जालमार्फत आएको हो। त्रियुगा नगरपालिका–१० बोक्सेका विश्वकर्मा भाग्ने क्रममा बाढीमा फसेको तर पौडिएर नदी पार गर्दै बाँच्न सफल भएको भिडियो सार्वजनिक भएको छ। उनले आफूले छोरी र श्रीमतीलाई भने बाढीबाट बचाउन नसकेको बताएका छन्।
अझै सम्पर्कविहीन रहेकाहरूमा लिमचुङबुङ गाउँपालिका–४ बलम्ताका दुई युवा सुमन समीर राई र प्रविण राई रहेका छन्। नेपाली सेनाको श्रीनाथ गणमा आबद्ध उनीहरू रसुवा क्षेत्रमा ड्युटीमा रहेका बेला बाढीको चपेटामा परेको पारिवारिक स्रोतले जनाएको छ। सुमन टिमुरेस्थित बुथमा कार्यरत थिए भने प्रविण अन्यत्रै कार्यरत रहेको बताइएको छ।
त्यसैगरी, त्रियुगा नगरपालिका–१ रुपनीका २७ वर्षीय बालकुमार राई, त्रियुगा नगरपालिका–५ बगाहाका ४२ वर्षीय देवेन्द्र घिमिरे र त्रियुगा नगरपालिका–७ चक्कलघाटका ४४ वर्षीय पूर्ण बस्नेत पनि सम्पर्कविहीन छन्।
त्रियुगा नगरपालिका–१४ साउने पुङमाङका ३१ वर्षीय चन्द्रबहादुर माझी, २१ वर्षीय भेषराज माझी तथा १९ वर्षीय मिलन माझी पनि सम्पर्कविहीन छन्।
उदयपुरगढी गाउँपालिका–७ तिरीबासका ३१ वर्षीय अरुण मगर, कटारी नगरपालिका–५ भोर्लेका ४४ वर्षीय प्रेम रोका, ४२ वर्षीय मोहन सार्की, ४८ वर्षीय ओमकुमार सार्की, ५० वर्षीय लोकबहादुर विश्वकर्मा र २२ वर्षीय अनिल विश्वकर्मा पनि हराइरहेका छन्।
माझीत्रय, रोका, सार्कीद्वय र लोकबहादुर ज्याला मजदुरी गर्न रसुवा गएको तथा अनिलले रसुवा जलविद्युत् परियोजनाको सुरुङमा काम गर्ने गरेको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईंले बताए।
यसअघि सम्पर्कविहीन भनिएका त्रियुगा नगरपालिका–११ गाईघाट घर भई सोही जलविद्युत् परियोजनामा इन्जिनियर रहेकी ऋचा निरौला तथा त्रियुगा–१० बोक्सेका भनिएका आमा–छोरा २८ वर्षीया मनिषा विश्वकर्मा र उनका छोरा रियाज विश्वकर्माको नाम भने पछिल्लो सम्पर्कविहीन सूचीमा राखिएको छैन।
एसपी चापागाईंका अनुसार निरौला परिवार मोरङ बसाइँ सरिसकेको तथा विश्वकर्मा परिवार सप्तरी बसाइँ सरेका कारण लगत कट्टा गरी सम्बन्धित जिल्लाबाटै खोजी तथा उद्धारको रेकर्ड व्यवस्थापन गरिएको हो।
प्रकाशित: १२ भाद्र २०८३ २०:५५ शुक्रबार


-600x400.jpg)


